भगवान् भरोसामा आँप

प्रकाशित समय 8:16:00 PM
शम्भु यादव
लहान, ३ असार । सिरहाको लहान नगरपालिका वडा नम्बर २४ झुटकीका रामपरीक्षण महतोलाई आँप बेच्न भ्याइनभ्याइ छ । उनी आँप बेच्न दिनहुँ लहान बजार पुग्छन् । २५ हजार रुपैयाँको आँप बेचिसकेका उनले अझै २५–३० हजारको बोटमै रहेको अनुमान सुनाए ।
‘यो वर्ष त आधा आँप हुरीले क्षति र्पुयायो नत्र १ लाखभन्दा बढी आम्दानी हुन्थ्यो , उनले भने, ‘हुरीका कारण आँप उत्पादन घटे पनि अन्य वर्षको तुलानमा बढेकै छ ।  सबैभन्दा स्वादिष्ट मानिने मालदह आँप प्रतिकिलो ३० र अन्य आँप २० देखि २५ रुपैयाँका दरले मात्र बिक्री हुँदा कम आम्दानी भएको उनको भनाइ छ ।
झुटकीकै लालबहादुर महतोले चार बिघामा आँपको खेती गरेका छन् । ३ बिघाको आँप तीन वर्षका लागि उनले एकै पटक बेचिसकेका छन् । एक बिघाको आँप भने आफैं खान राखेको उनले सुनाए । ‘तीन बिघाको आँप साढे ५० लाखमा एकमुष्ठ बेचें , उनले भने, ‘फलोस् वा नफलोस, घाटा होस् वा नाफा, मलाई कुनै मतलब छैन । जसले किनेको छ उसले नै सबै थोक गर्छ ।  आँप बोटमै खरिद गर्न व्यापारी आइपुग्ने गरेको उनले सुनाए । भने, ‘भारतीय व्यापारी पनि आउँछन् तर मैले नेपालकै व्यापारीलाई बेचेको छु ।  बजार लगेर बिक्री गर्न झन्झट हुने भएकाले तीन वर्षका लागि जिम्मा दिएको उनको भनाइ छ ।
उनले १५ वर्षअघि प्रतिगोटा ३० रुपैयाँमा किनेर १० हजार लगानीमा ४ बिघामा आँप रोपेको सुनाए । ‘आँप रोपेको चार वर्षमै फल्न थाल्यो , उनले विगत सम्झिए, ‘पुँजी त पहिलो वर्षको फलबाटै असुलउपर भयो । अहिले बिनालगानी बर्से्नि केही न केही आम्दानी भइहाल्छ ।  उनका अनुसार यहाँ उत्पादित आँप काठमाडौं, पोखरा, बुटवल, झापा, इलामलगायत जिल्ला र भारत बिहारका विभिन्न सहर पुग्ने गरेको छ । आँप बिक्रीबाट हुने आम्दानीले नै परिवार चल्ने गरेको उनको भनाइ छ । ‘परिवारका सबै सदस्यको इच्छा आँप बिक्रीबाट हुने आम्दानीबाटै पूरा भइरहेको छ , उनले भने, ‘आँप खेती नगरेको भए नुन, तेल र लत्ताकपडा किन्न गाह्रो हुन्थ्यो । 
अर्का किसान मि श्री यादवका अनुसार आँप एक वर्ष बिराएर फल्ने गरे पनि फाइदा नै हुन्छ । तीन बिघा जग्गामा आँपको खेती गरेका उनले यो वर्ष ५०–६० रुपैयाँ हजार आम्दानी हुने सुनाए । ‘अहिलेसम्म बेचेको त छैन तर दिनहुँ व्यापारी आउँछन , उनले भने, ‘कसैले ५० त कसैले ६० हजार भनिरहेका छन् ।  अहिले आँप एकदमै सस्तोमा बिक्री भइरहेकाले केही समय पर्खिने र त्यसपछि बिक्री गर्ने उनको योजना छ । बम्बई, मालदह, सपेता, दसहरी र कलकतिया प्रजातिको आँपको खेती लगाएको सुनाउँदै उनले भने, ‘यहाँको मालदह र सपेता आँप प्रसिद्ध छ । यी प्रजातिका आँप सबैभन्दा स्वादिष्ट हुन्छन् । 
बोटमा मञ्जरी लागेदेखि आँप पाकेसम्म के–के गर्ने भनेर सरकारले प्राविधिक ज्ञान दिए उत्पादन दोब्बर हुने विश्वास । झुटकी गाउँका प्रायः स्थानीयले आफ्ना अधिकांश जग्गामा आँप खेती लगाएका छन् । पानी नलाग्ने भिठ जग्गाका कारण आँप खेती लगाएको किसान बताउँछन् । आँप खेतीका लागि भिठ जग्गा उपयुक्त मानिन्छ । किसान तथा अधिकारकर्मी राजकुमार राउतका अनुसार पानी नलाग्ने तथा सिँचाइ अभाव हुने भएकाले भिठ जग्गामा धान र गहुँजस्ता अन्न बाली उब्जाउ हुँदैन ।
यहाँका किसानले आँप बेचेरै परिवारको गुजारा चलाउनुका साथै अन्य आवश्यकता पनि पूरा गर्ने गर्छन् । कतिपय स्थानीय आँप बेचेर छोराछोरीलाई उच्च शिक्षा दिन सफल भएका छन् भने कतिपयले करोडौंको धन जोडेका छन् । लहान बजारमा अहिले यही ठाउँमा उत्पादित करिब ८० प्रतिशत आँप पुग्छ । यहाँका सपेता र दसहरी आँप खोजेर कोसेलीका रूपमा टाढाका आफन्तकहाँ र्पुयाउँछन् । पूर्वबाट काठमाडौं जाने अधिकांश यात्रुले पनि मालदह र सपेता आँप खरिद गरेर लैजाने गरेका छन् ।
आँपको अचार आँपको अचार बनाएर बिक्री गरी यहाँका किसानले मनग्य आम्दानी गर्ने गरेका छन् । हुरीले चैत २६ गते झारेका आँपका चिचिला सानो भएर किसानले सदुपयोग गर्न सकेनन् । त्यसपछिका हुरीले झारेका आँपको चिचिला ठूल्ठूला भएका कारण स्थानीयले त्यसको आमिल (अचार परिकार) बनाए । यहाँको बजारमा प्रतिकिलो ४० देखि ६० रुपैयाँमा आमिल खरिदबिक्री हुने गरेको छ ।
आमिल भारतीय बजारसम्म पनि पुग्ने गरेको छ । लहान नगरपालिका वडा नम्बर १४ बस्तीपुरका सफिजा खातुनले आँपको चिचिला चिरी सुकाएर बनाएकाले आमिल भारतीय बजार लौकहामा नुनसँग साटेको बताइन् । भनिन, ‘आँपको चिचिलाबाट बनाएको एक किलो आमिलमा चार किलो नुनमा साटें ।  आमिल बनाएर राख्दा तरकारीका रूपमा पनि उपभोग गर्ने गरेको उनले सुनाइन् । उनका अनुसार आमिलबाट विभिन्न कम्पनीले अमिलो खानेकुरा पनि बनाउँछन् ।
प्राविधिक ज्ञान अभाव आँप खेती सम्बन्धमा प्राविधिक ज्ञान नभएर उत्पादन कम हुने गरेको किसान बताउँछन् । ‘यो ठाउँ आँप उत्पादनको पकेट क्षेत्र हो । यहाँ सबैले आँप खेती गर्छन , स्थानीय किसान रामपरीक्षण महतोले भने, ‘तर, प्राविधिक ज्ञान कसैलाई छैन ।  आँप खेती भगवान् भरोसामा भइरहेको उनले सुनाए । सरकारले आँपको बोटमा मञ्जरी लागेदेखि आँप पाकेसम्म के(के गर्ने भनेर प्राविधिक ज्ञान दिए उत्पादन दोब्बर हुने उनको विश्वास छ ।
अर्का किसान मि श्री यादवले पनि प्राविधिक ज्ञान नहुँदा आँप उत्पादन बढाउन नसकेको बताए । सरकारले हरेक वर्ष कृषिमा लगानी बढाएको समाचार सुनिए पनि आजसम्म कसैबाट सहयोग नपाएको उनको गुनासो छ । आवश्यक जानकारी नपाउँदा बर्से्नि लाखौं रुपैयाँबराबरको क्षति हुने गरेको उनले बताए । ‘कहिले चिचिलामै किरा लाग्न थाल्छ त कहिले पाक्ने बेला सर्न थाल्छन, उनले भने, ‘आँप उत्पादन बढाउन किसानका लागि तालिमको व्यवस्था सरकारले गरिदिनुप¥यो । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »