विद्यालयमा पुगेन पाठ्यपुस्तक

प्रकाशित समय 10:18:00 PM
रामबाबु यादब
सिरहा, २२ वैशाख । विद्यार्थी भर्ना हुने बित्तिकै पाठ्यपुस्तक उपलब्ध गराउने सरकारी नीति विपरित सिरहाका तीन स्थानीय तहले अझसम्म आफू अन्तर्गत का विद्यालयहरुमा पाठ्यपुस्तक पठाएका छैनन् ।
सिरहास्थित शिक्षा विकास तथा समन्वय इकाईले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउन बारम्बार अनुरोध गर्दा पनि सिरहाको कल्याणपुर नगर पालिका, औरही गाउँपालिका तथा नरहा गाउँपालिकाले विद्यालयलाई पाठ्यपुस्तक वापतको रकम उपलब्ध गराएको छैन । स्थानीय तहले पाठ्यपुस्तक वापतको रकम उपलब्ध नगराउँदा कल्याणपुर नगर पालिकाका ३० वटा, औरही गाउँपालिकाका १५ वटा तथा नरहा गाउँपालिकाका १३ वटा गरी ५८ वटा विद्यालयहरुमा पठन पाठन अवरुद्ध छ । अवरुद्ध भएका विद्यालयले विद्यार्थीलाई पुरानो पाठ्यपुस्तक दिएर पठनपाठन सुचारु गराउने तयारी गरेको छ ।
केही विद्यालयले आफ्नै श्रोत र साधनको प्रयोग गरेर उधारोमा पाठ्यपुस्तक किनेका छन् भने केहीले मौज्दात र पुरानो पाठ्य पुस्तकको भरमा विद्यालयलाई पढाइरहेका छन्, शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख महेन्द्र महतोले भने, आफ्नो श्रोत साधन र मौज्दात समेत नरहेको अधिकांश विद्यालय हरु भने अहिलेसम्म सुचारु हुन सकेका छैनन् ।
कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई केही दिन अगाडि अख्तियारको टोलीले पक्राऊ गरेको कारण त्यहाँको आर्थिक गतिविधि ठप्प छ भने औरही गाउँपालिका मा अध्यक्ष तथा उपाध्यक्षबीच विवाद चलिरहेको छ । आर्थिक क्रियाकलाप सुचारु भएको नरहा गाउँपालिकाले आफू अन्तर्गतको १३ वटा विद्यालयहरुमा पाठ्यपु स्तक उपलब्ध नगराएको कुरा समन्वय इकाईले समेत बुझ्न सकेको छैन ।
पाठ्यपुस्तक समयमा उपलब्ध हुन नसकेपछि इकाईको पहलमा तीन वटै स्थानीय तहका श्रोत व्यक्तिहरुमार्फत भएको प्रधानाध्यापकको भेलाले पाठ्यपुस्तक उपलब्ध गराउन आ–आफ्नो स्थानीय तहका प्रमुखहरुसँग भेटेर समस्या समाधानका लागि चाँडो पहल गर्न दवाव दिने निर्णय गरिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »