वैवाहिक सम्बन्धको बदलिंदो स्वरुप

प्रकाशित समय 2:21:00 AM
डम्बर खतिवडा
रामरिझन यादव फरक प्रकृतिका गज्जब व्यक्तित्व लाग्छन् । त्यस्तो लाग्नुका अनेक कारण छन् ।
पहिलो–वनपतिशास्त्रका प्राध्यापक, पञ्चायतकालमा नै उनी बिराटनगरमा पत्रकारिता गर्थे । त्यो पनि काठमाण्डौंका साप्ताहिकहरुका लागि सम्वाददाता भएर । तर, विस्तारै उनको व्यक्तित्व प्राध्यापकका रुपमा भन्दा पत्रकारकै रुपमा परिचित हुनथाल्यो । पत्रकारिताकै क्रममा उनले सामाजिकता र समावेशिताका मुद्दामा लेखक व्यक्तित्व निर्माण गरे ।
दोस्रो–रामरिझन त्यतिखेरै दरिएका बुद्धिजीवी मानिन्थे पूर्वमा । तर, त्यतिखेरको सानो पार्टी एकताकेन्द्रका लागि राजनीति गर्थे । तेस्रो–मूलधारको राजनीतिले मधेसलाई न्याय गर्न नसकेको ठानेर मधेसी जनाधिकार फोरमको गठनमा उनले साथ दिए । त्यतिखेर त्यो गैसस थियो । अहिले पनि उनी भन्छन –फोरमको त म संस्थापक नै हो । चौथो– जातीय समुदायको हिसाबले यादवको बच्चाका रुपमा उनलाई हेरिन्छ । तराईमा यादबहरुको आफ्नै खालको ‘लडाका इमेज  छ । त्यसमाथि कटट्रपन्थी कम्युनिष्ट स्कुलि·मा हुर्किएका । तर, उनको व्यक्तित्वको समग्र सार अत्यन्त ‘उद्धार बुद्धिजीबी  को जस्तो छ ।
अझ रोचक कुरा, सिराहा सन्हैठाका ‘मधेसी  उनले झापाकी ‘पहाडेनी  लक्ष्मी अधिकारीसँग प्रेम र मञ्च विवाह गरे । त्यो पनि फरक पार्टीकी कार्यकर्तासँग जतिखेर नेपालमा दलीय पूर्वाग्रह चरमचुलीमा थियो । चौम धारका कम्युनिष्ट रामरिझन सर । माले धारकी कार्यकर्ता लक्ष्मी अधिकारी । डा. बाबुराम भटटराई प्रधानमन्त्री हुँदा रामरिझन प्रधानमन्त्रीका प्रेस सल्लाहकार थिए । प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा उनलाई नेपालका प्रधानमन्त्रीको प्रेस सल्लाहकार ठान्न भारतीय अधिकारीहरु हिच्किचाएजस्तो गर्थे रे । पटनामा बिहारका मुख्यमन्त्रीसँग भेट हुँदा–मुख्यमन्त्री नीतिश कुमार केहीबेर त छक्क परेर हेरेको हेर्यै भएछन् ।
‘तपाई नेपालको प्रधानमन्त्रीको प्रेस सल्लाहकार, मैले छपरातिरको हाम्रै बिहारको यादव भएकोहोला भन्ठानेको  भने रे नीतिशले । यस्ता अनेकन रोचक संयोग छन, रामरिझन यादवको जीवनमा । केही महिना अगाडि यिनै अनौठा रामरिझनले फोन गरेर अनौठो प्रस्ताव गरे –डम्बरजी, अन्तर्जातीय विबाहसम्बन्धी एउटा लेख लेखिदिनुस् त । म केहीबेर अलमलमा परें । किन सर ? के गर्ने त्यस्तो लेख ? भनेर सोधे ।
मेरी जेठी छोरी शिखाकिरण यादवको विवाह हुँदैछ । इनरुवाका धिरज भट्टराईसँग । विवाह कार्यक्रम बिराटनगरमा हुन्छ । ८ मार्च, अन्तर्राष्ट्रिय महिला दिवसका दिन मञ्च विवाह । तपाईलाई विवाहको निम्तो पनि भयो । उपहार नलिइनकन आउनुहोला । त्यही दिन लेखहरुको संकलनको एउटा किताब निकाल्ने कार्यक्रम छ । त्यहीँ एउटा किताब किन्दिनु होला । मैले छोरीलाई कति पनि दहेज दिन्न । त्यो किताब दिन्छु, ज्वाइँछोरीलाई दहेज ।  यति भनेर रामरिझन सर रमाइलो गरी हाँसे ।
म सुनसरीको मान्छे । इनरुवा आफ्नै गाउँजस्तै भइगो । कुन धिरज भटट्राई रहेछन् ? सोधें –त्यही तपाईको इनरुवाको नेपाली कांग्रेसको नगर सचिव–धिरज । मैले धिरजको अनुहार सम्झिएँ । विशेषतः जनान्दोलन–०६२र०६३ को १९ दिन–इनरुवाका सडकमा धिराजसँगसँगै भएका दिनहरु सम्झिएँ । यी सबै संयोगहरु मलाई झनै रमाइला र गज्जब लागे । तर, रामरिझन सरको अनुरोध भने मैले पूरा गर्न सकिनँ । कताकति ‘गिल्टी फिल  भइरहृयो । के लेख्ने होला मैले अन्तर्जातीय विवाहका बारेमा ।
मेरो विवाह प्रेम विवाह पनि हैन, अन्तर्जातीय पनि हैन । पार्टी विवाह पनि हैन, परम्परागत पुरोहित पढाउने कर्मकाण्डी विवाह पनि हैन । विवाहबारे मैले कुनै शास्त्रीय अध्ययन गरेको छैन । म राजनीति, दर्शन, अर्थशास्त्र र व्यवस्थापनशास्त्रमा रुचि राख्छु । समाजशास्त्रीय ज्ञानका हिसाबले विल्कुल कमजोर मान्छे हुँ । तै, रामरिझन सरको आग्रह पूरा गर्न अनेकचोटि कम्प्युटरको किबोर्ड अगाडि बसेर कनें । तर, पित्को वाक्य फुरेन । तसर्थ मैले उनलाई लेख दिन सकिनँ । लेख दिन नसकेको मात्र हैन, विवाहको दिन बिराटनगर पुग्न पनि सकिनँ । शिखा र धिरजको सुखद वैवाहिक जीवनको कामना मात्र गरिरहें मनमनै ।
त्यसको करिब महिना दिनपछि लाहानमा रामरिझन सरसँग भेट भयो । ‘विवाहः सम्बन्धको बदलिँदो स्वरुप  नामको मोटो किताब मेरो हातमा थमाइयो । मैले पैसा तिर्न पर्स निकालें । तर, लिन मानेनन् । भने–तपाईले लेख मिस गरेको किताब हो यो । एकपटक हेर्नु, विवाहको दिन आएको भए पैसा लिन्थें, अब लिन्न ।  मैले किताब ओल्टाई पोल्टाई हेरेँ । कभरमा मिथिला आर्ट । पछाडि विवाहसम्बन्धी लेखका केही उद्धरहणहरु । किताबको कागजबाट मीठो बासना आइरहेजस्तो ! सरसर्ती विषयसूची हेरेँ । नेपाल र केही भारतका पनि दिग्गज विद्धानहरुका विवाह सम्बन्धी लेखहरुको संग्रह । त्यो पनि चार खण्डमा । भाषिक आधारमा नेपाली, हिन्दी, मैथिली र अंग्रेजी खण्ड । यति गतिलो किताबमा आफ्नो लेख छापिने अवसर गुमेकोमा कताकता मनमा खिन्नता छायो । तर, पढी सक्न भने मलाई झण्डै अरु एक महिना लाग्यो । ५५ वटा रोचक लेखहरु छन् किताबमा । डा. भाष्कर गौतमले ती लेखलाई निफनेर गतिलो आमूख लेखेका छन् । नेपाली समाज वैवाहिक सम्बन्धका हिसाबले कसरी ‘टेन्डेन्सियल सिफ्ट गरिरहेको छ भनेर बुझ्न राम्रो सन्दर्भग्रन्थ बनेको छ, किताब ।
सीके लाल, मोदनाथ प्रश्रति, चैतन्य मिश्रदेखि राजेन्द्र महर्जनसम्मको वैवााहिक सम्बन्धबारेको समाजशास्त्रीय व्याख्या अनेक कोणबाट उपयोगी लाग्यो । किताबको रोचक आत्मिक पक्ष भनेको नेपाली समाजमा अन्तर्जातीय विवाह गरेर सफल दाम्पत्य जीवन बिताएका चर्चित जोडीहरुको प्रेमकथा पनि हो । डा.बाबुराम भटटराईरहिसिला यमी, स्वनाम साथीरकिरण गौतम, लीलामणि पोख्रेलरशशी श्रेष्ठ, प्रदीप नेपालरझुमा देवान, गंगानारायण श्रेष्ठरवन्दना सुवेदी, बृषेशचन्द्र लालरविजयालक्ष्मी श्रेष्ठ, मदन अर्यालरनिशा साह, मनोज झारज्याति महर्जन, सीता पोख्रेलरविश्वनाथ शाह, राजबहादुर कुँवरर इन्दिरा थारु आदिका जीवन अनुभव र विश्लेषणहरु पढ्दा मज्जा लाग्छ ।
निक्कै जटिल लाग्ने अन्तरजातीय विवाहका अगाडि सजातीय प्रेम विवाहहरुको अनुभव कल्पना धमलाको लेखबाट तुलनीय बन्न पुग्छ ।कम्युुनिष्ट आन्दोलन र जनयुद्धका सांस्कृतिक पक्ष साथै कथित दलित र उच्च जातीय विवाहका संकटहरुलाई उधिन्न समेत किताबले उल्लेखनीय भूमिका गर्न सक्छ ।
विशेषतः बविता बस्नेत र अनिल शर्माले यसबारे गहिरो रुचि देखाएका छन् । युवा उमेरमा क्रान्तिकारी जोस र यौनप्रेमको भावना प्रवल हुँदा भएका त्यस प्रकारका धेरै विवाहहरु सामाजिक सहवरणको अभावमा दुःखद स्थितिमा पुगेको निराशाजनक चित्र यी लेखहरुले दिएका छन् । शिखा र धिरजको विवाह एउटा राम्रो निहुँ बन्न पुगेको छ, रामरिझन सरलाई बिल्कुल नयाँ प्रकारको किताब सम्पादन गर्ने । हामी पाठकहरुले पनि एकपटक त्यो मज्जा लिनु राम्रै हुन्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »