टिपरका कारण मिर्चैया–कटारी सडक खण्डमा यस्तो त्रास

प्रकाशित समय 1:23:00 AM
उदयपुर, ९ वैशाख । ‘आज पनि धन्न बाँचेर घर आइपुगियोयो भनाइ हो कटारी नगरपालिका २ का स्थानीय व्यवसायी हरिगोपाल सन्तोष कार्कीको । व्यवसायको कामले दैनिक मोटरसाइकलमा यात्रा गर्ने श्रेष्ठलाई सिद्धिचरण लोकमार्गको मिर्चैया–कटारी खण्ड पार गर्दा अर्काे जीवन पाएको महसुस हुन्छ ।
मारुती सिमेन्टको चुनढुंगा बोक्ने टिपरबाट जोगिएर गन्तव्यमा पुग्दा उनी आफूलाई भाग्यमानी ठान्दछन् । भत्किएको बाटो र टिपरको चापका कारण सिद्धिचरण लोकमार्गमा यात्रा गर्ने जो कोही यात्रु सडकको अवस्थालाई धिकार्न पछि पर्दैनन् । सिद्धिचरण लोकमार्ग खण्डमा दैनिक चल्ने ५०० भन्दा बढी टिपरका कारण सडक जीर्ण हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ ।चुरे उकालोमा दैनिक आधा दर्जन टिपर दुर्घटनामा पर्छन् । क्षमता भन्दा बढी भार बोकेर टिपर बीच बाटोमा केही बिग्रेका त केही दुर्घटना भएको अवस्थामा पाइन्छन् । बाटो बिग्रनु र दुर्घटनाको एउटै कारण बन्ने गरेको छ टिपरको ओभरलोड ।
कटारी–मिर्चैया सडकमा पर्ने २८ किलोमिटर र मिर्चैया बडमी ४० किलोमिटर सडकमा ओभरलोड बोक्ने टिपरले विगारेको सडककै कारण दुर्घटना हुने गरेको अस्थायी ट्राफिक प्रहरी पोष्ट कटारीका प्रमुख डम्बर दियालीले बताए । ‘मिर्चैैया–कटारी सडकमा क्षमताभन्दा बढी मालवाहक सवारी साधनले सडक नराम्ररी बिगारेको छ, प्रहरी प्रमुख दियालीले भने, ‘अधिकांश दुर्घटनाको कारण सडक देखिन्छ । सडक सञ्चालनमा आएदेखि हालसम्म ५०० भन्दा बढी दुर्घटनामा २०० भन्दा बढीको ज्यान गइसकेका छ । उनले कटारीमा ट्राफिक प्रहरी व्यवस्थित नहुँदा कति दुर्घटना भए । दुर्घटनामा कतिको मृत्यु भयो भन्ने आधिकारिक तथ्यांक नभएको गुनासो गरे । ‘म कटारी ट्राफिक प्रहरी प्रमुख भएर आएको सात महिना भयो उनले भने, ‘अभिलेखमा ३६ वटा दुर्घटना भएका छन,जसमा १० जनाको मृत्यु भएको छ भने ५० जना गम्भीर घाइते भएका छन् ।
कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ सिमेन्ट उद्योगको कच्चा पद्धार्थ बोक्ने सवारीका कारण बाटो बिग्रेको आरोप लगाउँछन् । टिपरका कारण कटारी प्रवेश गर्ने मार्ग जीर्ण बनेको छ । प्रमुख श्रेष्ठले भने, ‘दस टन क्षमताको बाटोमा २० टनसम्म लोड बोक्ने गरिएको छ । ओभरलोडको कारण सडक यातायातका साधन चल्न नसक्ने अवस्थामा पुगेकाले डिभिजन सडक कार्यालय लहानलाई मर्मत गर्न बारम्बार अनुरोध गरिएको श्रेष्ठले बताए । ‘यात्रुबाहक सार्वजनिक सवारी र उद्योगको कच्चा पदार्थ ढुवानी गर्ने गाडी गुड्ने बाटो एउटै भएर यात्रुहरूले कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ प्रमुख श्रेष्ठले भने ।
स्थानीय सरकारले केन्द्रीय सरकारसँग समन्वय गरेर खानीका लागि बैकल्पिक सडक निर्माण गर्ने तयारी भइरहेको प्रमुखको भनाइ छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–मिर्चैया सडक खण्डमा चुनढुंगा बोक्ने टिपरलाई ओभरलोड बोक्न रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले सडकको अवस्थालाई हेरेर ओभरलोड बोक्ने टिपरहरूलाई कारबाही सुरू गरिएको जनाएको छ । ओभरलोड बोक्ने टिपरका कारण सवारी दुर्घटनाको जोखिम बढेकाले प्रहरीले क्षमता भन्दा बढी बोक्ने सवारीलाई कारबाही सुरु गरिएको हो ।
उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार क्षमताभन्दा बढी बोक्ने टिपरलाई लोड व्यवस्थापन स्वरुप ढाला भन्दा बढीको सामान झार्न लगाइएको बताए । शिव ओम मल्टिप्रपोज प्रालिले सिरहाको चोहर्वामा रहेको मारुती सिमेन्टका लागि चुनढुंगा ढुवानी गर्दै आएको छ भने कसमस सिमेन्टले धनुषाको महेन्द्रनगरसम्म चुनढुंगा ढुवानी गर्दै आएका छन् । मारुती सिमेन्टले सिन्धुलीको ककुर ठाकुर र कसमस सिमेन्टले कटारी नगरपालिकाको सिरिसेबाट ढु·ा उत्खनन गर्दे आएका छन् । कटारी–मिर्चैया खण्डको २६ किलोमिटर सडकमा हाल ५०० को हाराहारी टिपर र अन्य सवारी साधन एक सय ५० गरी ६५० सवारी साधन चल्ने गरेको ट्राफिक प्रहरी पोस्ट कटारीले जनाएको छ ।
कटारी नगरपालिकाका १,२ र ३ का स्थानीयहरू धुलोधुवा र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । टिपरका कारण सडक जीर्ण भएको र अन्य सवारी साधन सञ्चालन गर्न कठिनाई भएको भन्दै छलफल भए पनि समस्या समाधान नभएको स्थानीय वासीहरूले गुनासो गरेका छन् ।  सिद्धिचरण राजमार्गमा टिपर अत्याधिक चल्ने भएकाले धुलो–धुवाका कारण स्थानीय वासीको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै सडकको दीर्घकालीन समाधान हुनु पर्ने कटारीका स्थानीयवासी को माग छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »