लाहानमा सामाजिकद न्यायसहितको समृद्धि र दलित विषयक प्रदेशस्तरीय भेला सुरु

प्रकाशित समय 2:20:00 AM
कमलेश यादब
लाहान, ११ जेष्ठ । राष्ट्रियस्तरमा विकास र समृद्धिको बहस चलिरहेको बेला सिराहाको लाहानमा दलित समुदायका लागि सामाजिक न्यायसहितको समृद्धिका विषयमा प्रदेश नं. २ स्तरीय दलितसभा सुरु भएको छ । सरकार, राजनीतिक दल र अन्य सरोकारवालाहरुले समृद्धिको विषयमा चर्चा गरे पनि मधेसी दलित समुदायको आर्थिक र सामाजिक–सांस्कृतिक समस्यालाई सम्बोधन गर्ने विषयमा कतै पनि बहस र छलफल नभएका कारण मधेसी दलितका सवालमा कस्तो समृद्धि भन्ने विषयमा सभामा बृहतरुपमा छलफल भइरहेको छ ।
दलित सरोकार मञ्च, नेपाल र डिग्नटी इनिुिसएटिभको संयुक्त आयोजनामा भइरहेको दलितसभा दुई दिनसम्म सञ्चालन हुनेछ । सभामा विशेषगरी मधेसी दलितका आधारभूत सवालहरु शिक्षामा पहुँच, मधेसी दलितको स्वास्थ्य, दलितका लागि समृद्धि, मधेसी दलित महिला, मधेसी दलितका लागि सकारात्मक विभेद र आरक्षणको सवाल, राजनीति र दलित प्रतिनिधित्वजस्ता विषयमा बहस र छलफल गरिने दलित सरोकार मञ्चका भोलापासवानले बताए । उनकाअनुसार दलितभामा राष्ट्रियसभा सदस्यसहित प्रदेश नं. २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने ९ जना दलित सांसद सहभागी छन् भने प्रदेशअन्तर्गत सबै जिल्लाबाट दलित राजनीतिक नेता÷कार्यकर्ता, अधिकारकर्मी गरी १२० जनाको सहभागीता रहेको छ ।
समृद्धिका विषयमा ठूला बहस गरे पनि समग्र दलित र मधेसी समुदायको आधारभूत समस्या हल नगरेसम्म दलितका लागि समृद्धिले खासै फरक पार्दैन  आयोजक संस्थामध्येका एक डिग्निटी इनिसिएटिभ अध्यक्ष ख्याम विश्वकर्माले भने, ‘मधेसी दलितको सवालमा समृद्धि के हो ? मधेसी दलितका लागि कस्तो समृद्धि चरित्रको समृद्धि जरुरी हुन्छ ? मधेसी दलितले कस्तो समृद्धि चाहन्छन् ? भन्नेजस्ता विषयमा आलोचनात्मक धारणाको निर्माण गर्नका लागि प्रदेश २ स्तरीय दलितसभा आयोजना गरिएको हो ।
दलितसभाको पहिलो दिन मधेशी दलित र शिक्षा, स्वास्थ्य, मधेसी महिलाका सरोकार र समृद्धि र दलितका विषयमा छलफल गरिएकोे थियो । भोला पासवान, ख्याम विश्वकर्मा, जेबी विश्वकर्मा, सञ्जु सरबरिया लगायतले विषयगत रुपमा आफ्ना धारणाहरु राखेका थिए भने वरिष्ठ अधिवक्ता हिम्मत सिंह, लेखक चन्द्रकिशोर, प्रदेशसभा सदस्य सुनिता रामलगायतले टिप्पणी गरेका थिए ।
कार्यक्रमको दोस्रो दिन मधेसी दलितका लागि सकारात्मक विभेद र आरक्षण, राजनीतिक दलित प्रतिनिधित्वका विषयमा बृहत छलफल हुनेछ । दलितसभामा प्रदेश नं. २ का सरकारका प्रतिनिधि, प्रदेशसभा का सांसद र राजनीतिक दलका प्रतिनिधि र स्थानीय सरकारका प्रतिनिधिहरु पनि सहभागी हुने आयोजक संस्थाहरुले जनाएका छन् । दलितसभाको छलफल उठेका सवाललाई प्रदेश सरकार, सांसद, राजनीतिक दलका नेता र अन्य सरोकारवालालाई बुझाइने छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »