बाल विवाह रोक्न कपिलवस्तुमा किशोरी भलिबल प्रतियोगिता

प्रकाशित समय 6:34:00 PM
कपिलवस्तु, १२ जेष्ठ । समाजमा  बालविबाह रोक्न कपिलवस्तुमा किशोरी भलिबल प्रतियोगिता आयोजना गरिएको छ । ‘बाल विबाह रोक्न म नेतृत्व लिन्छु  भन्ने नाराका साथ जिल्लास्तरीय किशोरी सशक्तीकरण संजाल कपिलवस्तुले तौलिहवामा किशोरी भलिबल प्रतियोगिता आयोजना गरेको हो ।
किशोरको तुलनामा किशोरीहरू घर समाजमा कुण्ठित भएर बस्नुपर्ने अवस्थाको अन्त्यका लागि खेलको माध्यम बाट सामाजिक जागरुकता ल्याउने उद्देश्यसहित आयोजित प्रतियोगितामा जिल्लाका ३ वटा कलस्टर हरूको सहभागिता रहेको छ ।  शनिबार आयोजित प्रतियोगिताको फाइनलमा कृष्णनगर नगरपालिका ५ स्थित रोज किशोरी समूह, यशोधरा गाउँपालिका ७ स्थित शिव शक्ति किशोरी समूह र शुद्धोधन गाउँपालिका ६ स्थित दुर्गा किशोरी समूहबीच प्रतिस्पर्धा भएको थियो । उनीहरू जिल्लाका विभिन्न ८ वटा किशोरी समूहबीच को भिडन्तबाट विजयी भई फाइनल यात्रा तय गर्न सफल भएका हुन् ।
फाइनल खेलमा शिवशक्ति किशोरी समूह प्रथम, रोज किशोरी समूह द्वितीय र दुर्गा किशोरी समूह तृतीय भएका छन् । उनीहरूलाई मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको केयर नेपालका जिल्ला संयोजक गोबिन्द धवलले जानकारी दिए । गाउँ समाजमा किशोरीहरूको व्यक्तिगत तथा सामाजिक जीवन किशोरको तुलनामा कम विकास भएकाले उनीहरूमा खेलको माध्यमबाट क्षमता अभिबृद्धि गर्ने र सामाजिक मूल्य मान्यतामा आमूल परिवर्तन ल्याउने दलित सामाजिक विकास केन्द्र्रका कार्यक्रम संयोजक धवले बताए । 
शिक्षा, खेलकुदको क्षेत्रमा किशोरीहरूलाई अवसर प्रदान गरिनुपर्नेमा उनले जोड दिए । यो किसिमका खेलले किशोरीको आत्मबल बढ्ने दुर्गा किशोरी समूहकी साधना हरिजनले बताइन् । घरबाट बाहिर निस्कने र नयाँं शिक्षा हासिल गर्न सहयोग मिल्ने उनले विश्वास व्यक्त गरिन् । प्रतियोगितामा जित हासिल गर्न सफल शिवशक्ति किशोरी समूहकी रन्जु मौर्यले आफूहरूको मनोवल बढेको र समाजमा हरेक कामका सक्रिय सहभागी हुने हिम्मत आएको बताइन् ।  
यशोधरा गाउँपालिकाकी उपाध्यक्ष कन्यावती उपाध्यायले चालु आर्थिक वर्षको बजेटमा आफूले गाउँ पालिकामा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्नका लागि विशेष काम गर्ने बताइन् । घरपरिवार मै शिक्षा दिनसके बाल बिबाह रोकिने पनि उनले बताइन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »