मालपोत कार्यालयको यस्तो बिजोग ः महत्वपूर्ण कागजपत्र जोगाउनै मुश्किल

प्रकाशित समय 4:28:00 AM
शुभनारायण यादव
सप्तरी, १९ वैशाख । मालपोत कार्यालयको भवन जीर्ण भएकाले महत्वपूर्ण कागजपत्र नष्ट हुने अवस्थामा पुगेको छ । नयाँ भवन सञ्चालनमा नआउँदै चुहिन थालेको छ ।
मालपोत कार्यालयको तामेली भवनको छत जीर्ण भएर पानी चुहिने गरेकोले २००४ साल यताका जग्गाको रेकर्ड तथा मिसिल फाइलहरु नष्ट हुने अवस्थामा पुगेको हो । मालपोत कार्यालयका तत्कालीन प्रमुख सरयुग दासको कार्यकालमा भूमी सुधार तथा व्यवस्थापन विभागको २०६७ जेठ ३१ को निर्णय अनुसार हाल तामेली भण्डारण गरिएको भवनसहितको २ का १ धुर जग्गा जिल्ला अदालतलाई हस्तान्तरण गरिएको थियो । त्यही शर्त अनुसार जिल्ला अदालतले तामेली भण्डार निर्माणका लागि ४६ लाख रुपैयाँ उपलब्ध गराएको छ । यो रकमबाट मालपोत कार्यालयको तेस्रो तलामा तामेली भण्डार निर्माणको काम ठेक्का लगाईएको थियो ।
अदालतले हाल जीर्ण भवन समेत खाली गर्न पटक–पटक ताकेता गर्न थालेपछि तामेली फाँटमा रहेको जिल्लाभरिकै जग्गाको रेकर्ड कहाँ लाने भन्ने अन्यौल रहेको फाँटका सोमन यादवले बताए । उनका अनुसार वर्षा सुरु हुनुअघि नै वैकल्पिक व्यवस्था नगरे पानी चुहिएर मिसिलहरु नष्ट हुन सक्ने खतरा बढेको छ । नयाँ भण्डार तयार नभएको र पुरानो भवन पनि भण्डारणका लागि उपयुक्त नभएकाले तामेली संरक्षणको चुनौती बढेको उनले बताए । मालपोत कार्यालयको तामेलीमा २००४ सालदेखिका करिब ५ लाखभन्दा बढी मिसिल रहेको छ । तर भवनमा पानी चुहिएर १० प्रतिशतभन्दा बढी लिखत नष्ट भएको भएको कर्मचारी सोमनले बताए । २०२८ सालको मिसिल खोज्न लगातार तामेली भवन धाउने गरेकोमा हालसम्म कागज फेला नपरेको राजविराज–४ का मौलेश्वर प्रसाद सिंहले गुनासो गरे ।
‘कार्यालयमा जग्गाको मिसिल खोज्न दैनिकजसो १०–२० जना आउने गर्छन कर्मचारी सोमनले भने ‘कागज खोज्दै दिन बित्छ, तर कतिपय कागजको टुक्राटुक्री पनि फेला पर्दैन, कुहिएर बर्वाद भईसकेको छ । कागज भण्डारण कालागि अँध्यारो एवम् पानी नचुहिने सुरक्षित कक्ष हुनुपर्नेमा पानी चुहिने जीर्ण भवनबाट मिसिलहरु नसारिए भएका कागजपत्रहरु समेत नष्ट हुन सक्ने उनले बताए ।
अर्कोतर्फ ठेकेदारको लापर्वाहीले नयाँ भवन हस्तान्तरण नहुँदै पानी चुहिन थालेको छ । मालपोत कार्यालयको तेस्रो तलामा निर्माणाधीन ११ कोठे तामेली भण्डार भवन निर्माणको ठेक्का गहिल सन्स कम्पनी लिमिटेड राजविराजले लिएको छ । कुल २८ लाख ८८ हजार ७ सय ७० रुपैयाँमा ठेक्का लागेको भवन निर्माणका लागि २०७१ असोज २० मा सम्झौता भएको थियो । २०७२ भदौ १९ मा काम सकेर मालपोत कार्यालयलाई हस्तान्तरण गर्नुपर्नेमा अझै भवनको काम पूरा हुन सकेको छैन । भवनमा लगाईएको टिनको केही पाता समेत हावाले उडाएको तथा जडान गरिएको प्लाई समेत गुणस्तरहीन भएका कारण ठाउँठाउँमा उप्केको छ । भवन समेत ठाउँठाउँमा चर्किएको छ ।
काम सम्पन्न गर्न पटक–पटक म्याद थप गर्दा समेत निर्माण कम्पनीले बेवास्ता गरेको जिल्ला मालपोत कार्यालयका प्रमुख दधिराज गुरागाईंको भनाइ छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले गरेको मूल्यांकन अनुसार २०७३ फागनु ५ सम्म ७० दशमलव ८१ प्रतिशत मात्रै काम सम्पन्न भएको देखाएको छ । भवनको बाँकी काम सम्पन्न गर्न ठेकेदार कम्पनीले दुई पटक गरी २०७२ फागुन २० सम्मको थप म्याद पाएको थियो । यद्यपि थपिएको समयमा पनि निर्माण काम पूरा हुन सकेको छैन । 
भवन निर्माणको काम समेत पूरा नगरी २०७३ जेठ २७ गते ठेकेदारले फाइनल बिल भर्पाइ पेश गरी भुक्तानी माग गरेको छ । सम्झौतामा कबोल गरेको भन्दा ५ लाख कमको बिल भर्पाइ पेश गरिएको छ । ‘पटक–पटक रकम निकासा भए पनि कति रकम भुक्तानी भएको हो यकिन हुन नसकेको प्रमुख गुरागाईंले जानकारी दिए । यो भवनको निर्माण कार्य गुणस्तरहीन भएको भन्दै २०७३ मै भूमि सुधार तथा व्यवस्थापन विभागले अनुगमन गर्दा भवन गुणस्तरहीन र तामेली भण्डारणका लागि उपयुक्त नभएको प्रतिवेदन दिएको थियो ।
सप्तरी जिल्लाको सम्पूर्ण जग्गाको अभिलेख भण्डारण गरिएको भवन जीर्ण भई चुहिने गरिएकोले भिजेर नष्ट हुन थालेको हुँदा यसतर्फ सम्बन्धित निकायले गम्भीर रुपमा ध्यान दिनुपर्ने नागरिक समाज सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्सालीले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »