डा. केसीका मुद्दा किन सधै ओझेलमा ?

प्रकाशित समय 12:21:00 AM
राजन अधिकारी

नेपालमा मेडिकल शिक्षाको सुधारका लागि लगातार १५ पटकसम्म अनसन बसेका डा. गोविन्द केसीको मागबारे सरकार बेखबर जस्तै बनेको छ । १५औं अनसनको आज २१ औं दिन भइसक्दा पनि मागबारे सरकारले खासै चासो नदिँदा डा. केसीको अवस्था झन कमजोर हुँदै गएको छ ।
यसअघिका सरकारले गरेका सम्झौतालाई लत्याउँदै र अघिल्लो सरकारले ल्याएको चिकित्सा अध्यादेशलाई समाप्त गर्न सरकारले दुई तिहाईको आडमा ल्याउन लागेको चिकित्सा सम्बन्धी ऐनले भविस्यमा चिकित्सा अध्ययन सस्तो, भरपर्दो र स्वास्थ्य सुविधा सर्वसुलाभ उपलब्ध हुनेमा द्विविधा जन्माएको छ । राजनीतिक केन्द्रमा सरकार पक्ष र प्रतिपक्ष दुई खेमामा उभिएका छन् । कांग्रेसले आफ्नो सरकार हुँदा ल्याएको अध्यादेशको पक्ष लिँदै डा.केसीलाई समर्थन गरेको छ भने सत्तारूढ दलले डाक्टर केसीको विरोध गरिरहेका छन् ।
त्यसो त सत्तारूढ दलले डा. केसीलाई कांग्रेसले उचालेको, सरकार बाहिर बस्दाको छटपटी आदि आरोप लगाएको छ भने कांग्रेसको समर्थनलाई सरकार बाहिर रहँदाको छटपटीको रूपमा व्याख्या हुन थालिएको छ । हुन पनि हो, कांग्रेसले अहिले आएर आँखा चिम्लेर डा. केसीलाई समर्थन गर्नु एक किसिमले संकास्पद देखिन्छ । होइन भने हिजो डा. केसीको अनसन र कांग्रेसको सरकार हुँदा अनसन बस्नु पर्ने थिएन ।
लोकमान सिंह कार्कीका दुस्कर्म विरुद्ध डा केसी लागि रहँदा संसदमा केवल एक जना गगन थापा मात्र थिए जसले समर्थन गरे तर त्यहाँ कांग्रेस थिएन । आफ्नै सरकार रहँदा पनि डा केसीको मागमा देखाएको उदासिनता ताजै छ । अर्को त सरकार चाहे कांग्रेसको होस् या नेकपाको (पूर्व एमाले वा माओवादी) यसअघि पनि डा केसीले अनसन बस्दा प्रतिपक्षमा हुँदा समर्थन गर्ने र सरकारमा हुँदा विरोध गर्ने शैली देखिँदै आएको छ । तसर्थ प्रतिपक्षले डा केसीले उठाएको मुद्दामा आफ्नो सरकारमा अनुपस्थिति वा उपस्थिति अनुसार विरोध र समर्थन गरिनु सत्ता र कुर्सीलाई केन्द्रित रहेर गिद्दे दृष्टि र शिकारीको ढाल बनाएको प्रष्ट हुन्छ ।
आज आएर डा. केसीले उठाएका माग यदि सही हो भने कांग्रेसले के कति कारणले आज भन्दा अघिल्लो समर्थन गर्न सकेन त्यो पनि प्रष्ट पारे डा केसीको मुद्दा कुन हदसम्म सहि थियो र कांग्रेसले पनि अन्तत्वगत्वा सहि निर्णय गर्न पुग्यो भनेर प्रष्ट हुने थियो । सहि हृदय, उद्देश्यले गरिएको समर्थन हो भने यसले कालान्तरमा गैर सकारात्मक हुनसक्ने सम्भावना जिवितै राख्नेछ । साथै यसबाट आम जनतालाई पनि डा केसीको मागमा थप प्रष्ट हुने मौका मिल्ने थियो ।
केहिले डा केसी माथि नै राजनीति गर्न लागेको आरोप, कहिले पागलको आरोप त केहिले भगवान झैं मान्ने गरेको यथार्थले एक किसिमको द्वन्द्व भइहरेको बुझ्न सकिन्छ । उनले उठाएका माग र मुद्दामाथि हुनुपर्ने बहसलाई न राजनीतिक पार्टीले स्वीकार्न सकेका छन् न त आम नागरिकले नै ।
नेपाली समाजमा एक त सोच र वैचारिक खडेरी पर्दै गरेको अवस्था छ, अर्को त व्यावहारिक रुपमा त्यसलाई कार्यान्वयन गर्ने तवरमा पनि पछि छ । अनि डा केसी यही सोच, व्यवहारिकता, सामाजिक उदासिनता र आम जनताको कमजोर चेतनाको चपेटामा सामाजिक रुपान्तरण र जन जागृतको मुद्दा लिएर जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेका छन् । कुरा प्रष्ट छ, यदि नेपाली समाज, नेपाली राजनीतिक दल, सरकार प्रतिपक्ष जो सुकै होस् समयमा चेत खुलेन भने भविस्यमा नेपालीले कुन दषा भोग्नुपर्ने हो कल्पना गर्न सम्म गाह्रो छ तर यति हो भावी सन्ततीले न हामीलाई क्षमा गर्नेछन् न राजनीतिक दललाई ।
डा केसीको माग बारे खासै कुनै पनि राजनीतिक दलहरुले बुझ्न प्रष्ट हुन खोजेको जस्तो पनि देखिन्न । किन डा कसीले आफ्नो ज्यानको वाजी राखेर बारम्बार एकै किसिमका मुद्दामा निरन्तर लागिरहेका छन् भनेर नबुझी उनको विरोध गर्ने गरेका छन् । यस भिडमा आम नेपाली सर्वसाधारण पनि संलग्न छन् भन्दा खासै अत्युक्ति नहोला । डा केसीलाई खासै बुझिएको छैन, उनका मुद्दा खासै पढिएको छैन त्यसको अन्तर कुन्तरमा गएर  खासै बहस गरिएको छैन यो प्रष्ट छ ।  होइन भने डा केसीका मुद्दा आम नेपालीकै लागि भएता पनि साधारण नागरिकबाट खासै समर्थन, चासो र सरकारलाई दवाव समेत आएको देखिन्न ।
मेरो व्यक्तिगत विचारमा उनको अस्पतालमा अनसन बस्ने प्रवृतिको विरोधी हुँ । तर, भ्रष्टचार र माफियातन्त्रले देश सिध्याउन लागिसक्यो नैतिकताको कुरा गरेर भ्रष्टाचारलाई सहज पचाउने अनि ठूलो मुद्दालाई नजर अन्दाज गरेर सानो कुरामा बखेडा गर्नु अत्युक्ति नहोला । यो समय गल्ति सुधार्ने हो, सामाजिक वेथितिको अन्त्य गर्ने हो, भ्रष्टचार र माफिया तन्त्रलाई अन्त्य गर्ने हो, राष्ट्रनिर्माणको महान कार्यलाई ठोस बनाउने हो । त्यसैले जो कोहि होस् सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ, युगले दिएको जिम्मेवारी निभाउन हरेक नेपालीले सक्नुपर्छ । आम जनताका पक्षमा बोलेका डा केसीले उठाएका मुद्दा सही भएर पनि डा केसी आफ्ना मुद्दामा हरेका छन् हैन भने उनले १५–१५ पटक अनसन गर्नुपर्ने दिन नै आउने थिएन ।
३ करोड नेपालीको भीडमा एक्लै पुरै भ्रष्ट पद्धति, सरकार र माफियाका विरुद्धमा लड्नुपर्ने थिएन । डा केसीलाई कमजोर खेलाडीको रुपमा व्याख्या गर्नु गलत हुन्छ । उनी बलिया र एक्ला त्यस्ता लौह पुरूष हुन् जसले लालची राजनीतिक दल कांग्रेस, नेकपाका सरकार, लोकमान, गोपाल मान जस्ता भ्रष्ट शाशनका पोशाक र मौन, अचल र विमर्थंक नेपाली जनताका उदासिनता विरुद्ध लड्ने शाहस गरे । यसर्थ उनी जस्तो असाधारण व्यक्तिको त्याग, समर्पण र लगावको मूल्य बुझ्न हामी नेपालीले कत्ति पनि ढिला गर्न हुन्न । अन्धाकारलाई त एउटै दियोले सखाप पार्न सक्छ यदि त्यसलाई बल्न दिने हो भने, अहिलेको समय हजारौं दियो बल्ने हो र सदाका लागि अन्धकारको अन्त्य गर्ने हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »