नेपाली मुलका विहारीको कथा ः यो मन त मेरो नेपाली हो

प्रकाशित समय 8:10:00 PM
मिथिलेश यादव
खुटौना (बिहार), २३ असार । बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत खुटौना सहर प्रवेशद्वारमै सडकको दुबैतर्फ(पूर्व–पश्चिम) हरियो रंगको वोर्डमा सेतो अक्षरले लेखिएको छ– ‘पहाडी टोला । भारतीय सहरमा ‘पहाडी टोला  लेखिएको यो बोर्डले यहाँ पुग्ने जोकोहीलाई कौतुहल बनाउँछ ।
खुटौना–१५, पहाडी टोला लेखिएको बोर्डको पूर्वपट्टी ४५ घर परिवार नेपालीभाषीको ठूलै बस्ती छ । उनीहरु सवै मंगोल समुदायका नेपाली हुन् । करिब अढाई सय वर्षदेखि उनीहरु यही ठाउँमा बस्दै आएको बताउँछन् । आफूहरु बसेको ठाउँ पहिला जंगल रहेको उनीहरु बताउँछन् । जंगल फाँडेर पुर्खाहरुले बासस्थान बनाए । जमिन बनाएर छाप्रो हाले । छाप्रो  हालेको घरको डिहि बाहेक उनीहरुसँग नम्बरी जमिन छैन ।
खुटौनाका स्थानीय ब्यापारी रामबाबु साह भन्छन,‘पहाडी टोलाका नेपालीहरुको तीन पुस्ताबढी समय देखि यहाँ बस्दै आएको हामीलाई जानकारी छ । यहाँ बस्ती बसाल्ने पहाडीहरु नै भएकोले यो बस्तीको नाम पहाडी टोला राखिएको स्थानीय दिपक गुरुङले भने । ‘हामी त नेपाली नै हौं  उनले भने,‘अंग्रेजहरुले त्यो बेला धकेलेर सीमा लौकाहासम्म र्पुयाउँदा हामी भारतीय नागरिक हुन पुग्यौ ।   पहिला नेपाली सीमा मंगेरसम्मै थियो । उनले भने,‘हामी ज्यूँ का त्यूँ छौं, सीमा धकेलिएर हाम्रो नागरिक पहिचान बदलिएको हो । 
‘यहाँको रैथाने बासीन्दा हामी नै हौं दिपक भन्छन्,‘पछि बजार विस्तार हुँदै जादा बस्ती विस्तार हुँदै गयो ।  यहाँका रैथाने पहाडी भएकोले बस्तीको नाम नै पहाडी टोला राखिएको उनले बताए । उनीहरुको थर राई, गुरुङ, मगर, भएपनि लवज, भाषा, पहिरन, रहनसहन पहाडी जस्तो छैन । यो बस्तीका नयाँ पुस्ता त नेपाली भाषा बोल्ने परको कुरा बुझ्दापनि बुझ्दैनन् । हिन्दी र स्थानीय भाषा बोल्ने नेपाली भाषा बोल्ने अभ्यास नहुँदा विर्सीएको बताउँछन् ।  उनीहरुको मुख्य पेशा भने बाँसको सामाग्री नाङ्लो बनाउनु हो । यो बस्तीको नाङ्लो भारतको बिहार, दिल्ली, पंन्जाब प्रान्तसम्मको बजारमा पुग्छ । नाङ्लो बेच्न उनीहरुलाई कतै जानु पर्दैन  । ब्यापारीहरु बस्तीमै आईपुगेर नाङ्लो किनेर लान्छन् ।
हामीलाई नाङ्लो बेच्न बजार बजार भौतारीनुपर्ने झन्झट छैन बस्तीकी सीता पहाडी भन्छिन,‘घरमै आएर व्यपारीहरु प्रती गोटा १५० हालेर नाङ्लो लिएर जान्छन्  ।  बस्तीका जेष्ठ नागरिक हिरालाल मुखिया(६५) आफूहरुको पुर्खयौली पेशा नै नाङ्लो बनाउने भएको बताए । पुर्खाहरु पनि यही पेशा गरेर जीन्दगी धाने उनले भने,‘हामीले पनि यही गर्यौ, हाम्रो सन्तानले पनि यही पेशामा रमाएका छन् । 
पहाडी टोलाका अगुवा सन्त बाहादुर मगर हुन् । उनी भन्छन्,‘ सीमा धकेलिएर हाम्रो नागरिक परिचय फेरिएपनि मन त मेरो नेपाली नै हो ।  ‘नेपालको सीमा मुंगेरसम्म हुँदा हाम्रो पुर्खाको नागरिक परिचय नेपाली थियो उनले भने,‘त्यही सीमा धकेलिएर लौकाहासम्म खुम्चिँदा हामी भारतीय भयौं । 
मगरका अनुसार यो पहाडी टोलामा पहिला सय भन्दा बढी घर नेपालीहरुको बसोवास थियो । पछि केहि नेपालीहरु नेपालमै फर्किए । अहिले ४५ घर नेपाली(पहाडी) हरुको बसोवास छ । बस्तीका बिनोद पहाडी भन्छन्,‘राई, मगर ,गुरु· जातीहरुको नयाँ पुस्ताहरु थर ‘पहाडी  राख्न थालेका छन् । बिनोदका अनुसार यो बस्तीका मानिसले पुस्तै पिच्छे थर परिवर्तन गर्दै छन् । पुर्खाहरुले  पर्वतीया थर लेखाउँथे । त्यपछिका पुस्ताले मुखिया थर लेखाउन थाले । पछि माझी हुँदै अहिले पहाडी थर लेखाउँछन् बस्तीका मानिसहरु ।
थर परिवर्न गरी पहाडी लेखाउनुको पछाडी पनि उनीहरुको बाध्यता छ । गुरु·, माझी, मगर भन्दा यहाँका मानिसलाई जाती बुझाउन गाह्रो भएकोले थर परिवर्तन गरी पहाडी लेखाउन थालेको मिथिला युनिभरसिटी दरभंगामा एमकम अध्यनरत बस्तीका शिवकुमारले बताए । आफूलाई नेपाली बुझाउन ‘पहाडी  थर राखे पुग्छ, उनले सुनाए ।  यहाँका नागरिक देखि सरकारी अधिकारीले पनि पहाडी भनेपछि सजिलै नेपाली हो बुझिहाल्छन, उनले भने । पहाडी थर लेखाएर आफूहरुमा नेपालीपन जीवित रहेको देखाएका छन, उनीहरु । तर, पहाडी भएर यहाँ जीन्दगी जिउन त्यतीको सजिलो भने छैन  । सन्त बहादुरका अनुसार आफुहरुलाई नागरिकता लिन आन्दोलन नै गर्नुपरेको सुनाए । नागरिकताका लागि प्रकृया सुरु गर्दा अनुहार हेरेर नेपालीलाई कहाँ नागरिकता दिन मिल्छ भन्दै कतीपटक अधिकारीले फाईल फ्याकेको उनीसँग तितो अनुभूती छ । नागरिकताका लागि बस्तीका सबैजना मिलेर आन्दोलन गरे । यहाँको डिएम कार्यालय घेराउ गरेर जमिनको प्रमाण पेस गरेर नागरिकता माग गरे । आन्दोलनपछि मात्र हामीलाई राज्य सरकारले आदिवासीको सूचीमा सूचीकृत गरेर पहिचानपत्र दिएको सन्त बहादुरले बताए । आदिवासी सूचीमा सूचीकृत भएपनि उनीहरु आरक्षीतको सुविधाबाट बञ्चित रहेको गुनासो सुनाए । हामीले आरक्षणको आभाष नै पाएका छैनौ शिव मुखियाले भने,‘बस्तीका कसैलेपनि सरकारी सेवा (जागीर)पाएका छैनन् । 
सन् २०११ मा भएको स्थानीय निर्वाचनमा खुटौना–१५ को बडा अध्यक्ष पदमा पहाडी टोलाका समर बहादुरले आफ्नो छोरा रोहितलाई उम्मेदवार उठाए । चुनावी दौडमा उनी पछाडिए । तर, उनको उम्मेदवारीको चर्चा उनीसँग जीतेका उम्मेदबार भन्दा बढी भयो । नेपालीले पनि यहाँ चुनाव लडे भनेर खुबै प्रचार भयो ।
पहिचान पत्रको आधारमा पहाडी टोलका स्थानीय परिवारले राज्य सरकारबाट महिनाको १० किलो चामल, ५ लिटर तेल, १२ किलो गहुँ पाउँछन्  । स्थानीय युवक जीवनका अनुसार पहिचानपत्र पाएकाहरुका लागि राज्यबाट पाउने सुविधा राम्रो छ । तर, पुर्खौली थलो नेपाललाई मनबाट मेटाउन सकिन्न उनले भने,‘हामी जुन भूमीमा बसेपनि मन त मेरो नेपाली हो ।  कहिलेकाँही घुमफिर गर्न नेपाल जाँदा आफ्नोपन महसुस गर्छौ, उनले सुनाए ।
भारतीय भूमीमा बस्दै आएपनि पहाडी टोलका अधिकत्तरको विवाह नेपाली भूमीमा भएको छ । स्थानीय वीरबादुर पहडीका अनुसार भारतीय सहर सुपौल र झँझारपुरमा पनि नेपालीहरुको बस्ती छ । तर, यहाँ केटी पाउन गाह्रो पर्छ । केटा सजिलै पाउने भएकोले हामी छोरीहरुको विवाह भारतीय भूमीमै गर्छौ तर, छोराको विवाह नेपाली भूमीमै गर्छौ , उनले भने ।
नेपाली भूमीमा छोरा विहे गर्दा नेपालकै नागरिकता बनाउन सजिलो हुने भएकोले उनीहरु नेपाली छोरी विवाह गर्न रुचाउँछन् । नेपाली नागरिकताबाट राहदानी बनाएर वैदेशिक रोजगारमा जान उनीहरु नेपाली छोरी ताक्छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »