बल्लबल्ल घर बनाएको थिए, त्यो पनि उडायो !

प्रकाशित समय 8:26:00 PM
रामभरोसी यादव
सिरहा, ६ जेष्ठ । सिरहा गोलबजार नगरपालिका १० धोवियाधारका ३९ वर्षीय मुनिलाल सदाय, ४५ वर्षीय रामलाल सदाय र १८ वर्षिय सुलेन्द्र सदायका परिवार समसाँझै खाना खाएर नजिकैको पाहुना घरमा पुग्छन् । गत बुधबार आएको हावाहुरीले ओतलाग्ने घरको छानो उडाएदेखि उनीहरु दिनहुँ वेलुकाको खाना खाएर पाहुना घरमा पुग्ने गरेका हुन् ।
यी तीन जनाको परिवारमात्र हैन, करिव ४० घर परिवारका गाउँका धेरैजसोको घरको छानो उडाएकाले उनीहरु सवै त्यही पाहुनाघरमा रात विताउने गर्दछन् । अपाङ समेत रहेका मुनिलाल ६ महिने काखे छोरोसहित ६ जनाको परिवारको अहिले त्यहि पाहुना घरमा रात वित्छ । लौरोको सहारामा हिँडडुल गर्ने मुनिलाल पैसा नभएकै कारण घर मर्मत गर्न सक्ने अवस्थामा नभएको बताउँछन् ।
उनी भन्छन, ‘म आफै अपाङग छु, जसोतसो परिवार चलाईरहेको छु, बल्लबल्ल बस्ने घर बनाएको थिएँ, त्यो पनि उडायो, अव कसरी बनाउने ? मुनिलालका ३ भाई छोरा र १ बहिनी छोरी छन् ।
रामलालको घरपनि हावाले ढालिदिएको छ । दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका उनले पनि घर मर्मत गर्न सकेको छैनन् । जसोतसो परिवार पाल्दै आएका उनलाई  भक्तिएको घर कसरी बनाउने भन्ने समस्या छ । उनले भने, ‘दिनभरी अरु कोमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएको छु, हावाले घरनै भत्कायो, हामी त विचल्लिमा परेका छौं, कसरी बनाउने सोच्नै सकिएको छैन । उनका १० वर्ष मुनिका २ छोरी र १ छोरा छन् । १८ वर्षीय सुलेन्द्रका १० महिने छोरी छन् । नावालक छोरी बचाउनेदेखि घर बनाउने समस्या उनमा थपिएको छ । सुलेन्द्रजस्तै गाउँका धेरै सदाय परिवारको अवस्था यस्तै छ ।
घुमिखोलाको किनारमा रहेको सदाय वस्तिका सवैको उस्तै अवस्था भएकाले त्यही पाहुना घरमा पनि उनीहरुले ठाउँ पाउन सकिरहेका छैनन् । घरमै ओत लाग्न सक्ने अवस्था रहेकाहरु भने घरमै वस्ने गरेको गाउँका ५५ पर्षिय लिलिया दसायले बताए । उनले भने, ‘जसको घर बचेको छ, उनीहरु आफ्नै घरको एककुनामा ओतलाग्ने गर्छन् बाँकी सवै पाहुना घरमा कोचिएर बस्नुको विकल्प छैन् । 
गाउँलहरुले हुरीले गाउँ नै विस्थापित हुनेगरी उडाउँदा समेत कुनै राहत पाउन नसकेको गुनासो गरेका छन् । स्थानीय  विरोचन सदायले भने, ‘चुनावका वेला दिनमै ५ जना नेता हामीलाई भोट देउ, तिमिहरुलाई घर बनाईदिन्छु, पानीको व्यवस्था मिलाउँछु, बालबालिकालाई पढ्ने स्कूल दिन्छु भन्थे ।
अहिले वस्ने घर नै उडाएको बेल कोही अनुहार देखाउनसम्म आएका छैनन् ।  बैशाख २६ गते बुधबार आएको  हुरीले सिरहामा एक वृद्धको मृत्यु हुनुकासाथै ठूलो संख्यामा घर टहराहरु उडाएको थियो । हुरीले विद्युतका पोलहरु समेत भाँचेकाले कतिपय गाउँमा विद्युत सेवा समेत अवरुद्ध भएको छ । मिचैया विद्युत प्रशारण केन्द्रका प्रमुख शिवराम यादवले विद्युत सेवा सुचारु गर्न अझै एक साता लाग्ने बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »