भारतीय चिकित्सकबाट ग्यारेन्टी उपचार का नाममा ठगी

प्रकाशित समय 2:11:00 AM
मिथिलेश यादव
लहान, ८ असार । शनिबार दिउँसो १ बजेको समय। लहान ८ स्थित शिवम् मेडिसिन सेन्टरसँगै रहेको नागेश्वरी चाँदसी दबाखाना बिरामी र डाक्टरबीच कुराकानी भइरहेको छ । बिरामी हुन् सिरहा कर्जन्हा नगरपालिका बन्दिपुरका श्रवण यादव (५५)। त्यस्तै चिकित्सक हुन् भारत कलकत्ता नदिया थाना घुल्ला ग्रामका विद्युत रोई । उनीहरुबीचको संवाद यस्तो छ ।
दव  ः उपचार गराउन थालेको महिना दिन भइसक्यो तर घाउ बीसको उन्नाईस (सन्चो भएको छैन) भएको छैन। रोई स् ग्यारेन्टी लिएको छु, ठीक हुन्छ । नभए पैसा फिर्ता गर्छु । यादव स् महिना दिनमा त अलिकति भए पनि सन्चो हुनुपर्ने हो नि डाक्दर साहेब । रोई स् यहाँ ग्यारेन्टीका साथ उपचार हुन्छ भनेर बाहिर बोर्डमै लेखिएको छ । चिन्ता नगर्नुस, ठीक हुन्छ ।
लहान ८ स्थित शिवम् मेडिसिन सेन्टरमै झुन्ड्याइएको छ नागेश्वरी चाँदसी दबाखाना लेखिएको बोर्ड । बोर्डमा बाबासिर, भगन्दर, हाइड्रोसिल, पिनासको बिनाअपरेसन ग्यारेन्टी इलाज भन्ने पनि लेखिएको छ । यसको विज्ञापन स्थानीय रेडियोमा पनि बज्छ । गाउँगाउँमा पर्चापमप्लेट टाँसिएको छ । भगन्दर (मलद्वारको घाउ) बाट पीडित यादव यही प्रचार सुनेर जेठ पहिलो साता उपचार गराउन नागेश्वरी चाँदसी दबाखाना पुगे । रोईले जाँच गरेपछि ६३ हजार रुपैयाँ खर्चमा रोग निको पारिदिने ग्यारेन्टी गरे । ‘ग्यारेन्टी निको हुन्छ त?  यादवले पटकपटक प्रश्न गरे । रोईले चिन्तै नलिनुस् च्वाट्टै पारिदिन्छु भन्दै यादवलाई आश्वस्त पारे । यादवले ६० हजार लिन आग्रह गरे । राईले यादवको आग्रह मानिहाले । तत्काल यादवले ४३ हजार रुपैयाँ बुझाए । ‘झोल औषधि मलद्वारमा लगाइदिए, औषधीका केही चक्की खानलाई दिए , यादवले भने ।
‘करिब एक महिनादेखि उपचारमा छु तर मेरो पीडा उस्तै छ , यादवले थपे । रोडियोमा प्रचार छ, गाउँगाउँमा पमप्लेट टाँसिएको छ । राम्रै उपचार हुँदो हो भनेर आएका यादव अहिले भने सशंकित छन् । उनले नागरिकसँग भने, ‘अहिलेसम्म मेरो घाउ ज्युँका त्युँ छ, गलत ठाउँमा फसेजस्तो पो लाग्न थाल्यो ।
यादवका अनुसार उपचारपछि डाक्दरले पुर्जी (प्रेस्क्रिप्सन) पनि दिएनन् । ‘साहेबले पुर्जा पनि दिएन । यहीं रहेको औषधि पसलबाट औषधि दिए , उनले भने, ‘अहिलेसम्म ४३ हजार दिइसकेको छु । बाँकी रुपैयाँ निको भएपछि दिने भनेको छु ।
बिएएमएस पढेको बताउने रोईले आफूलाई लहान ८ का राजाराम महतोले यहाँ ल्याएको बताए । उनका अनुसार नागेश्वर चाँदसी दबाखानाका सञ्चालक उनै महतो हुन् । आफू भारतीय भएकाले नेपालमा उपचार केन्द्र खोलेर उपचार गर्न नमिल्ने भएकाले परिचय लुकाएर काम गर्दै आएको रोईले बताए । उनले बिरामीलाई प्रेस्क्रिप्सनसमेत लेख्दैनन् । उनको टेबलमा प्रेस्क्रिप्सन प्याड नै छैन । ग्यारेन्टीसाथ उपचार हुने भनी प्रचार गरिएको यो दबाखानामा न विशेषज्ञ चिकित्सक छन, न त भौतिक पूर्वाधार नै । सानो कोठामा बिरामीको चेकजाँच हुँदै आएको छ । रोईका अनुसार नागेश्वरी चाँदसी दबाखाना लहानमा मात्र नभई विराटनगरलगायत अन्य सहरमा समेत छ ।
लाचार प्रहरी प्रशासन लहानमा नागेश्वरी चाँदसी दबाखाना इलाका प्रहरी कार्यालय लहानको सामुन्ने ५ सय मिटर दूरीमा छ । यसरी अनधिकृत रुपमा उपचार भइरहेको बारे यहाँका प्रहरी अधिकारीलाई भने पत्तै छैन । डिएसपी गणेश चन्दले त लाचारी नै व्यक्त गरे । उनले भने, ‘म आफैं लहानको एक डेन्टल क्लिनिकको गलत उपचारको सिकार भएँ । गलत उपचारको सिकार आफैं भए पनि केही गर्न सकिएन । 
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नागेश्वर यादवका अनुसार भारतीय चिकित्सकले नेपालमा स्वीकृति नलिई उपचार गर्न पाउँदैनन् । ‘भारतीय स्वास्थ्यकर्मीलाई राखेर अनधिकृत रुपमा उपचार गर्न लगाउने मेडिकल सेन्टर र यसका प्रोपराइटरसमेत कारबाहीको भागीदार बन्छ , उनले भने, ‘त्यसमाथि ग्यारेन्टीसाथ उपचार भनी प्रचार गरेर सर्वसाधारणलाई भ्रमित बनाउनु थप गैरकानुनी हो । 
नेपाल मेडिकल काउन्सिल ऐनले अस्पतालमा उपलब्ध हुने वैज्ञानिक तथा प्रामाणिक चिकित्सा सेवाबाहेकका विषयमा सार्वजनिक विज्ञापन गर्न रोक लगाएको डा. यादवले बताए । यसविपरीत अनुगमनकारी निकायको कमजोरीको फाइदा उठाउँदै ग्यारेन्टीसाथ उपचार गर्ने दाबा गरिएका विज्ञापन गरेर बिरामीलाई भ्रमित बनाउने धन्दा फस्टाउँदैछ । त्यस्तै विज्ञापनको भ्रममा परेर श्रवण यादव गलत ठाउँमा उपचार गराउन पुगेका छन् ।
‘स्वास्थ्य उपचारमा ग्यारेन्टी भनेर विज्ञापन गर्नु सरासर ठगी हो , जिल्ला स्वास्थ्य प्रमुख यादवले भने, ‘यस्ता विज्ञापनमाथि नियन्त्रण गरेर सर्वसाधारणलाई जोगाउन जरुरी छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »