धनगढीमाई नगरपालिकाको बजेट झण्डै ६० करोड

प्रकाशित समय 3:59:00 AM
राम बाबु यादब
सिरहा,८ साउन । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाको आर्थिक वर्ष २०७५÷७६ को अनुमानित वार्षिक बजेट झण्डै ६० करोड रहेको छ । धनगढीमाई नगरपालिकाको दोश्रो नगरसभाबाट पारित भएका निर्णयहरुको सार्वजनिकीकरण कार्यक्रममा नगर प्रमुख हरिनारायण चौधरीले धनगढीमाईको वार्षिक बजेट ५९ करोड ९९ लाख ७२ हजार पारित भएको जानकारी दिनुभएको हो ।
उक्त आवमा नगरपालिकाको पूँजीगततर्फ २७ करोड ९० लाख सात हजार, चालुतर्फ आठ करोड ८१ लाख १७ हजार तथा अन्य क्षेत्रतर्फ २३ करोड २८ लाख ४८ हजार विनियोजन गरिएको छ । विनियोजन खर्चको लक्ष्य प्राप्त गर्न नगरसभाले कुल आन्तरिक आयबाट पाँच करोड ५७ लाख १० हजार, नेपाल सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानबाट १३ करोड ६७ लाख, प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदानबाट ३१ लाख ६८ हजार, केन्द्र सरकारबाट सशर्त अनुदानबाट १२ करोड ९१ लाख, राजश्व बाँडफाँडबाट नौ करोड ४२ लाख ५६ हजार, प्रदेश सरकारको सशर्त अनुदानबाट एक करोड तथा सामाजिक सुरक्षा कार्यक्रमबाट पाँच करोड ९० लाख र गत आवको अ. ल्या. बाट नौ करोड ४४ लाख १० हजार रुपियाँ आम्दानी हुने अनुमान गरेको छ ।
नगरसभाले चालु आवको नीति तथा कार्यक्रम, विनियोजन ऐन, आर्थिक ऐन, धनगढी नगरपालिकाको सहकारी ऐनको पहिलो संशोधन, नगर विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, प्रशासकीय कार्यविधि नियमीत गर्ने ऐन तथा स्थानीय श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि पारित गरेको बताइएको छ ।
यसैगरी, उक्त नगरसभाले १७ बुन्दे नीतिहरु पारित गर्दै धनगढीमाई नगरपालिकाको विकासका लागि ‘कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, सञ्चार र पूर्वाधार, धनगढीमाई नगरपालिकाको समृद्धिको मूल आधार’ भन्ने नारालाई नगरपालिकाको मूल नाराको रुपमा अङ्गिकार गरेको नगर प्रमुख चौधरीले जानकारी गराउनुभयो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »