सिरहा, १ जेष्ठ । नेपाली काङ्ग्रेसभित्र रहेको गुट उपगुटको लाजमर्दो यथार्थ यस पार्टीको भातृ स·ठनको तल्लो तहसम्म देखिएको छ ।
पछिल्लो समयमा नेविसंघका केन्द्रीय पदाधिकारीले आफूलाई सिरहा जिल्लाको आधिकारिक प्रतिनिधि दावी गर्दै दुई जनालाई नेविसंघको जिल्ला अध्यक्षमा मनोनित गरेका हुन् । यसरी जिल्ला अध्यक्षको पगरी पाउनेमा लहानकै दुई युवा नेता शितल चौधरी र मो. मुस्ताक हुन् ।
चौधरीलाई सँस्थापन पक्षका मानिने केन्द्रिय सदस्य आशिष कार्कीले तथा मुस्ताकलाई सिटौला पक्षधर मानिने माधव ढकालले नेविसंघ सिरहाको अध्यक्ष पदमा मनोनित गरेका हुन् । मनोनित गर्ने दुवैले आफूहरुलाई सिरहा जिल्लाको आधिकारिक केन्द्रिय प्रतिनिधिको रुपमा दावी गरेका छन् ।
नेविसंघको विधानमा जिल्ला अध्यक्ष जिल्ला अधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ तर सिरहामा अधिवेशन नभएको वर्षौ भइसकेको छ । नेपाली काङ्ग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले जिल्ला अध्यक्ष मनोनयनको सवालमा आफूलाई नेविसंघको कुनै केन्द्रीय पदाधिकारीले समन्वय नगरेको बताउँदै नेविसंघका केन्द्रिय अध्यक्ष नैनसिंह महरसँग भएको कुरा कानी उद्धृत गर्दै भने, यसबारेमा मैले नेविसंघका केन्द्रिय अध्यक्ष सँग समेत कुरा गरेको छु तर उनले आफूलाई यसबारेमा कुनै जानकारी नभएको बताएको छ ।
