डोम समुदायले मुख्यमन्त्री राउतसमक्ष मागे थातथलो र रोजगारी

प्रकाशित समय 6:37:00 PM
भरत जर्घामगर
सिरहा, १२ जेष्ठ । बाँसजन्य सामग्रीको बेचबिखन र सुंगुर बंगुर पालन गरी जीविकोपार्जन गर्ने दलित समुदायमै पनि अपहेलित डोम समुदायले थातथालोको ग्यारेन्टी सहित रोजगारी र अन्य समुदाय सरह नागरिक हक अधिकार पाउनुपर्ने प्रदेश  सरकारसँग माग गरेका छन् ।
डोम उत्थान समाजले शैक्षिक, सामाजिक र आर्थिक रुपले अत्यधिक पिछडिएको यो समुदायको उत्थान गर्न राज्यले नै विशेष व्यवस्था लागू गर्नुपर्ने माग गरेका हुन् । आर्थिक, राजनीतिक रुपमा उत्पीडित उनीहरुले सामाजिक, सांस्कृतिक रुपमा पनि उत्पीडनमा परेको भन्दै उत्थानका लागि राजनीतिक प्रतिनिधित्व सुनिश्चितताको माग गरेका छन् । दलितभित्रका पनि अत्यन्त कमजोर र पुछारमा रहेका अल्पसंख्यक डोम समुदायले प्रदेश २ को सरकारसँग सामजिक, सांस्कृतिक, राजनीतिक रुपले सबैभन्दा पुछारमा रहेका आफूहरुलाई मूलधारमा ल्याउन राजनीतिक प्रतिनिधित्वसहित १४ बुँदे माँग गरेको छ । 
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत समक्ष माँग पत्र पेस गर्दै समाजमा दलितभित्र पनि अपहेलित मधेसी दलित डोम समुदायको उत्थानका लागि राज्यको हरेक निकाय सेना, प्रहरी र प्रशासन लगायत निजमति सेवामा रोजगारीका लागि डोम समुदायलाई विशेष आरक्षणको व्यवस्था गर्न माग गरेका छन् । डोम उत्थान समाज प्रदेश २ का अध्यक्ष युक्तिलाल मरिकले अधिकांश डोम समुदाय भूमिहीन सुकुम्बासी रहेकाले खेतीयोग्य जग्गा र थातथलोका लागि बसोबास ग्यारेन्टी सहित स्वरोजगारका लागि विना धितो बैंकिंग ऋण प्रवाह गर्न मुख्यमन्त्री राउत समक्ष समेत माग पत्र प्रस्तुत गरिएको जानकारी दिए ।   
यसअघि लहानमा आयोजित डोम समुदायको प्रदेशस्तरीय भेलाले कानूनी रुपमा दण्डनीय रहेको जातीय छुवाछुत कायमै रहेकाले छुवाछुत गर्नेलाई कारबाहीका लागि सामाजिक अगुवा र राजनीतिक दलका नेताहरुको सहयोगको माग गर्दै भनेको छ, ‘डोमहरुमाथि हुँदै आएको भेद्भाव अन्त्य गर्न रक्षात्मक र अन्तरक्रियात्मक दुवै खाले अभियान सञ्चालन गरिनुपर्छ ।
यस्तै, शिक्षामा सबैभन्दा पछि परेका डोमहरुको शिक्षा तथा साक्षरताका लागि स्थानीय तह तथा विद्यालयहरुको भूमिका बढ्नुपर्ने माग गर्दै भेलाले बाँसजन्य सामग्री निर्माण तथा बंगुरपालन गर्ने डोमहरुको सीपको आधुनिकीकरणका लागि राज्यको सहयोगको माग गरेको छ । त्यसका अतिरिक्त बालविवाहको कुरीतिमा फसेको डोम समुदायको जागरणका लागि राज्यले नै विशेष ध्यान दिनुपर्ने आग्रह गर्दै शिक्षा मन्त्रालयमार्फत चिकित्सक र इन्जिनियर अध्ययन का लागि निजी विद्यालय बाट पढेकाहरुलाई पनि अवसर दिइनुपर्ने माग गरिएको छ । 
जनगणना २०६८ को तथ्यांक अनुसार नेपालमा डोम र मेस्तर समुदायको जनसंख्या १७ हजार २ सय ७१ छ । ती मध्ये सिरहा, सप्तरी सहित प्रदेश २ का ८ जिल्लामा मात्रै डोम र मेस्तर समुदायको जनसंख्या १३ हजार २ सय ४३ छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »