हिलोले हुलाकी सडक ठप्प

प्रकाशित समय 4:19:00 AM
सन्तोष यादव
सिरहा, २६ असार । तराई–मधेसको ‘लाइफ लाइन  मानिने हुलाकी सडक हिलोका कारण अवरुद्ध बनेको छ । एक सातादेखि निरन्तर भइरहेको वर्षाले हुलाकी सडक हिलाम्मे छन् । सिरहा र धनुषा खण्डमा ठूल्ठूला खाल्डा परेका छन् । केही भागमा मोटरसाइकल र साइकल चले पनि चारपांग्रे सवारी साधन चल्न सकेका छैनन् ।
  सिरहाको भगवानपुरबाट जिल्ला सदरमुकामसम्म चल्ने बस एक सातादेखि ठप्प रहेको नवराजपुर–१ का जयनाथ यादवले बताए । उनका अनुसार औरहीस्थित हुलाकी सडक भत्काएर गागन नदी बग्ने गरेका कारण बस चल्न नसकेको हो । ‘यस भेगका जनता पूर्व–पश्चिम राजमार्गको घुमाउरो बाटो भएर सिरहा सदरमुकाम जान बाध्य छन , उनले भने ।
गागन नदीमा पुल बनेको थियो तर एक–दुई वर्ष नबित्दै कटानका कारण ४ सय मिटर पूर्वबाट बग्न थाल्यो । गागन नदीका कारण सयौं बिघा उब्जाउ जग्गा बगरमा परिणत भएका छन् । नदी अर्को ठाउँबाट बगेको ४–५ वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले बाँध बनाएर नदीलाई पुरानो ठाउँमा फर्काउने प्रयास नगरेको स्थानीयको गुनासो छ । अहिले नदी हुलाकी सडक भत्काएर बगेपछि आवतजावत गर्न त समस्या भएको छ ।
सिरहा बजारबाट पूर्वमा बलानसम्म २९.८८ किलोमिटर सडक बनाउन स्वच्छन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुरले ठेक्का लिएको छ । ठेकेदारको लापरवाहीले गर्दा गाडी गुड्न नसक्ने सडक बनेको स्थानीयको आरोप छ । ‘दुई तिरबाट माटो हालेपछि बीचमा सडक गहिरो बन्यो, भगवानपुरका सञ्जय रामले भने, ‘दुवै साइडको उचाइ बढेपछि बीचमा पानी जमेर हिलो बनेको छ ।
हुलाकी सडकमा गाडी नचल्दा दूध बेच्न नपाएको किसानले बताएका छन् । ‘डेरीको गाडी सिरहा बजारबाट दूध लिन घरमै आउँथ्यो , औरही–४ का सञ्जय यादवले भने, ‘सडक हिलाम्मे बनेपछि नौ दिनदेखि गाडी आएको छैन । यहाँको करिब ५ सय लिटर दूध खेर गइरहेको छ ।  दूध बिक्री गर्न नपाएपछि सिरहा पुगेर प्रमुख जिल्ला अधिकारीसँग तत्काल सडक मर्मत गराउन माग गरे पनि वास्ता नगरेको उनले सुनाए ।
सिरहाभन्दा पहिले नै धनुषाखण्डको हुलाकी सडक ठेक्कामा लागेको थियो । धनुषा, महोत्तरी, सर्लाही र सिरहामा ३ सय १५ किलोमिटर हुलाकी सडक निर्माणाधीन छन । औरही गाउँपालिका–५ का विवेक यादवले सडक निर्माण सुस्त रहेको बताए । ‘सडकमा माटो हाल्यो तर ग्राभेल नहालेर सास्ती भएको छ , उनले भने ।
सडक निर्माण गर्न कम्पनीलाई ३६ महिने समयसीमा तोकिएको साइट इन्जिनियर मनोज मण्डलले जानकारी गराए । सिरहाखण्डमा १ सय २० वटा कल्र्भट निर्माण गरिने उनको भनाइ छ । ‘सडकमा माटो भर्ने काम मात्र भएको छ, त्यो पनि अहिले बन्द छ , उनले भने, ‘वर्षाले सडकको अवस्था खराब भएको छ, त्यसमा मर्मत पनि भइरहेको छ ।  उनका अनुसार सरकारले नदीबाट ढुंगा, गिट्टी निकाल्न रोक लगाएपछि ग्राभेल छाडेर माटो हालेर काम छाडिएको हो ।
कमलामा पुल नबन्दा झनै सास्ती सिरहा र धनुषा जोड्ने हुलाकी सडकस्थित कमला नदीमा पुल निर्माण सात वर्ष बितिसक्दा पनि पूरा भएको छैन । ठेकेदार कम्पनीले यही असारअगावै पुल बनिसक्ने बताएको थियो तर अझै अधुरै रहँदा बाढीका बेला जोखिम मोलेर नदी तर्नुपरिरहेको सारश्वर का दिनेश यादवले सुनाए ।
‘पुल बने हामी एक घण्टामा जनकपुर पुग्छौं , उनले भने, ‘अहिले त चोहर्वा पुगेर राजमार्ग हुँदै ढल्केवरको घुमाउरो बाटो भएर जनकपुर पुग्न चार घण्टा लाग्छ । समय र भाडा पनि बढी लाग्छ ।  पुल निर्माणको ठेक्का पप्पु–लुम्बिनी जेभी काठमाडौंले लिएको थियो । सम्झौताअनुसार ४ सय ५० मिटर लम्बाइको पुल २०७३ सालभित्र बनाइसक्नुपर्ने थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »