कमलेश यादब
सिरहा, ९ वैशाख । उद्योग वाणिज्य संघसहित लहानका तीन राजनीतिक दलले एक हप्ताभित्र लहान नगरपालिका भित्र रहेका बहाल विटौरी र गाउँब्लकका जग्गाहरुको श्रेस्ता अद्यावधिक गर्ने कार्य अगाडि नबढाए मालपोत कार्यालयविरुद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएका छन् ।
बहाल विटौरी र गाउँब्लकका जग्गाहरुको नाँपजाँच भई जग्गाधनी प्रमाण–पुर्जा वितरण समेत भइसकेको अवस्थामा उक्त प्रमाणपुर्जाको श्रेस्ता अद्यावधिक गर्न मालपोत कार्यालयले आनाकानी गरेपछि जिल्ला उद्योग वाणिज्य संघ सिरहा, लहान सहित नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल तथा राष्ट्रिय जनता पार्टी नेपालका नगर समितिहरुले संयुक्त रुपले ज्ञापन पत्र दिंदै सो चेतावनी दिएको हो ।
ज्ञापनपत्रमा छ महिना अगाडि उक्त जग्गाहरुको अद्यावधिकको नाममा मालपोत कार्यालयले सम्पूर्ण कार्य रोक्का राखेको हुँदा नगरपालिकाभित्रका उद्योगी व्यवसायी र बैड्ढबाट कर्जा सुविधा लिने व्यक्तिहरुलगायत सर्वसाधारणको काममा समेत बाधा व्यवधान उत्पन्न भएको उल्लेख गर्दै त्यस्ता जग्गाको श्रेस्ता तुरुन्त अद्यावधिक गर्न आग्रह गरिएको छ । उक्त आग्रहलाई नमाने एक हप्तापछि संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
हामीले पटक पटक जग्गा अद्यावधिक गर्न मालपोत कार्यालयलाई मौखिक रुपमा आग्रह गरेका ग¥यै छौ तर मालपोतका कार्यालय प्रमुख तिर्थलाल घिसिङले अद्यावधिक को नाममा सम्पूर्ण कार्य रोकी सर्वसाधारणलाई विना कारण दुख दिइरहेका छन्, जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष सुनिल महतोले भने–अब लिखित रुपमै हामीले उनीलाई आग्रह गरेका छौं, हाम्रो आग्रहलाई नमाने मालपोत कार्यालयमा ताल्चाबन्दीसम्म गर्ने योजना बनाएका छौं ।
उद्योग वाणिज्य संघ र स्थानीय राजनीतिक दलहरुबाट मालपोत कार्यालयविरुद्ध गरिने संघर्षका कार्यक्रमहरुप्रति मालपोत कार्यालय लहानअन्तर्गतका लेखापढी कानून व्यवसायी एसोसिएसनले समेत ऐक्यबद्धता जनाएको छ । एसोसिएसनका केन्द्रिय उपाध्यक्ष गुरुदेव यादवले कानूनले रोक नलगाएको कुरामा मालपोत कार्यालयले अहिले जबर्जस्ती रोक लगाएर श्रेस्ता अद्यावधि हुन नदिएको आरोप लगाए । यादवले केही महिना अगाडिसम्म मालपोत कार्यालय ले करिब एक सय जग्गाको श्रेस्ता अद्यावधिक गरिसकेको जानकारी दिए ।
मालपोत कार्यालयका निमित्त प्रमुख तिर्थलाल घिसिङले बहाल विटौरी र गाउँब्लकका जग्गाहरु को श्रेस्ता अद्यावधिकमा केही प्राविधिक त्रुटी भएकोले सोको सम्बन्धमा विभागमा पत्राचार गरिएकोले त्यहाँबाट जवाफ नआउञ्जेल अद्यावधिक गर्न कठिनाई हुने बताए ।
