लहान नगरपालिकाले सुरु ग¥यो स्थानीय राजपत्र प्रकाशन

प्रकाशित समय 1:13:00 AM
राम बाबु यादब
सिरहा, १९ असार । स्थानीय सरकार गठन भएको नौ महिनापछि सिरहाको सबैभन्दा पुरानो नगरपालिका लहान नगरपालिकाले स्थानीय राजपत्र प्रकाशन गर्न सुरु गरेको छ ।
लहान नगरपालिकाको गत असार १४ गते सम्पन्न दोश्रो नगरसभाको निर्णयहरुबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख मुनि साहले ‘लहान राजपत्र  सार्वजनिक गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा ३ मा गाउँपालिका वा नगरपालिकाले स्थानीय राजपत्र प्रकाशन गर्नुपर्ने कुरा उल्लेख छ ।
गाउँपालिका वा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रको विषयमा ऐन र उक्त ऐनको अधिनमा रही कार्यपालिकाले आवश्यकता अनुसार बनाएको नियम, निर्देशिका, कार्यविधि र मापदण्ड स्थानीय राजपत्रमा प्रकाशन गर्नुपर्ने प्रावधान छ । नगर प्रमुख साहले नगरपालिकाबाट जारी हुने ‘लहान राजपत्र  पनि आवश्यकता अनुसार प्रकाशन गरिने बताए ।
लहान नगरपालिकाले जारी गरेको ‘लहान राजपत्र  मा दुई भागहरु रहने छन् । उक्त राजपत्रको भाग १ मा स्थानीय सभाबाट पारित भई सभाको अध्यक्षबाट प्रमाणीकरण भएका ऐन तथा सभाका नियमहरु तथा भाग २ मा लहान नगर कार्यपालिकाबाट जारी नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा नेपाल सरकार, प्रदेश सरकार तथा अर्को स्थानीय तहसँग भएको सम्झौताको व्योहोरा प्रकाशन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज भट्टराईले जानकारी दिए ।
दोश्रो नगर सभाले लहान नगरपालिकासँग सम्बन्धित आठ वटा ऐन तथा दुई वटा कार्यविधि पारित गरेको छ । पारित भएको ऐनहरुमा नीति तथा कार्यक्रम सहित आर्थिक ऐन, विनियोजन ऐन, सहकारी ऐन, न्यायिक समिति कार्यविधि सम्बन्धि ऐन, प्रशासकीय कार्यविधिलाई व्यवस्थित गर्न बनेको ऐन, शिक्षा ऐन र सरसफाई तथा फोहोर व्यवस्थापन सम्बन्धि ऐन रहेका छन् भने कार्यविधिहरुमा भवन निर्माण तथा नक्सा पास सम्बन्धि कार्यविधि र राजपत्र प्रकाशन गर्ने सम्बन्धि कार्यविधि छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »