प्रदेशसभा परिसरमै विद्यार्थीको नाराबाजी

प्रकाशित समय 8:47:00 PM
शैलेन्द्र महतो
धनुषा, १३ असार । आफूहरुको समस्याप्रति स्थानीय प्रशासन र सरकार गम्भीर नभएको भन्दै जानकी मेडिकल कलेजका विद्यार्थीहरुले प्रदेश नम्बर २ प्रदेशसभा परिसरमा नाराबाजी गरेका छन् ।
प्रदेशसभा बैठक बसेको बेला कलेजका विद्यार्थीहरु बुधबार प्रदेशसभा परिसर भित्रै गएर प्रदर्शन गरेका हुन् । दर्जनौको संख्यामा प्रदेशसभा परिसरमा गएका पीडित विद्यार्थीहरुले कलेज सुचारु गर्न माग गर्दै नाराबाजी गरेर प्रदेशसभाभित्र पस्न खोजेपछि स्थानीय प्रहरी र मर्यादापालकले रोकेका थिए ।
गएको वैशाख २३ गतेदेखि १४ महिनाको तलब र पाँच वर्षको सञ्चय कोषको रकम माग गर्दै साढे ४ सय कर्मचारीहरु कलेज तथा अस्पतालको सम्पूर्ण सेवा ठप्प गरी आन्दोनलमा उत्रेपछि विद्यार्थीहरु पठनपाठनबाट बञ्चित भएका छन् । कर्मचारीको आन्दोलनले कलेज व्यवस्थापन पक्ष समेत फरार भएपछि विद्यार्थीहरु बिचल्लीमा परेका छन् । उनीहरु पठनपाठनको माग गर्दै गएको असार १ गतेदेखि व्यवस्थापक विरुद्ध आन्दोनलमा उत्रेका छन् ।
आफुहरुलाई अन्योलमा छाडेर वेपत्ता भएका व्यवस्थापन पक्षललाई कारबाही गर्न र पठनपाठनको माग गर्दै उनीहरु प्रदेशसभा अगाडि नाराबाजी गरेका छन् । गएको असार ८ गते कलेजमा जडान भएको बिजुलीको लाइन समेत विद्युत प्राधिकरण सखुवा महेन्द्रनगर शाखाले काटेपछि होस्टेलमा बसेर पढ्ने विद्यार्थीहरु झनै समस्यमा परेका छन् । होस्टेलमा बसेर पढ्दै गरेका विद्यार्थीहरुलाई खानेपानी, सरसफाई, खानपिनको समस्या भए पनि सरकार र सम्बन्धित निकाय मुकदर्शक भएको गुनासो गरे ।
आन्दोलित विद्यार्थी र कर्मचारीहरु संयुक्त रुपमा प्रदेश २ सरकारलाई समेत समस्या समाधानका लागि गुहार गरेका थिए ।  प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत र आन्त्रिक मामिला तथा गृहमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कलेजको समस्या समाधानका लागि डेलिगेशन पुगेर ज्ञापन पत्र समेत बुझाएका थिए ।
व्यवस्थापन पक्षले समेत कर्मचारीको तलबभत्ता भुक्तानी गरेर विद्यार्थीलाई पठनपाठनको व्यवस्था गर्ने आश्वासन समेत दिएको थियो । तर पछि व्यवस्थापन पक्ष नै फरार भएपछि विद्यार्थीहरु संकटमा परेका छन् भने प्रदेश सरकारले समेत केही गर्न सकेका छैनन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »