गाउ“गाउ“मा बाटो र पुल बन्ने भएपछि स्थानीयबासी खुसी

प्रकाशित समय 9:12:00 PM
रामबाबु यादब
सिरहा, ४ असार । कहिल्यै नसोचेको पक्की सडक र पुल स्थानीय तहमार्फत बन्ने भएपछि सिरहाका सखुवानन्कारकट्टी गाउँपालिकाको स्थानीयबासीमा खुशीको सीमा छैन ।
सिरहाको सखुवानन्कारकट्टी गाँउपालिकाको वडा नम्बर ३ मा पर्ने महदेवा पोर्ताहादेखि वडा नम्बर १ मा पर्ने मौवाही हुँदै लक्ष्मीपुर पतारी गाउँपालिकासम्म जोडिने सात किलोमिटर सडक खण्डमध्ये चालु आर्थिक वर्षमा दुई किलोमिटर सडक कालोपत्रे हुन थालेको हो ।
पोर्ताहा र मौवाहीबीचमै पर्ने कटनियाँ खोलामा पनि चालु आर्थिक वर्षमै पाँच करोडको लागतमा पक्की पुल बनाउन बोलपत्र सूचना प्रकाशन गर्ने तयारी भइसकेको छ । यसै आवदेखि सुरु हुने उक्त पुल आउदो १८ महिनाभित्र निर्माण सम्पन्न भइसक्ने बताइएको छ । आफ्नै गाउँमा लोकमार्गको जस्तो कालोपत्रे सडक र पक्की पुल बन्न लागेको देखेपछि स्थानीयबासीको खुशीको सीमा छैन ।
कटनियाँमा पुल र सडक बाटो नहुँदा मौवाहीदेखि लक्ष्मीपुर पतारी गाउँपालिकासम्मका बासिन्दा घुमाउरो बाटो प्रयोग गर्दै १५ किलोमिटरको बाटो तय गरी लहान आइपुग्नुपर्ने बाध्यता थियो । कटनियाँमा पुल बनेपछि त्यहाँबाट लहान आइपुग्न छ किलोमिटरको बाटो तय गर्नुपर्छ तर अहिलेसम्म बाटो नखुल्दा एम्बुलेन्स, तथा वारुणयन्त्र जस्ता अति आवश्यकीय साधन पनि आहोर दोहोर गर्न नसकेका कारण वर्षायाममा ती गाउँका बिरामी र सुत्केरीले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था थियो ।
सखुवानान्कारकट्टी गाउँ पालिकामा आर्थिक बर्ष २०७४÷०७५ मा विकास योजना अन्तर्गत मिर्जापुर कटनियाँ खोलादेखि लक्ष्मीपुर गाउँ पालिकासम्म जोड्ने सात किलोमीटर सडक तीन चरणमा कालोपत्रे गर्ने योजना रहेको सखुवानन्कारकट्टी गाँउ पालिकाका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए । उक्त सडक खण्डले दुई वटा गाउँपालिकालाई सेवा प्रदान गर्ने भएकोले यसलाई भविष्यमा रि· रोडको रुपमा रुपान्तरण गरिने अध्यक्ष यादवको योजना छ ।
यस्तो विकास हामीले नगरपालिकाको क्षेत्रभित्र मात्र देखेका थियौ तर अब गाउँपालिकाभित्र यस्ता पुर्वाधार स्थानीय तहमार्फत निर्माण हुन थालेपछि हामीलाई साँच्चि नै सिंहदरवार गाउँमै आएको जस्तो लागेको छ, सखुवानानकरकट्टी–१ स्थित मौवाहीका स्थानीय बासिन्दा भोगेन्द्र ठाकुरले भने, पहिले गाविस हुँदा त यस्तो विकासका योजना कल्पनामै सीमित हुन्थ्यो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »