किसानलाई धान खेतीको चटारो ६० प्रतिशत खेतमा रोपाइ

प्रकाशित समय 12:02:00 AM
राम बाबु यादब
सिरहा, २ साउन । असार महिनाभरी पानी परी मौसमले साथ दिएपछि सिरहाका किसानलाई अहिले धान खेतीको चटारो परेको छ ।
जिल्ला कृषि विकास कार्यालय सिरहाले अहिलेसम्म सिरहामा ६० प्रतिशत खेतमा रोपाई भइसकेको जनाएको छ । विगतका वर्षहरुमा वर्षाको अभावमा समयमा रोपाई गर्न नपाउने सिरहाका किसानले यसपालि असारको पहिलो सातादेखि वर्षा हुन थालेपछि सबै काम छोडेर धान खेतीमै समय दिन थालेका छन् । सोही कारण वर्षाको पानीले खेत भिजाउने बित्तिकै केहीले भर्खर खेत जोत्दै छन् भने बेर्ना लगाएका अधिकांश किसानले धान रोपाईं समेत समाप्त गरिसकेका छन् ।
जिल्ला कृषि विकास कार्यालय सिरहाका वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादवले सिरहाको ६० प्रतिशत भूभागमा धानको रोपाईं भइसकेको जानकारी दिएको छ । ‘साधारणतया असार १५ गतेदेखि रोपाई सुरु हुने यहाँ पानी पर्ने बित्तिकै किसानले असार १५ पनि पर्खदैनन् , वरिष्ठ कृषि विकास अधिकृत यादवले भने, सिरहाको अधिकांश भागमा सिंचाईको अभाव छ तर पनि आकाशले साथ दिएपछि किसानले आफ्नो रोपाईको समय लाई बर्बाद हुन दिएका छैनन् । 
अब केही स्थानमा बाँकी रहेको रोपाई पनि साउन १५ गतेसम्म भइसक्ने हाम्रो अनुमान छ, यादवले भने, बेर्ना ढिलो गरी लगाएका किसानहरुको मात्र रोपाई अबेर भएको हो त्यो पनि १५ दिनभित्र सकिन्छ । कुल एक लाख २२ हजार सात सय ९७ हेक्टर भुभाग रहेको सिरहामा ७३ हजार नौ सय १३ दशमलव पाँच हेक्टर भूभाग कृषियोग्य छ । जसमध्ये ६० हजार सात सय ५७ हेक्टर भूमिमा धान खेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयको तथ्याड्ढ छ ।
सिरहाका ८० प्रतिशत भूभाग आकाशेपानीमा भर पर्ने भएकोले सिरहाको अधिकांश खेतमा रोपाई हुन आकाशेपानीको नै भर पर्नुपर्छ । सिरहामा कमला हर्दिनाथ सिंचाई व्यवस्थापन डिभिजन कार्यालयको पूर्वी नहर प्रणालीले १२ हजार पाँच सय हेक्टर तथा भूमिगत जलश्रोत सिंचाई विकास डिभिजनबाट जडान भएका केही डिप ट्युवेल र स्यालो ट्युववेलले आठ हजार हेक्टर गरी २० हजार पाँच सय हेक्टर भूमिमा मात्र सिंचाईको व्यवस्था छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »