छुवाछूत ऐन कार्यान्वयन का लागि अभियान

प्रकाशित समय 9:20:00 PM
भरत जर्घामगर
सिरहा, २० जेष्ठ । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन लागू भएको आठ वर्ष बितिसक्दा पनि प्रहरी, प्रशासन संयन्त्रको उदासीनता कारण कार्यान्वयन हुन नसकेको ठहर गर्दै सिरहामा सरोकारवालाले प्रहरीलाई ऐन बारेमा जानकारी गराउने अभियान सुरु गरेका छ ।
ऐन लागू भए पनि कार्यान्वयन हुन नसक्दा सिरहामा जातका आधारमा दलित समुदायमाथि हुने छुवाछूत, उत्पीडन र हिंसाका घटनामा व्यवहारमा कमी आउन नसकेको ठहर गर्दै कार्यान्वयन गर्ने निकाय प्रहरीलाई ऐनबारेमा अभिमुखीकरण सुरु गरेको हो ।
दलित जनकल्याण युवा क्लब लहानले ‘जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐनको प्रभावकारी कार्यान्वयनका लागि जिल्लाभरिका प्रहरी कार्यालयका मुद्दा फाँटका प्रहरी जवान, अधिकृत र महिला सेलका प्रहरीलाई ऐन कार्यान्वयनका लागि अभिमुखीकरण गरेको हो । जिल्लामा दलितमाथि जातीय भेदभाव तथा छुवाछूत लगायत अभद्र व्यवहार गरिँदासमेत प्रहरीले ऐन अनुसार जाहेरी दर्ता गराउनुको साटो मिलापत्र गराउने चलनकै कारण ऐनको कार्यान्वयन हुन नसकेको दलित अधिकार कर्मीको आरोप छ ।
दलित जनकल्याण युवा क्लब का कार्यकारी निर्देशक विनोद विसुन्केले मिलापत्र गराउने चलनकै कारण जातका आधारमा दलित समुदायमाथि हुने छुवाछूत, उत्पीडन र हिंसाका घटनामा कमि आउन नसकेको बताए । जिल्ला प्रहरी कार्यालय सिरहाको तथ्यांकमा समेत यसवर्ष जातीय भेदभाव तथा छुवाछूत कसुरको जाहेरी दर्ता भएको छैन । गतवर्ष जातीय भेदभाव तथा छुवाछूतका दुई मुद्दामा मात्र दर्ता भए ।
यस्ता मुद्दामा सरकारवादी हुन्छ । कतर सिरहामा एक दर्जनभन्दा बढी जातका आधारमा दलित समुदायमाथि दुव्र्यवहारका घटना भएको विसुन्केको दाबी छ । सरकारले राजपत्रमा प्रकाशित गरी जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ जेष्ठ १८ गते जारी गरेको थियो । त्यसैगरी २०६३ जेष्ठ २१ गते नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरिसकेको छ ।
जातीय भेदभाव र छुवाछूतको उत्पीडनमा अपेक्षित सुधार नहुनुमा विभिन्न घोषणा र प्रतिबद्धताअनुरूप राज्य संयन्त्रद्वारा व्यवहारमा प्रभावकारी कार्यान्वयन नहुनु, आमसमाजमा यसको महसुस र स्वीकारोक्ति नबढनु, प्रतिबद्धता र नीतिअनुसार राजनीतिक दलले आफ्ना संयन्त्र र कार्यकर्ता पंक्तिलाई स्पष्ट कार्यक्रमका साथ चलायमान गराउन नसक्नु र कतिपय घटनामा पीडकलाई राजनीतिक संरक्षण समेत प्राप्त हुनु नै मुख्यकारकका रूपमा रहेकाले कार्यान्वयन निकाय प्रहरीलाई अभिमुखी करण अभियान सुरु गरिएको उनले जानकारी दिए । 
अभिमुखीकरण अभियानमा सहभागी इलाका प्रहरी कार्यालय लहानका महिला सेल र प्रशासनका अमृता गुरुङ र प्रहरी हवल्दार वीरबहादुर धिमालले अभिमुखीकरण अभियानमा संलग्न भएपछि ऐन बारेमा पूर्ण जानकार भएको र जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन कार्यान्वयनमा सक्रिय हुने बताए ।
महिला हिंसा बढ्दो समाजमा बढ्दो उच्छृंख्लता, पितृसत्तात्मक सोच र पुरुषमा बढ्दो अपराधिक मनोवृत्ति नै महिला हिंसा बढोत्तरीको मुख्य कारक रहे पनि कार्यान्वयन निकायले प्रभावकारी रूपमा कडाइ नगरेको भन्दै प्रहरीलाई महिला हिंसा कानुन बारे पनि अभिमुखी करण दिन सुरु गरेको छ ।
घरेलु महिला हिंसाविरुद्ध ऐन २०६५ लागू भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेकै कारण महिला हिंसा न्यूनीकरणको साटो बढ्दो रहेको भन्दै प्रहरीलाई ऐन कार्यान्वयनका लागि जानकारी दिइएको थियो । सिरहामा आफनै नातेदार, परिवारको सदस्य पति, सासू, ससुराबाट बढी महिला हिंसा हुँदै आएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »