नियम मिचेर बस्तीबीचमा इँटाभठ्ठा

प्रकाशित समय 6:10:00 PM
मिथिलेश यादव
सिरहा, ४ वैशाख । सिरहा नगरपालिकाको पूर्वदक्षिणमा पर्छ सुखचैना । यो टोलभन्दा पश्चिममा नवटोली (मुस्लिम बस्ती) र माडर छन् । उत्तरमा नवटोली (धानुक टोल) र मुसहरी । दक्षिणमा छ भारतीय सीमा । सुखचैनाको मानवबस्तीमै ऋृषि इटाभट्टा सञ्चालन भइरहेको छ । 
सिरहा–१५ सुखचैनामा सञ्चालित यो इँटाभट्टाको चिम्नीबाट बिहानदेखि बेलुकीसम्म निरन्तर धुवाँको मुस्लो निस्किरहेको हुन्छ । जसले गर्दा यो ठूलो बस्ती नै निस्सासिने गर्छ । ‘सुकाउन राखिएका सेता लुगा पनि उठाउने बेलासम्म कालो हुन्छ, घरको छानोलगायत ठाउँ कालो देखिन्छन, भट्टासँगै जोडिएको बस्ती नवटोली मुस्लिम टोलाकी सहारुन खातुनले भनिन् । ‘भट्टाको धुवाँ गाउँभरि फैलिन्छ, बिहान उठ्नेबित्तिकै कोइलाको गन्ध आउनेगरी सास फेर्नुपर्छ, कालो नहुने कुनै पनि ठाउँ हुँदैन, उनले सुनाइन् । पूर्वी हावा चल्दा स्थानीयलाई घरमा बसिनसक्नु हुन्छ । हावासँगै फैलिने कोइलाका कण खानामा पर्दा उनीहरू वाक्कदिक्क हुन्छन् । सहारुनले भनिन, ‘कालो कण केलाएर खाने गरेका छौं । घरनजिकै भट्टा सञ्चालनमा आएपछि उनीहरू बिचल्लीमा परेका छन् । ‘घर छाडेर अन्यत्र जाने कुरा भएन । तर, यहाँ बस्न गाह्रो भएको छ, उनले भनिन् ।
इँटाभट्टाको प्रदूषणले स्वास्थ्यमा प्रत्यक्ष असर पारेको त छ नै, साथै खेतीयोग्य जमिनको उर्वरा शक्ति घट्दै गएको स्थानीयको भनाइ छ । भट्टाभन्दा सय मिटर उत्तर पश्चिममा मस्जिद छ । भट्टाको धुवाँसँगै उडेर आउने कोइलाका कणले मस्जिदको छतआँगन भरिन्छ । स्थानीय मोहम्मद मोतिउल रहमानले भने, ‘हावा चलेका बेला धुवाँले बस्ती भरिएपछि सास लिन मुस्किल हुन्छ ।
इँटाभट्टाको प्रदूषणले स्वास्थ्यमा प्रत्यक्ष असर पारेको त छ नै, साथै खेतीयोग्य जमिनको उर्वरा शक्ति घट्दै गएको स्थानीयको भनाइ छ । यिनै संकटको आकलन गर्दै स्थानीयले सुरुमै बस्तीको बीचमा इँटाभट्टा नखोल्न आवाज उठाएका थिए । तर, उनीहरूको हारगुहार कसैले नसुनेको नवटोलीका मोहम्मद सरिफले बताए । उनले भने, ‘पैसाको अगाडि हाम्रो निवेदनको कुनै महत्त्व दिइएन ।
बस्तीको बीचमा इँटाभठ्ठा राख्न नदिन गाउँलेले  नगरपालिका कार्यालय, घरेलु कार्यालय, प्रहरी, नेता, पत्रकार सबैलाई गुहारेका थिए । तर, यो अभियानमा उनीहरूलाई कसैले पनि सघाएन । ‘जब धन बोल्छ तब सबैथोक फिका पर्दोरहेछ, सरिफले नागरिकसँग भने, ‘इँटाभठ्ठा सञ्चालनमा आउन नदिन बस्तीका सबैजना लिखित निवेदन गर्ता गराउँदासमेत सुनुवाइ भएन । इँटाभट्टा बस्तीमा सञ्चालन हुँदा आसपासका स्थानीय विस्थापित हुने अवस्था आएको उनको भनाइ छ ।
बस्तीको बीचमा सञ्चालन हुन लागेका बेला ऋृषि इँटाभठ्ठाको दर्ता रोक्नुपर्ने भन्दै नवटोली मुस्लिम बस्तीका नागरिक सिरहा नगरपालिका, घरेलु तथा सना उद्योग कार्यालय लहान र जिल्ला प्रहरी कार्यालय सिरहामा निवेदन दर्ता गराएका थिए । तर, निवेदनउपर कुनै सुनुवाइ  भएन । यो इँटाभठ्ठा सञ्चालन अनुमति नियमविपरीत दिइएको सरिफको गुनासो छ ।
नागरिक गुहारको बेवास्ता इँटाभठ्ठा सञ्चालनका लागि सुरसार भएपछि यहाँका नागरिक स्थानीय नेतासमक्ष गुहार लगाए । केही नेताले आफू यसमा ‘एक्सपोज हुन नसक्ने जवाफ फर्काए । केहीले खुलेरै इँटाभट्टा सञ्चालनको पक्षमा वकालत गरे । केही आफूलाई एक्सपोज नगरी सम्बन्धित निकायमा उजुरवाजुर गर्न सुझाए । इँटाभठ्ठाको दर्ता रोक्न स्थानीयले कारण खुलाएरै सिरहा नगरापलिका र घरेलु तथा साना उद्योग कार्यालय लहानमा निवेदन दिए । ०७२ चैत २५ गते सिरहा नगरपालिकामा मोहम्मद इशा राईन, मोहम्मद मन्जुर मियाँसहित डेढ सयको संख्यामा स्थानीयले उक्त इँटाभठ्ठाको सिफारिस रोक्न निवेदन दिएका थिए । जसबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिको वातावरण शाखालाई समेत जानकारी गराइएको थियो ।
०७३ वैशाख ५ गते स्थानीयले घरेलु तथा सना उद्योग कार्यालय लहानमा गाउँको वातावरण संरक्षणका लागि उक्त इँटाभठ्ठाको दर्ता रोक्न निवेदन दर्ता गराए । ‘घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख राजेन्द्रकुमार लाल कर्णसँग भेटेरै बस्तीको बीचमा इँटाभठ्ठा सञ्चालन अनुमति नदिन भनेका थियौं, स्थानीय मोहम्मद सरिफले भने,‘ तर, उनले नियम मिचेरै सञ्चालन अनुमति दिए ।
सिरहा नगरपालिका कार्यालय का तत्कालीन कार्यकारी अधिकृत ईन्द्रदेव यादवलाई भेटेर बस्ती जोखिममा पार्ने गरी उक्त इँटा भठ्ठालाई दर्ता सिफारिस नदिन भनेर गुहारेको सरिफले बताए । ‘तर, उन ले पनि हाम्रो पीडा सुनेनन, उनले भने ।
गलत तथ्यांक सिरहा १५ सुखचैनामा ऋृषि इँटाभठ्ठा सञ्चालनका लागि सिरहा नगरपालिका ०६३ असार १ गते घरेलु तथा साना उद्योग कार्यालय लहानलाई पठाएको च नं.९३५६ को पत्रमा ऋृषि इँटाभठ्ठा सञ्चालन हुने स्थानबाट एक किलो मिटरभित्र मानवबस्ती, मठमन्दिर, सार्वजनिक महत्त्वका संघसंस्था, स्कुल नरहेको उल्लेख छ । १५ दिने सार्वजनिक सूचना सार्वजनिक गरेको अवधिमा कसैको उजुरी नपरेकाले उद्योग स्थापना तथा सञ्चालन अनुमतिका लागि सिफारिस गरिएको सिरहा नगरपालिकाका प्रशासन शाखा प्रमुख रामअशिष भिन्डवारद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
तर, इँटाभठ्ठाको ५० मिटर उत्तरपश्चिममा नवटोली मुस्लिम बस्ती छ । करिब १ सय मिटर उत्तरपश्चिममा मस्जिद छ । करिब ५ सय मिटर पूर्वमा सुखचैनास्थित दलितदीप अधारभूत विद्यालय छ । १ किलोमिटर दक्षिणमा भारतीय गाउँ जोगिया छ । सिरहा नगरपालिका वडा नम्बर १४ नवटोलीका वडासदस्य मोहम्मद अब्दुल रहमानका अनुसार यहाँका माडर, खिरौना, नवटोली र पर्साही गरी चार टोलवासीलाई प्रदूषणको प्रत्यक्ष मार पर्ने गरी नियम मिचेर इँटाभठ्ठालाई अनुमति दिइएको छ । नगरपालिका, घरेलु र प्रशासन सबै मिलेर यी बस्तीलाई प्रदूषणको जोखिममा पारेको उनले गुनासो गरे । इँटाभठ्ठा सञ्चालन अनुमति दिनमा संलग्नलाई कारबाही गराउने बाटो नभेटाएको बताउँदै रहमानले भने, ‘अहिले धुवाँपीडितको संख्या थपिँदै गएको छ । नियम मिचेर सञ्चालित उक्त इँटाभठ्ठाको दर्ता खारेज गर्न र सञ्चालन अनुमति दिने अधिकारीउपर कानुनी कारबाही हुनुपर्ने उनले माग गरे । उक्त इँटाभठ्ठालाई ०६४ साउन ३ गते घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन अनुमति दिएको कार्यालयको रेकर्डमा छ ।
जिल्लाभरि उस्तै बेहाल लहान २२ सिसवनीस्थित पाँचुनाथ आधारभूत विद्यालयका बाल बालिकालाई बाह्रै महिना सकसक हुन्छ । रुघाखोकी र ज्वरोले थलिएर धेरै विद्यार्थी स्कुल जान पाउँदैनन् । धेरैजसो विद्यार्थीमा छाला चिलाउने, आँखा पोल्ने र रातो हुने, रुघाखोकी र ज्वरो आउनेजस्ता समस्या देखिन्छन् । विद्यालयका प्रधानाध्यपक हरिहर चौधरीले विद्यालयको पश्चिमतर्फ लहरै रहेका चारवटा इँटाभठ्ठाको धुवाँले सबैलाई सताउने गरेको बताए । उनले भने, ‘साना नानीलाई धुवाँको असर चाँडै गर्दोरहेछ । पछिया हावा चल्दा विद्यालयमा बसि नसक्नु भएर बिदा नै दिनुपर्छ ।
जिल्लाभरि ८० वटा दर्ता भएका इँटाभठ्ठा सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय लहानको तथ्यांक छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »