पतिले छाडेपछि रिक्सा चलाएर गुजारा

प्रकाशित समय 9:09:00 PM
शम्भु यादव
सिरहा, १२ साउन । मधेसी समुदायमा महिलाले साइकल चलाए पनि धेरैले आश्चर्य मान्छन् । जीविकोपार्जनका लागि त गाउँबाट साइकल चलाएर बजार जाने–आउने महिलाहरू औंलामा गन्ने जति पनि भेट्दैनन् । त्यही महिलाकै बिचमा सिरहाको लहान नगरपालिका २ सिंगराहीकी २४ वर्षीया सुनिता महतोले लहान बजारमा सिटी रिक्सा चलाएर आफ्नो दुई छोरीसहित आफ्नो पनि गुजारा चलाउँछिन् । उनलाई पतिले अलग गरिदिएको छ । यहाँ बजारमा डेढ सयभन्दा बढी सिटी रिक्सा सञ्चालनमा छ त्यसमध्ये उनी रिक्सा चलाउने एक्ली महिला हुन् ।
रिक्सा चलाउन बजार आउँदा उनी सधैं आफ्नो एक वर्षीया कान्छी छोरीलाई घरमै छाडेर आउने गर्छिन् । विहान घरमै आफन्तकहाँ छोरीलाई राखेर उनी पति छाडेर गएको पुरानै सिटी रिक्सा लिएर बजार धाउँछिन् । उनको जेठी छोरी काजल पाँच वर्ष र कान्छी करिश्मा एक वर्षकी छिन् । ‘विहान छोरीलाई केही खुवाएर रिक्सा लिएर बजार आउँछु , उनले भनिन, ‘दिनभरी रिक्सा चलाएर हजार रुपैयाँसम्म कमाइ हुने गरेको छ ।  उनका अनुसार जेठी छोरी पढ्ने उमेरको भइसक्यो तर, पति मेरो नागरिकता र छोरीको जन्मदर्ता लिएर गइसकेकाले पढाउन सकेको छैन । पतिको कुनै अत्तोपत्तो नभएको उनले सुनाइन् ।
२०६८ सालमा रौतहटको बबहरी गाउँका सन्तकुमार महतोसँग उनको विवाह भएको थियो । सासुरससुराले विवादमा पनि गालीगलौज र कुटपिट गर्न थालेपछि उनी आफ्नो पतिसहित लहान आएर बस्न थालिन् । यहाँ सन्तको सासुरससुराले स्थानीय सहकारीबाट केही ऋण र जग्गा बेचेर उनलाई तीन लाखमा सिटी रिक्सा किनिदिएको थियो । ‘एक वर्षसम्म पतिले नै यो रिक्सा चलायो, ‘महतोले भनिन, ‘पछि पतिले पनि आमाबुवाको कुरामा लागेर झगडा गरी आफूलाई छाडेर गएदेखि आफैं सिटी रिक्सा चलाउँदै आएको छु ।  आत्मबल भयो भने महिलाले जस्तोसुकै काम गर्न सक्ने उनले बताइन् ।
‘सामान्य विवाद हुँदा पतिले धम्की दिन्थ्यो कमाएर पेट पाल्न सक्दैनौं, उनले भनिन, ‘पतिले पटक पटक आफैं कमाएर गुजारा चलाउन सक्दैनौ भनेर थालेपछि रिक्सा चलाउन थाले ।  उनका अनुसार हिम्मत गरेर दुई दिनमै रिक्सा चलाउन सिके । अहिले रिक्साको ऋण पनि आफैंले कमाएर तिरिरहेको उनले सुनाइन् । ‘सुरुमा घरको आफन्तले रिक्सा नचलाउँ भन्ने गर्थे तर, आफूसँग कुनै सिप नभएर रिक्सा चलाउने निधो गरे , उनी भन्छिन, ‘कति दिन पुरुषले हेपेको सहेर बस्नुभन्दा आफैं कमाएर आफ्नो गुजारा चलाउनु राम्रो हो ।  पुरानो रिक्सा बेचेर ऋण गरेर पनि अर्को नयाँ रिक्सा किन्ने सोचमा रहेको उनले बताइन् ।
पतिले छाडेर गएदेखि एकदिन पनि सम्पर्क नगरेको उनले सुनाइन् । ‘काममा लाज मान्नु पर्दैन, गुजारा चलाउन सबैले कुनै न कुनै काम गर्नै पर्छ । कामले मानिसलाई ठूलो सानो बनाउने हुँदैन , उनले भनिन्, ‘यहाँ महिलाहरू अहिले पनि काम गर्न लजाउँछन् ।  उनका अनुसार महिलाहरू अरुमाथि निर्भर हुनुभन्दा राम्रो आफैंमा आत्मनिर्भर हुनुपर्छ । भाषणमा महिला पुरुष समान हुन् भन्छन् तर यहाँका समाजमा महिलालाई सधैं पुरुषले हेयको दृष्टिले हेर्ने गरेको उनले बताइन् ।
आत्मबल भयो भने महिलाले जस्तोसुकै काम गर्न सक्छन् । ‘पहिलो पटक बजारमा रिक्सा चलाउँदै आएपछि धेरै छक्क परे , उनले सम्झिँदै भनिन, ‘महिला भएर सिटी रिक्सा चालक भएको देखेर धेरैले प्रशंसा गरे त्यसले झन आफ्नो साहस बढ्यो ।  महिला चाहे जे पनि गर्न सक्ने कुरा आफूलाई सेवाग्राहीले सुनाउने गरेको उनले बताइन् । ‘आमा बुवाले छोरीलाई बिहेभन्दा पहिले शिक्षा र सिप सिकाउन त्यति ध्यान दिँदैन , उनी भन्छिन, ‘बिहेपछि दुःख भोग्नुपर्छ । दाइजो दिएर आफ्नो बिहे गरिदियो तर, अहिले पतिले पनि छाडेर गयो । सासुरससुरा पनि सहारा भएनन् ।  उनका अनुसार सयरदुई सय रुपैयाँका लागि पनि पतिलाई गुहार्नु पर्दा आफूलाई कमजोर महसुस हुने गरेकाले आफैं कमाउन थाले । ‘महिला आत्मनिर्भर भए पुरुष र समाजले पनि सम्मान गर्दो रहेछ , सिटी रिक्सामा ग्राहक चढाउँदै उनले भनिन्, ‘मैले रिक्सा चलाएर गुजारा गर्न थालेपछि सबैले राम्रो ग¥यो भन्छन् ।
‘महिलाहरू रिक्सा चलाएर आत्मनिर्भर हुनु प्रशंसनीय कुरा हो , स्थानीय रामसोगारथ रायले भने, ‘मधेसमा पछाडि परेका महिलाहरू सामाजिक बन्धन तोडेर घुम्टोबाहिर निस्किन थालेका छन् ।  उनका अनुसार आर्थिक रूपमा महिलाहरू सक्षम भयो भने उनीहरूमाथि हुने विभिन्न किसिमका हिंसाका घटनाहरू पनि आफैं न्यूनीकरण हुँदै जान्छ । त्यसका लागि सरकारले पनि महिलालाई सीपमूलक शिक्षामा जोडदिनु पर्ने उनले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »