जोखिम बढ्न नदिन सिरहामा पुर्व सतर्कता

प्रकाशित समय 1:17:00 AM
राम बाबु यादब
सिरहा, १९ असार । मनसुन सक्रिय भइरहेकै अवस्थामा स्थानीय खोलानदी र वर्षाबाट आउने बाढीले डुबान गर्न सक्ने सिरहा जिल्लाका सम्भावित बाढीग्रस्त क्षेत्रमा जिल्ला दैवी प्रकोप उद्धार समितिले उद्धारको लागि पुर्व सतर्कता अपनाउन थालेको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले विगतका वर्षहरुमा झैं सिरहाका बलान, गागन, घुर्मी, बथाहा तथा कमला नदीहरुले प्रभावमा पार्ने १९ वटा गाउँहरु डुबानको खतरामा पर्ने देखिएपछि ती स्थानहरुमा गई बाढीको प्रकोपबाट जोगिन स्थानीय बासिन्दालाई पुर्व सतर्कता सम्बन्धि विभिन्न अभ्यासहरु नै दिएको छ ।
अभ्यासको क्रममा उद्धार समितिको टोलीले स्थानीयबासी लाई बाढीको समयमा कस्तो स्थानमा बस्ने, दैनिक आवश्यकताका वस्तु कसरी जोहो गर्ने, प्रकोपबाट घाइते भएको अवस्थामा कसरी उद्धार गर्ने र बाढीमा फसिहालेमा नै भने आफैं कसरी निस्कने भन्ने विषयमा तालिम समेत दिएको छ ।
जोखिममा परेका सबै गाउँहरुको अवलोकन गरेर सम्भावित सबै उपायको खोजी गरी त्यहाँका स्थानीय बासिन्दालाई बाढीको प्रकोपबाट जोगिन पुर्व सतर्कता अभ्यास दिइएको हो, जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, त्यस्तो अभ्यास गराए पनि अहिले लहानस्थित जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय तहलाई आफूसँग भएको जनशक्ति र सामग्रीका साथ तयार भएर रहने परिपत्र समेत भइसकेको छ ।
उनले दैवी प्रकोप व्यवस्थापन का लागि क्रियाशील सरकारी तथा गैरसरकारी विभिन्न सरोकार वाला निकायहरुलाई प्रकोप भएको अवस्थामा त्यसको व्यवस्थापन तथा उद्धारका लागि दैवी प्रकोप उद्धार कोष गठन गर्ने निर्णय भएको जानकारी दिंदै भने, अहिलेसम्म सिरहामा त्यस्तो अवस्था देखिएको छैन तर निरन्तर पर्न सक्ने वर्षा र खोलानदीमा बढ्दै गएको पानीको बहावले खतरा उत्पन्न गराउन सक्दैन भन्ने ग्यारेन्टी छैन । त्यसको लागि हामी तयारी अवस्थामा रहने प्रयासमा छौं ।
नेपाल रेडक्रस सोसाइटी सिरहाका सभापति राजलाल यादवका अनुसार, सिरहाका ४० वटा गाउँहरु वर्षाले बगाउने जोखिम क्षेत्रको रुपमा लिइएको छ । त्यसमध्ये सीमापारी लदनियादेखि दरहियासम्मको दुई किलोमिटरको तटबन्ध र कमला, मैनावती, गागन तथा बलान नदीमा भरपर्दो तटबन्ध नबनाइएकोले  १९ वटा गाविस हरु उच्च जोखिममा रहेका छन् ।
‘निरन्तर वर्षा हुँदै जाँदा नदीमा आउने बाढीका साथै खेतमा बढी हुने पानीले ती गाविसहरु बगाउन सक्ने सम्भावना छ , नेपाल रेडक्रस सोसाइटी सिरहा शाखाका सभापति राजदेव यादवले भने–ती गाविसनजीक रहेका नदीका धेरै स्थानमा तटबन्ध नभएको र भए पनि कमजोर रहेकोले त्यहाँको अवस्था अत्यन्त कमजोर छ ।
उच्च जोखिममा पर्ने गाउँहरुमा औरही, माडर, लगडी गोठ, लगडी गढयानी, इटाटार, बरियारपट्टी, पिप्राही, मझौलिया, चिकना, भेडिया, चतरी, अर्नमा, सारस्वर, हरकट्टी, सिरहा लगायतका छन् । तीमध्ये प्रकोपबाट बढी प्रभावित खोलानदीको सतहमा पानीको भेल बढ्नै बित्तिकै स्थानीयबासीको मोबाइलमा प्रकोपबाट जोगिनका लागि खबरदारीको सूचना आउने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »