खोलाले धानेको जीवन

प्रकाशित समय 7:16:00 PM
भरत जर्घामगर
सिरहा, १६ जेष्ठ । भालेको डाँकोसँगै साबेल लिएर लाहान नगरपालिका–१४ बस्तीपुरकी ३२ वर्षीया ललिता राम गिट्टी–बालुवा चाल्न खुट्टी खोला पुग्छिन । दुई छोरी १० वर्षीया विभा र ३ वर्षीया विनिताको पालनपोषण स्याहारसुसार, पढाई खर्च ७ वर्षदेखि खुट्टी खोलाले धानिदिएको छ ।
विभा गाउँकै सामुदायिक विद्यालयमा पढछिन । उनकी बिहनी विनिता कक्षा १ मा पढछ । उनले परिवारको जीवीकोपार्जन का लागि गिट्टी कुटेर, वालुवा चालेर जोहो गर्दै आएका छन ।
सात वर्षअघि ललितालाई छाडेर पतिले अर्कैसित बिहे गरेपछि गुजारा चलाउन पनि गिट्टी–बालुवा चाल्न बाध्य भइन । ‘सुरुमा उनीसित कुनै सीप थिएन, पति भइन्जेल गिट्टी, बालुवा चालेर खुवाउँथे, अर्की भित्र्याएपछि गाउँघरमै ज्यालामा काम गरी गुजारा गरें,  ललिताले भनिन, ‘ज्यालामा कम कमाई हुन्थ्यो, खोलामा गिट्टी–बालुवा चालेर त्योभन्दा बढी आम्दानी हुन थालेपछि यही खोला धाउन थालें । ज्यालामा काम गर्दा दिनको ३ सय रुपैयाँले गुजारा चलाउन हम्मे परेपछि गाह्रो काम भए पनि गिट्टी–बालुवा चाल्न थालेको उनले सुनाइन । ‘भरदिनमा एक ट्रिप गिट्टी चाल्दा ६ सय रुपैयाँ कमाईले गुजारामा भरथेग भएको छ, भूमिहीन सुकुम्बासी ललिता ले भनिन, ‘त्यही कमाईले छोरीहरूको लालनपालन गरेको छु, यो खोला नै हाम्रो जग्गाजमिन र सम्पत्ति बनेको छ ।
ललिता जस्तै तटियक्षेत्र वरिपरीका गुदिगाउँ, विष्णुपुर, भदैया, बस्तीपुर, सोभापुर, गोविन्दपुर लगायत एक दर्जनभन्दा बढी गाउँका विपन्न, भूमिहीन दलित परिवारले खुट्टिखोलामा गिटी कुटेर जीवन धान्दै आएका छन ।
आर्थिक अवस्था कमजोर भएका सयभन्दा बढी दलित परिवार मूख्य आयश्रोत बनेको छ खुट्टी खोला । यही खोलामा गिटीवालुवा चालेर गुजारा चलाउँछन । झिसमिसेमै गिटी बालुवा चाल्नेको खोलामा मेलाजस्तै लाग्छ । ‘वर्षौंसम्म गिरहत (मालिक) को घरमा हरूवा बसे, मजदुरी गरे पनि छाक टार्न समस्या हुन्थ्यो  बस्तीपुर बिजुली सदायले भने, ‘गिरहतको काममा ज्याला कम भएर खोलामा गिटीबालुवा चाल्न आएका छौं । ६ जनाको परिवार बालुवा चालेरै गुजारा चलाएको बिजुलीले सुनाए । एक्लो मान्छेको कमाई घर चलाउन समस्या परेपछि उनले १२ वर्षीय छोरा शिवलाई पढाई छोडाएर खोलाकै काममा सघाउन ल्याएको सुनाइन ।
एक ट्याक्टर गिटी आठ सय रुपैयाँ र बालुवाको ७ सय रुपैयाँमा बिक्री गर्छन । उनले ठेकेदार खोलामैं आएर गिटीवालुवा किनेर लैजाने भएकाले बिक्रीमा समस्या नभएको बताइन । ‘गिटीवालुवा बिक्रीमा समस्या छैन, यही आउँछन,  उनले भनिन, ‘बुढ्यौली शरीर भयो, बालुवा चाल्नै मात्र गाह्रो भइरहेको छ, तर पनि बाध्यता छ, बालुवा न चाले छाक टार्न धौधौ पर्छ । पत्नी धनशैर सदायसँगै गिटी चालिरहेका ४६ वर्षीय रामकिशुन सदायले भने, ‘गिटी र बालुवा चाल्नुबाहेक अरु उपाय छैन, हामी खोलाकै कमाईको भरमा बाँचेका छौं । वर्षदिनअघि पैसा अभावले उपचार गराउन नसक्दा छोरा बितेको दुस्खेसो सुनाउँदै रामकिसुनले ४ छोरीसहित परिवारको पालनपोषणको लागि खर्च जोहो गर्न खोलामै चार वर्षदेखि काम गर्दै आएको सुनाए । ‘आफूसित अन्नबाली उब्जाउने जग्गा छैन  उनले भने, ‘खोला नै आफूहरूको जीवनधान्ने सम्पत्ति बनेको छ, यहीबाट मासिक २० हजार रुपैयाासम्म कमाइ हुन्छ ।
गिटीवालुवा चाल्ने उनलाई छोरीहरूले पनि सघाउँछन । ‘हरेक वर्ष असोजदेखि जेष्ठ महिनासम्म बालुवा, गिटी र ढुं·ा संकलन गरेर बिक्री गर्छु,  खोलामैं भेटिएका अमहीका ४३ वर्षीय सीताराम सदायले भने । चार छोरी मञ्जु, हिरा, सन्जु र अन्जुको विवाहमा लागेको २ लाख रुपैयाँ ऋण समेत खोलाकै कमाईले चलाएको बताए । ‘छोरीहरूको विवाहमा लागेको ऋण पनि विस्तारै तिर्दै गएको छु  बालुवा चाल्दै उनले भने, ‘खोलामा जति काम गर्न सक्यो त्यति आम्दानी हुन्छ, दैनिक ८ सयदेखि हजार रुपैयाँसम्म कमाउँछु ।  उनका अनुसार खुटी खोलामा गिटी बालुवा चाल्नेहरू पेट पाल्ने धुनमा खोलामा पुगेपछि घामपानी सबै बिर्सन्छन ।
शोभापुरका सजनी रामकी पति वैदेशिक रोजगारीमा छन । तर पनि सजनी बिहान घरको काम सकेपछि छोराछोरीलाई विद्यालय पठाएर खोलामा गिटीवालुवा चाल्न पुग्छिन । ‘पतिको कमाई बचत गर्छु, खोलाको कमाईले घरखर्च चलाउँछु उनले भनिन, ‘खेतीपाती छैन, बसेर खानुभन्दा गिटीवालुवाको कामबाट महिनामा १०र१२ हजार रुपैयाँ कमाउँछु । आफ्नो कमाईको केही रकम स्थानीय सहकारी संस्थामा बचत गरेकी उनले छोरी बविता कक्षा ५ र छोरा कृष्णाको पढाई खर्च जुटाउन खोलाको कमाईले सहज भएको सुनाईन ।
जिल्ला समन्वय समितिले वार्षिकरूपमा ठेक्का प्रक्रियामार्फत व्यवसायीलाई बालुवा, गिटी र ढुं·ा संकलनका लागि जिम्मा दिने गरेको छरु। सिरहाको खुट्टिखोला, बलान, गांगन, घुर्मी, कमला नदी क्षेत्रबाट दैनिक ठेक्कामार्फत गिट्टी बालुवा ठकेदारले निकासी गर्छन् ।
गुदिगाउँका गिटीवालुवा व्यवसायी मनोज विसुन्केले गिट्टी बालुवा चालेर यस भेगका सयभन्दा बढी परिवारको गुजारा चलेको बताए । दलित अधिकारकर्मी उमेश विसुन्केले भूमिहीन सुकुम्बासी दलित परिवारको रोजगारीको माध्यम नै खुट्टी खोलाको गिट्टी बालुवा भएको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »