सामान्य बाढी पनि थेग्दैनन् बाँधले

प्रकाशित समय 1:48:00 AM
मिथिलेश यादव
सप्तरी, १ साउन । पछिल्लो साता बाढीले सप्तरीस्थित खड्ग खोलामा बन्दै गरेको बाँध बगायो । करिब अढाई किलोमिटर बाँधमध्ये ५० मिटर बाँध बाढीले बगाएको छ । यो बाँध अर्थिक वर्ष ०७२र०७३ देखि ठेक्का प्रणालीमार्फत तीन करोड रुपैयाँ लागतमा निर्माण भइरहेको छ  । बाढीको धक्का थेग्न नसकेर बाँध भत्केको जल उत्पन्न नियन्त्रण डिभिजन कार्यालय लहानका प्रमुख महेशकुमार साहले बताए । बाँध भत्किँदा गत वर्ष गोविन्दपुर–४ आसपासका गाउँबस्ती डुबानमा परेको थियो ।
पोर्ताहास्थित महुली खोलाको बाँध पनि प्रत्येक वर्ष निर्माण हुने र भत्किने क्रम चल्दै आएको छ । यस वर्ष पनि पहिलो वर्षामै यो बाँध ठाउँठाउँमा कटान भएको छ । गत वर्ष यो बाँध भत्किएर बाढी पस्दा करिब आधा दर्जन बस्ती डुबानमा परेको थियो । महुली, खड्ग र खाँडो खोलाका बाँध प्रत्येक वर्ष बन्ने र भत्किने गरेका छन् । गत वर्ष यी खोलालगायत विभिन्न ठाउँमा बाँध निर्माणका लागि करिब ३० करोड रुपैयाँ खर्च भएको थियो । यस वर्ष पनि बाँध निर्माण, मर्मत, स्पर निर्माण जारी छ ।
बाढीबाट हुने विनाश रोक्न नदीमा होइन, मूल (चुरे) मै उपचार खोज्नुपर्छ । चुरेमा बसोबास, रुखबिरुवा फँडानी, उत्खननलगायतका काम नरोकेसम्म तल (नदीमा) जति बाँध बाँधे पनि टिकाउ हुँदैन । चुरेलाई हरियाली नबनाएसम्म नदीमा बाँध बाँधेर मात्र हुँदैन ।
गत वर्ष यी खोलामा करिब २५ किलोमिटर बाँध निर्माण गरेको जल उत्पन्न नियन्त्रण कार्यालय लहानले जनाएको छ । यसका लागि कार्यालयले करिब १६ करोड रुपैयाँ खर्च गरेको थियो । करोडौं रकम खर्चेर गरिएका नदी नियन्त्रणका काम किन प्रभावकारी भएन? गाउँबस्तीलाई बाढीबाट बचाउन बनाइएका बाँधले किन सामान्य बाढी पनि थेग्न सक्दैन? जल उत्पन्न नियन्त्रण कार्यालय लहानका प्रमुख महेशकुमार साह भन्छन्, ‘हामीले बाँध त मजबुत नै बनाउन लगाउँछौं तर, बाँध भत्किनुमा मजबुती मात्र मापक होइन । बाँधको सम्बन्ध खोला र नदीसँग पनि हुन्छ । खोला, नदीको सम्बन्ध चुरेसँग छ । 
समस्या एकातिर समाधान अर्कै्तिर पूर्वपश्चिम राजमार्गको महुली नदी पुल निर्माणमा खटिएका साबिक महुली–८ का ६५ वर्षीय गयाधर सदायका अनुसार हेर्दाहेर्दै पुल होचो र नदी अग्लो भयो । पुल बन्दा यो नदी यति चौडा थिएन । साँघुरो खहरेजस्तो थियो । खेत र बस्ती खोलाभन्दा धेरै माथि थिए । उनले भने, ‘पुल र बस्तीको उचाइ लगभग बराबरजस्तै थियो । अहिले खोला, पुल र बस्तीको उचाइ बराबर भएको छ । 
महुली पुलको पश्चिम घर भएका शिवलाल सदाय पनि १५ वर्षअघिसम्म नदीको सतह यति अग्लो नभएको बताउँछन् । उनी भन्छन्, ‘अहिले बस्ती र नदी बराबर भइसक्यो ।  नदीमा बालुवा भरिँदै जानुको कारणबारे प्रश्न गर्न नपाउँदै निरक्षर सदायले जबाफ फर्काए, ‘चुरियामाई (चुरे) मा लकडीपाती –रूख) र पाखन –ढुंगा) बेहिसाब दोहनको परिणाम हो यो ।  चुरेबाट रूखबिरुवा, ढुंगा, ग्राभेल, बेहिसाब निकाल्दा सतह खुकुलो भएर वर्षाको पानीसँगै बालुवा मधेसका नदीमा थुप्रिएर नदीको सतह उठ्दै गएको उनको ठहर छ ।
खाँडो नदीको कथा पनि उस्तै छ । खाँडो नदी दुई दशकअघिसम्म बस्तीभन्दा निकै गहिरो थियो । तिलाठी कोइलाडी गाउँपालिका–५, बनरझुलाका ६५ वर्षीय धर्मनारायण रायका अनुसार अहिले नदीको सतह बस्तीभन्दा माथि उठेको छ । उनी भन्छन्, ‘नदीको उचाइ यसैगरी बढ्दै जाने हो भने आसपासका बस्तीलाई बाढीले निल्न बेर लाउँदैन । 
गत वर्ष मैनाकडेरीनजिक बाँध भत्केर बाढी पस्दा स्थानीय जयप्रकाश यादवको २५ बिघा खेत बालुवामा परिणत भयो । पहिले गाउँका जमिनदार उनको अहिले परिचय फेरिएको छ । उनी भन्छन्, ‘आम्दानीको स्रोत खेती नै नरहेपछि कसरी जिन्दगी धान्नु?  नदीमा बालुवा थुप्रिएर बढेको सतह बस्ती बराबर भएकाले बाँध भत्काएर बाढी गाउँबस्ती र खेतमा पस्ने गरेको उनी बताउँछन् । उनी भन्छन, ‘नदीको बालुवा पन्छाएर सतह होचो बनाए मात्र बाढीको विनाश रोकथाम गर्न सकिन्छ । 
पुलमुनिबाट पानीको बहाव थुन्ने गरी थुप्रिएका बालुवा हटाउन सम्भव नहुने सडक डिभिजन कार्यालय लहानका प्रमुख इन्जिनियर रामकुमार देव बताउँछन् । ‘बालुवा निकाल्ने काम सम्भव छैन,  उनले भने, ‘पुलको उचाइ बढाउनुपर्छ ।  केही वर्ष्भित्र राजमार्ग चार लेनको बनेपछि पुलेका उचाइ बढ्ने र नदीको बहाव सामान्य हुने उनको दाबी छ ।
जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय लहानका प्रमुख इन्जिनियर साहका अनुसार तत्कालीन समस्या समाधानका लागि पुलमुनिबाट ब्याकवाटर इफेक्टर भएको ठाउँसम्म बालुवा झिकिदिए पुग्छ । ब्याकवाटर इफेक्टर हुने स्थानसम्मको बालुवा झिकिदिएपछि नदीको पानी नियमित गतिमा बग्न थाल्छ । जसले बाँधमाथिको प्रेसर पनि कम गर्न मद्दत गर्छ । यो उपाय अपनाउँदा बाढीको विनाशबाट केही हदसम्म जनताले राहत पाउने इन्जिनियर साहको दाबी छ ।
तर यो समस्या समाधानका लागि भने नदीमा होइन मूल (चुरे) मै उपचार खोज्नुपर्ने उनी बताउँछन् । ‘चुरेमा बसोवास, रुखबिरुवा फँडानी, उत्खननलगायतका काम जसलाई हामी दोहन भन्छौं,  उनले भने, ‘त्यो नरोकेसम्म तल –नदीमा) जति बाँध बाँधे पनि टिकाउ हुँदैन ।  अनियन्त्रित दोहनले उजाड बन्दै गएको चुरेलाई हरियाली नबनाएसम्म नदीमा बाँध बाँधेर दीर्घकालीन रूपमा नदी नियन्त्रण सम्भव नहुने इन्जिनियर साह बताउँछन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »