जेलबाट छुटेपछि बालकृष्ण ढुंगेलले यसरी पोखे आक्रोश

प्रकाशित समय 6:58:00 PM
काठमाडौं, १५ जेष्ठ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएपछि रिहा भएका बालकृष्ण ढुंगेलले सरकारको शासकीय प्रवृतिका कारण आफू जेल जानु परेको बताएका छन् ।
मुलुकमा गणतन्त्रको माग गर्दै आन्दोलन चलिरहेका बेला संकटकाल लगाउन, टाउकाको मूल्य तोक्ने र योद्धाहरूलाई बेपत्ता बनाउने काममा संलग्नहरू नै गणतन्त्र प्राप्तिपछि नेतृत्वमा पुगेकाले आफूमाथि अन्याय भएको उनको भनाइ थियो । मंगलबार बिहान डिल्लीबजार काराबारबाट सिधैँ पेरिसडाँडा स्थित तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पुगेका ढुंगेलले सोही स्थानमा आयोजित सभालाई सम्बोधन गर्दै गणतन्त्र विरोधी नै गणतन्त्रको मालिक बनेपछि आफू कारागार जानुपरेको बताएका हुन् ।
उनले भने, ‘मैले गणतन्त्र माग्दै गर्दा गणतन्त्र जिन्दावाद भन्दै गर्दा, मेरो हिटरमा पिसाब फेराएर किड्नी ड्यामेज गर्दिने शेरबहादुर देउवाजीहरू गणतन्त्र आइसके पछि प्रधानमन्त्री बन्नुहोला र गणतन्त्रको मालिक बनेपछि फेरि मलाई अपराधिकरण गर्दै जेल पठाउछ होला भन्ने मैले त्यो हिरासतमा , त्यो मुर्छनामा कहिले कल्पना गरेको थिइनँ । गणतन्त्र स्थापना भएपछि हिसाब किताब हुन्छ होला भन्ने थियो । गणतन्त्र माग्दा खेरी टाउकाको मूल्य तोक्नेहरू, गणतन्त्र हेरेर पश्चतापको आशु बगाउछन् होला भन्ने थियो । पछि तिनै हिटरमा पिसाब फेराउनेहरू, गणतन्त्र माग्दा टाउकाको मोल तोक्नेहरू, संकटकाल घोषणा गर्नेहरू नै गणतन्त्रका मालिक बने । जब गणतन्त्र माग्दा संकटकाल घोषणा गर्ने र हिटरमा पिसाब फेराउने अनि नागार्जुनका जंगलमा लगेर योद्धाहरू वेपत्ता पार्नेहरू गणतन्त्रको मालिक बन्न पाएपछि बालकृष्ण ढुंगेल जानु थियो कारागार । म गएँ । र आज फेरि रिहा भएको छु ।
उनले गणतन्त्र अपहरणमा र न्यायालयलाई बलात्कृत गरेर आफूलाई अपराधिकरण गरिएको दाबी गरे । उनले भने, ‘म बालकृष्ण ढुंगेल न्यायालयको बेच्नबाट बलात्कृत भएको पात्र हुँ ।  आफ्ना कुरा कसैले नसुनेको भन्दै ढुंगेलले संचारजगत, न्यायालय र वकिलहरूलाई ब्राण्डेड रक्सी र एक थाल भातका भतुवाको संज्ञा दिए ।
राष्ट्रपतिबाट कैद माफी पाएको बिर्सेर ढुंगेलले आफू निरअपराधी भएको र ढिलै भए पनि सत्यको विजय भएको भन्न समेत विर्सिएनन् । ढुंगेललाई कैद सजाय मिनाहा नगर्न दाबी गर्दै दायर गरिएका रिटमाथि अहिले पनि सर्वोच्च अदालतमा बहस जारी छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »