शम्भु यादव
सिरहा, १४ साउन । आइतबारदेखि सवारी चालक अनुमति पत्रको अनलाइनबाट फारम भर्ने कार्य सुरु भएको छ । तर, यातायात व्यवस्था कार्यालय लहानबाट भरिने फारम प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलको ठाडो आदेशले रोकिएको छ ।
अनलाइन फारम भर्ने कार्य रोकिएपछि कार्यालयमा आउने सेवाग्राही त्यत्तिकै फर्किएका छन् । आइतबार मात्रै चार सय भन्दा बढी सेवाग्राही अनलाइन फारम भर्नबाट बञ्चित भएको यातायात व्यवस्था कार्यालय लहानले जनाएको छ । कार्यालय निमित प्रमुख मिनकुमार भट्टराईका अनुसार प्रदेश सरकारका मन्त्रीले फारम तत्काल रोक्न मौखिक आदेश गरेपछि सवारी चालक अनुमति पत्रको फारम भर्ने कार्य रोकिएको छ ।
‘कार्यालय प्रदेश सरकारको मातहतमा आइसकेको छ । तर नयाँ ऐन कानुन बनेको अवस्थामा पहिलेकै अनुसार काम गर्नुपर्छ, प्रमुख भट्टाराईले भने, ‘हामीले लिखित आदेश माग्दा पनि कुनै जानकारी आएको छैन् । यहाँबाट संकलन भएको राजश्व प्रदेश सरकारमै जम्मा हुन्छ । किन रोकेको खुलाइएको छैन् । आइतबार अनलाइनबाट फारम भर्न कार्यालय पुगेका लहान नगर पालिका २४ का राजेश कामतीले भने, ‘तीन तहमा सरकार आएपछि जनतालाई सेवाप्रवाहमा सहज हुन्छ भन्थ्यो तर खै ? उल्टै मन्त्रीको अनुचित काम देखियो ।
कहिलेकाँही खुल्ने सवारी चालक अनुमति पत्रको फारम रोकिएको सुन्दा दुःख लागेको उनले बताए । ‘सवारी चालक अनुमति पत्र नहुँदा जनता मारमा छन् । तर मन्त्रीलाई मतलबै छैन , अर्का सेवाग्राही रञ्जित विकले भने, ‘सरकारले झन् सहज गर्नुपथ्र्यो । केन्द्र सरकार निर्देशन विपरित प्रदेश सरकार उभिएको उनले बताए ।
