अधूरो पुलमा अल्झिएको मधेस समृद्धि

प्रकाशित समय 6:02:00 AM
मिथिलेश यादव
सिरहा, ९ साउन । हुलाकी राजमार्गमा द्रुत आवागमनका लागि २०६८ सालमा कमला र बलान नदीमा पुल शिलान्यास हुँदा सप्तरी, सिरहा र धनुषाका ग्रामीणदेखि सहरीया बासिन्दासमेत खुसी भए  । राणाकालदेखिको आश्वासन बल्ल पूरा हुने भयो भनेर यस भेगका नागरिक मख्ख परे ।
२०६८ सालमा ठेक्का लागेर निर्माणसमेत सुरु भएपछि यस भेगका बासिन्दा पुल बन्नेमा ढुक्क भए  । तर, आज आठ वर्ष भइसक्दा पनि पुल नबन्दा उनीहरूको आशा निराशामा परिणत भएको छ  । सिरहा र धनुषाबीच द्रुत सम्पर्कको सेतु हो – कमला नदीको पुल  । यो पुल निर्माणले धनुषा–सिरहाबीच द्रुत सम्पर्क मात्र हुँदैन, यहाँका जनताको जिवनस्तरसमेत द्रुत गतिमा उकासिने छ  । उसो त यो पुलसँग सिरहा र सप्तरीको मात्र नभई मधेसकै समृद्धि जोडिएको छ  ।सम्झौताअनुसार २०७१ मंसिर ३० गते निर्माण सकिनुपर्ने पुल निर्माण पछि धकेलिँदै गएको छ  । दुईपटक म्याद थपिए पनि पुल अझै पूरा हुन सकेको छैन  ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका इन्जिनियर मनोजकुमार मण्डलका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका दुई बाँधका बीचमा ४ सय ७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौंले २८ करोड १५ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो  । ०६८ जेठ ३१ गते भएको सम्झौतामा ०७१ मंसिर ३० गते निर्माण पूरा गर्ने उल्लेख गरिएको छ  । तर, दुईपटक म्याद थपेर ०७५ मंसिर ३० गतेसम्म समय लम्ब्याइयो  । तर ठेकेदारको लापर्वाहीका कारण पुल पूरा हुन अझै ५० प्रतिशत काम बाँकी रहेको इन्जिनियर मण्डल बताउँछन् ।
सम्झौताअनुसार २०७१ मंसिर ३० गते निर्माण सकिनुपर्ने कमला पुल निर्माण पछि धकेलिँदै गएको छ  । दुईपटक म्याद थपिए पनि पुल अझै पूरा हुन सकेको छैन  । यस्तै सप्तरीसँग सिरहाको द्रुत सम्पर्क स्थापित गर्ने बलान नदीको पुल निर्माण पनि अलपत्र छ  । हुलाकी सडकखण्डको सिरहा र सप्तरी जोड्ने ४ सय ७० मिटर लम्बाइको बलान पुल ०६८ फागुन १५ गते शर्मा पप्पु जेभीले ०७२ भदौ १४ सम्म बनाइ सक्ने गरी सम्झौता गरेको थियो  । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार उक्त कम्पनीले ४२ महिनामा पुल निर्माण सक्न २४ करोड ६२ लाख रुपैयाँमा ठेक्का लिएको थियो  । यो पुल निर्माणमा पनि दुईपटक म्याद थप भइसकेको इन्जिनियर मण्डलले बताए  । दश वर्ष अघिको डिजाइनमा निर्माण सुरु भएको पुल समयमै नसकिँदा नदीहरूले धार परिवर्तन गरेर अझ फराकिला बनेका छन्  । जसले गर्दा पुल प्रयोगमा ल्याउन समेत चुनौती थपिएको छ  ।
मधेसको लाइफ लाइन अलपत्र मधेसको लाइफ लाइन मानिने हुलाकी राजमार्गअन्तर्गत निर्माण हुनुपर्ने पुलहरू वर्षांैसम्म ‘होल्ड  हुँदा यसको प्रत्यक्ष मार यहाँको विकासमा परेको छ  । धनुषाको लक्कडमा निर्माण भएको कमला पश्चिम बाँध र सिरहाको बसबिट्टाको कमला पूर्वी बाँधबीच भएर बग्ने कमला नदीमा पुल निर्माण भइरहेको छ  । दुई बाँधबीच १२ सय मिटर दूरीमा ४ सय ७० मिटरको पुल बन्दै छ  ।
कमला नदीमा पुल नहुँदा १२ सय मिटरको दूरी पार गर्न दुवैतिर(सिरहा र धनुषा)का बासिन्दाको सहरा बनेको छ नाउ –डुंगा) । कमलु नाउवालाले दुवैतिरका बासिन्दालाई वारपार गराउँदै आएका छन् । कमलु भन्छन, ‘नदीमा पानीको बहाव बढेर बाढीको रूप लिँदा नाउ चलाउन खतरा हुन्छ । पाँच वर्ष भयो, कमलाको बाढीले नाउ पल्टाउँदा सात जनाको ज्यान गएको थियो ।  धनुषाको हथमुण्डा, लक्कर, बरेबा, कठाल, बनरझुल्ला, लगमा, भलुवाहा, फुलबरिया, सगहारालगायत गाउँका बासिन्दाको दैनिक उपभोग्य वस्तु खरिद गर्ने बजार सिरहा हो ।
यी गाउँका बासिन्दा किनमेल गर्न नाउ चढेर सिरहा बजार आउँछन् । सामान किनमेल गरेर फेरि नाउबाटै कमला नदी पार गर्छन् । धनुषा सगहाराकी सकिना खातुन भन्छिन्, ‘सुक्खायाममा नाउको यात्रा सुरक्षित नै हुन्छ तर, वर्षायाममा भने जोखिम हुन्छ । वर्षौंदेखि अलपत्र कमला पुल बनिदिए हाम्रो यात्रा सुरक्षित हुन्थ्यो । संसदीय र स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूको आकर्षक नारा थियो– हुलाकी राजमार्गमा आउजाउ सहज बनाउने । सप्तरी, सिरहा र धनुषामा उक्त राजमार्गसँग जोडिएको मधेसी जनताको आर्थिक समृद्धिको चुनावी नारा खुबै बिक्यो ।
हुलाकी राजमार्गको नाराले मधेसी जनमत आफ्नो पक्षमा पार्न सफल उम्मेदवारहरू सांसद, मेयर, अध्यक्ष बने । उनीहरूको जीवनशैली फेरियो तर, मधेसी जनताको जीवनशैली उस्तै छ । ‘चुनावअघि कमला पुलको अवस्था जस्तो थियो चुनाव सकिएको दश महिनापछि पनि उस्तै छ,  डुंगाबाट कमला नदी पार गरिरहेका धनुषा सगरहाराका विश्वनाथ मण्डलले नागरिकसँग भने, ‘चुनावपछि नेताहरूले नारा बिर्सेजस्तो छ । हुलाकी राजमार्ग मधेसको द्रुत सम्पर्क मार्ग हो । जसले मधेसी जनताको आर्थिक, सांस्कृतिक पक्षलाई मात्र बलियो बनाउँदैन, समग्र मधेसलाई समृद्धिको बाटोमा लैजाने बताउँछन, सिरहाका बुद्धिजीवी किशोरी यादव । ‘भारतीय सीमासँग नजिक रहेकाले यसले पूर्णता पायो भने यो क्षेत्र गुलजार हुन्छ ।
नेपालको कूल क्षेत्रफलको १७ प्रतिशत भू–भाग ओगटेको तराई–मधेसलाई अन्नको भण्डार पनि मानिन्छ । जहाँको उत्पादनले मुलुकलाई पाल्न सक्छ, भनिन्छ । तर, मधेसको मेरुदण्ड हुलाकी राजमार्ग निर्माणमा राज्यको बेवास्ताले मधेसलाई मात्र नभई देशलाई नै घाटा भइरहेको यस क्षेत्रका बुद्धिजीवी बताउँछन् । तराई–मधेसमा ५५ प्रतिशत खेतीयोग्य भूमि छ । ६० प्रतिशतभन्दा बढी उद्योग, कलकारखाना, वनजंगल र विभिन्न सांस्कृतिक धरोहर यसै क्षेत्रमा छन् । स्रोत, साधन र सुगमता प्रचुर भए पनि यो क्षेत्रका बासिन्दा (मधेसी) मानव विकास सूचकांकमा पछाडि (गरिब) छन् ।
पूर्व–पश्चिम राजमार्गसँग हुलाकी राजमार्ग र यी राजमार्गहरुसँग देहातलाई जोड्ने सहायक मार्ग निर्माण गर्नसके मधेसमा अकल्पनीय आर्थिक वृद्धि, समुन्नति र विकासले ग्रामीणजनको जीवनमा अभूतपूर्व परिवर्तन सम्भव रहेको प्रदेश २ का सांसद जगतप्रसाद यादव बताउँछन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »