बलानले निल्यो सयौं बिघा जमिन

प्रकाशित समय 4:32:00 AM
मिथिलेश यादव
भगवानपुर, २८ असार । सिरहा सखुवानन्कारकट्टी गाउँपालिका इटहर्वा टोलका बिहारी यादव एक दशकअघिसम्म जमिनदार थिए । गाउँभन्दा पूर्वमा उनको सात बिघाको एउटै कित्ता थियो  । अहिले भने बिहारीको पहिचान फेरिएको छ । उनीसँग करिब १० बिघा जमिनको लालपुर्जा छ तर जमिन छैन  । सात बिघाको कित्ता बलान नदीले निलेपछि उनको पहिचान फेरिन पुगेको हो ।
यही गाउँका हरि यादवको परिवार पनि जमिनदार थियो  । सगोलमा उनको परिवारसँग करिब २२ बिघा जमिन थियो । अहिले भने उनको अवस्था पनि बिहारीकैजस्तो भएको छ  । यसको कारण हो– बलान नदीको फेरिएको धार ।
एकताका गिरहत (जमिनदार) का गाउँ भनेर कहलिने इटहर्वा, भगवानपुर, तिलेबोनालगायतका गाउँको परिचय फेरिएको छ । बलान नदी पश्चिमतर्फ मोडिएर खेतीयोग्य जमिन निल्न थालेपछि यहाँका किसान चिन्तित छन् । भगवानपुर, सखुवानन्कारकट्टी र तिलेबोना अन्न उत्पादनका हिसाबले उम्दा थिए  । घना बस्ती रहेको यी गाउँका गिरहतका लागि वरदान मानिने बलान पछिल्लो समय काल बनेर कहर मच्चाउन थालेपछि खाद्य संकटको त्रास पनि बढेको छ । विगतमा धान र गहँुको बाला झुल्ने खेत अहिले बलान नदीमा मिसिएको छ  । भगवानपुर गाउँपालिका वडा नम्बर १ का सदस्य श्रीप्रसाद पण्डितले भने, ‘यो नदीले हामीलाई रित्तो बनाइदियो ।
पहिले गाउँको उत्तरपूर्वबाट आएको पानी बगेर दक्षिणतर्फ जान्थ्यो । छिपछिपे बग्ने खहरेमा सहजै आउजाउ गर्थे यहाँका मानिस । तर २०४६ ताका बलान अचानक पश्चिमतर्फ सोझिएर खेत डुबायो  । नदीले गाउँतर्फ कटान गर्न रोकेन । पाँच वर्षपछि फेरि बलानले सैयौं बिघा खेत डुबायो  । ‘डुबान र कटानबाट खेतलाई जोगाउन हामीसँग कुनै उपाय भएन , पण्डितले भने, ‘प्रशासनदेखि नेता सबैलाई गुहार्दा पनि रोकथाम र नियन्त्रणको कार्य हुन नसक्दा वर्षै्पिच्छे यहाँको खेत नदीले निल्दैछ ।
‘झन्डै सात फिट गहिराइबाटै नदीले खेतलाई काटेर निल्दै छ,  पण्डितले थपे, ‘गाउँको नामबाहेक सबैथोक मेटिँदैछ । कृषि कर्मबाटै हामीलाई आमाबुवाले उच्च शिक्षा पढाए  । हेर्दाहेर्दै खेतसँग परिवार को हरियाली पनि ओइलियो ।  गाउँको छेउमै बग्ने बलान नदीको पानीले भगवानपुर, इटहर्वा, तिलेबोना र गढियाका करिब पाँच सय बिघा खेतमा सिँचाइ हुन्थ्यो । नदीले धार परिवर्तन गरेसँगै त्यो खेत सबै बगर बन्यो  । ‘जुन दिन खेतमा नदी पस्यो त्यसै दिनदेखि हाम्रो सर्वस्व भयो,  पण्डितले भने ।
दुई दशकअघिसम्म बलान नदी एकतर्फबाट मात्र बग्थ्यो । ‘त्यति बेला बढीमा २० फिट चौडा थियो,  पण्डित भन्छन्, ‘अहिले त गाउँ नै निल्न आँट्यो, कति चौडा भयो, अन्दाज गर्नुस् ।  बलान नदीमा झिझिर खोला मिसिएर थुप्रै धार बनाएको छ । पछिल्लोपटक आएको बाढीले नदीको पश्चिमी किनार कटान सुरु गरेको छ । चुरे मूल भएको बलान नदी त्यत्तिकै विनाशकारी बनेको होइन । चुरेको अनियन्त्रित दोहनका कारण नदीले धार परिवर्तन गरेको यस क्षेत्रका जमिनदार बताउँछन् ।
बलान नदीले पछिल्लो समय धार परिवर्तन गरी पश्चिमतर्फ हानिँदा भगवानपुर गाउँ पालिकाका १ र ४, सखुवा नन्कारकट्टीका ५ र ४, लहान नगरपालिकाका २१, २३, २४ र २५ नम्बर वडा जोखिममा परेका छन् । एक साताअघि बलान नदीको बाढीले यी वडाहरुको करिब तीन सय बिघा खेतीयोग्य जमिन कटान गरेको स्थानीयको अनुमान छ ।
बलान नदी धार परिवर्तन गर्दै गाउँतर्फ हानिएपछि रोकथामका लागि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय लहानले उपभोक्ता समितिमार्फत तटबन्ध लगाउने काम सुरु गरेको छ । कार्यालयका प्रमुख इन्जिनियर महेशकुमार साहका अनुसार इटहर्वामा तटबन्ध निर्माणको काम जारी छ । यस क्षेत्रमा ४ सय ६५ मिटरजतिमा नदी रोकथामको काम भएको उनले बताए  । तारजालीभित्र ढुंगा हालेर किनारमा ठड्याउने र बाँस गाढेर कटान नियन्त्रणको उपाय गरिएको उनले बताए  । यसका लागि कार्यालयले करिब १ करोड ३ लाख खर्च गर्दैछ ।
प्रमुख इन्जिनियर साहका अनुसार चुरे मूल भएका नदीको बाढी नियन्त्रण गर्न चुरे दोहन नै रोक्नुपर्छ । जबसम्म चुरेमा दोहन रोकिँदैन तबसम्म तल्लो भूभागमा नियन्त्रणका लागि जतिसुकै काम गरे पनि टिकाउ हुन्न ।
धरापमा बाहुना गाउँ सिरहा, सप्तरी र उदयपुरको संगमस्थल हो सप्तरीको बाहुना गाउँ । यो गाउँ सुरुंगा नगरपालिका–२ अन्तर्गत पर्छ । ३ सय ० घरधुरी रहेको यो गाउँ पछिल्लो समय बाढीका कारण अस्तित्व जोगाउन संघर्ष गर्दैछ  । चुरेको फेदमै अवस्थित बाहुना गाउँको पश्चिमबाट चुरे मूल भएर खहरे (बलान खोला) बग्थ्यो । यो खहरे खोला बाँधेर कमलपुर, बाहुना, कोल्टे लगायतका किसान खेतमा सिँचाइ गरी प्रशस्त धान फलाउँथे । २०६४ सालमा सप्तरीको तत्कालीन मधुपट्टी गाविस कदमहामा बिएस एन्ड सिएनसी जेभी नामक क्रसर कम्पनी स्थापना भयो । कम्पनीले भारतको राष्ट्रिय राजमार्ग निर्माणका लागि निर्माण सामग्री आपूर्तिको जिम्मेवारी पाएको थियो । त्यसपछि चुरे उत्खनन सुरु भयो  । ०६६ सालसम्म त्यो क्रसर कम्पनी ले यस क्षेत्रको ढुंगा खोसे्रपछि बलान नदी बस्तीतर्फ सोझियो । सोही कारण अहिले यो गाउँ बाढीको चपेटमा परेको छ ।
बढ्दो उत्खननले चुरेबाट निस्केका खहरेको संख्या बढ्दै गएको जानकार बताउँछन्  । जसले मानवीय, भौतिक र खाद्यान्न संकट थप्दैछ  । चुरे विनाश रोकेर संरक्षण तीव्र नबनाएसम्म खतराबाट पार पाउन कठिन हुने प्रमुख इन्जिनियर साहले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »