भारतीय सीमामा फस्टाउ“दै अवैद्य मदिरा व्यापार

प्रकाशित समय 12:43:00 AM
गोविन्द महतो
धनुषा, ३० वैशाख ।  नेपाली भू–भागमा अवैद्य मदिराको व्यापार फस्टाउँदै गएको छ । भारतको बिहार राज्यमा मदिरा बिक्रि वितरणमा रोक लगाइएपछि सीमापारिबाट नेपाल पसेर मदिरा खाने र तस्करी गर्नेहरूको संख्या अत्याधिक बढेको हो । 
धनुषाको मुखियापट्टी मुसहनिया गाउँपालिका अन्तर्गत सीमाको दुई सय मिटरभित्रै पाँचवटा मदिरा पसलहरु विहानैदेखि खुल्ला हुन्छ । स–सानो झोपडी बनाएर सञ्चालनमा ल्याइएको अवैद्य मदिरा पसलहरू बाहिर विहानैदेखि ग्राहकहरूको चाप हुन्छ । बढिजसो भारतीय ग्राहकहरुले पसल भरिभराउ हुने गरेको कुरा पसल बाहिर लगाइएका सवारी साधनहरूको नम्बर प्लेटले प्रष्ट पारिरहेको हुन्छ  ।  मदिरा खाने पनि र तस्करी गरेर विहारमा लुकाइ–छिपाइ बेच्न पनि तस्करहरु सक्रिय हुन्छन् । यस्ता क्रियाकलापहरू प्रतिदिन हुने गरे पनि प्रहरी भने अनभिज्ञ रहेजस्तो प्रतिक्रिया दिने गरेको छ । मुसहरनीया जस्तै जटही, खजुरीलगायतका सीमामा मदिरा पसलहरू दिनप्रतिदिन थप हुँदै गइरहेका छन् ।
विहारमा मदिरा बिक्रि वितरणमा रोक लगाइएपछि नेपाल भारतका सुरक्षाकर्मी बीच सीमा क्षेत्रमा ५०० मिटरसम्म मदिरा बेच्न नपाउने सहमति भएको थियो । तर, यसका विपरित गाउँ–गाउँमा अवैद्य रुपमा पसल सञ्चालन हुदैँ आए पनि प्रहरी प्रशासनले यसको नियन्त्रणको लागि कुनै पहल गरेको छैन् ।  यस्ता अवैद्य मदिरा पसलहरुको कारण गाउँ समाजमा विकृतिहरु बढदै गएको र रक्सी खाएर हो–हल्ला गर्नेहरुका कारण गाउँमा अशान्ती फैलिन थालेको मुसहरनीया निवासी रामकला यादव बताउँछिन् ।
सधै विहानैदेखि पसलमा रक्सी खानेहरूको भीड हुन्छ जसले गर्दा गाउँघरका महिलाहरूलाई सबैभन्दा बढि असुरक्षा भएको उनी बताउँछिन् । गाउँमा प्रहरी चौकी भए पनि यस्ता मदिरा पसलहरूलाई हटाउन कुनै पहल नगरेको गाउँलेहरूको गुनासो छ । प्रहरीकै मिलोमतोमा मदिरा पसल सञ्चालकहरूले निर्धक भएर व्यापार गरिरहेको आरोप समेत गाउँलेहरूले लगाएका छन् ।
यता, धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले यस्ता अवैद्य मदिरा पसलहरूलाई हटाउन आफूले स्थानीय सरकारसँग समन्वय गरिरहेको बताउँछन् ।  उनी भन्छन, ‘हामी स्थानीय सरकारको सहयोग लिएर यस्ता क्रियाकलाप रोक्न अभियान नै थालेका छौँ । खजुरीमा भर्खरै हामीले सीमामा खोलिएका अवैद्य मदिरा पसलहरू हटाउन लगाएका छौँ । सिंहले चाँडै जिल्लाका सबै सीमाहरुबाट यस्ता पसलहरू हटाइने बताए । मदिरा पसल हटाउनका लागि स्थानीय जनताहरूको सहयोग पनि अति आवश्यक रहेको उपरिक्षक सिंहको भनाइ छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »