जनकपुरमा प्रहरी र स्थानीय युवाबीच झडप

प्रकाशित समय 4:53:00 AM
जनकपुर, ३० जेष्ठ  । जनकपुरमा प्रहरी र स्थानीय युवाहरूबीच झडप भएको छ । केही दिनअघि सुत्केरीको मृत्यु भएको घटनालाई लिएर युवाहरू बुधबार बिहानैदेखि जनकपुरका भानुचोक र जनकचोकमा नाराजुलुसमा उत्रिएपछि स्थिति तनावपूर्ण भएको हो ।
प्रदर्शनका क्रममा स्थिति उग्र बन्ने देखेपछि प्रहरीले करिब १५ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । प्रदर्शनकारीहरूले जनकपुर अञ्चल अस्पतालमा सुत्केरीको मृत्यु भएको घटनाको छानबिन हुनुपर्ने र मेडिकल सुपरिटेन्डेन्ट रामपरीक्षण यादवलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन् ।
के हो घटना ? गत शुक्रबार शल्यक्रिया गरी सुत्केरी भएकी जनकपुर उपमहानगरपालिका–१ पुलचोककी २५ वर्षीया सोनियादेवी ठाकुरको उपचारका क्रममा ज्यान गएको थियो । चिकित्सकको लापरवाहीका कारण उनको मृत्यु भएको परिवारजन र आफन्तको आरोप छ । उक्त घटनाको अनुसन्धान नगरिएको भन्दै तीन दिनअघि एक समूहले जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट यादवलाई उनकै कार्यकक्षमा कालोमोसो दलेको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको थियो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले राकेशविक्रम साह, रमेश यादव, अखिल मधिकर्मी, अमित पाठक, विपिन साह र विजय मेहेतालाई पक्राउ गरेको छ । राकेशविक्रम साह तरुण दल धनुषाका उपाध्यक्ष हुन् । पक्राउ परेका ६ जनामाथि प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको छ ।
आज प्रदर्शनमा उत्रिएकाहरूले ती तीनजनालाई रिहा गर्नुपर्ने, सुत्केरीको ज्यान गएको घटनाको छानबिन हुनुपर्ने र मेडिकल सुपरिटेन्डेन्ट यादवलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »