ठेकेदारको इच्छामा उपभोक्ता समिति कमलामा बाढी नियन्त्रण योजना

प्रकाशित समय 4:17:00 AM
शम्भु यादव
सिरहा, २६ असार । सिरहा नगरपालिका–६ बसपिट्टास्थित कमला नदीमा बाढी नियन्त्रणका लागि ६ करोड ५६ लाख लागत मा ‘स्पर  निर्माण भइरहेको छ ।
टेन्डरमार्फत ठूला योजना बनाउनुपर्नेमा यहाँ योजना टुक्र्याएर आधा दर्जनभन्दा बढी उपभोक्ता समिति खडा गरी ठेकेदारले काम गराइरहेका छन् । उपभोक्ता समितिमा पनि स्थानीयभन्दा ठेकेदारकै हाली मुहाली देखिएको छ भने कतिपय उपभोक्ता समितिमा ठेकेदार नै समितिका अध्यक्ष छन् ।
उपभोक्ता समितिमा सम्बन्धित वडाका व्यक्ति मात्र बस्न पाउने प्रावधान छ । तर, यहाँ अन्य वडाका पनि समितिमा रहेको खुलेको छ । आफूहरूलाई थाहै नदिई उपभोक्ता समिति गठन गरिएको स्थानीय इन्द्रजित यादवले बताए । समिति गठनमा स्थानीयलाई बाइपास गर्नुले कर्मचारी र ठेकेदारको मिलेमतो देखिएको उनको भनाइ छ । ‘उपभोक्ता समिति गठन गर्न भेला बोलाइन्छ , उनले भने, ‘तर, कसैलाई थाहै दिइएन, काम भइरहेको देखेपछि हामीले थाहा पायौं ।
स्थानीय जयप्रकाश गोइतले नदी नियन्त्रणका लागि पूर्वाधार निर्माण राम्रो कार्य भए पनि रीत र्पुयाएर बजेट पचाउने काम ठीक नभएको बताए । ‘ठेकेदार र कर्मचारीले सेटिङमा काम गर्दै छन , उनले भने, ‘यी दुवै मिलेपछि हामी जनताले कराउनुबाहेक के नै गर्न सक्छौं र ! यहाँ रीत र्पुयाउने काम मात्रै भएको छ ।  ठोस काम हुन नसकेको उनको आरोप छ । ‘ठेकेदारमाथि ठेकेदार छ, नामका लागि उपभोक्ता समिति खडा गरेको छ , नदीछेउमै घर भएका रामउदगार साहले भने, ‘सानो साइजको ढुंगाले स्पर बनाउँदै छन् । खोइ ¤ कति दिन टिक्ने हो ।  केही दिनअघि सानै बाढीले स्पर मा क्षति पुगेको उनले सुनाए ।
कुन कार्यालयको कति बजेट हो भन्ने आफूलाई थाहा नभएको उपभोक्ता समितिका अध्यक्ष उपेन्द्र साहले बताए । गाउँमा तटबन्ध आवश्यक भएकाले ठेकेदार र कर्मचारीले जे भन्यो त्यही काम गरेको उनको भनाइ छ । यहाँ जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय जनकपुर डिभिजन ४ अन्तर्गत यो काम भइरहेको जनाइएको छ ।
कमला नदी नियन्त्रणका साइट इन्जिनियर विश्वनाथ यादवका अनुसार सरकारले तीन महिनाका लागि नदीजन्य पदार्थ निकाल्न रोक लगाएपछि पहिले नै जम्मा गरेको सानो साइजको ढुंगा भए पनि प्रयोग गरिएको हो । चाँडै काम सक्नुपरेकाले योजना टुक्राएर उपभोक्ता समितिमार्फत काम गराएको उनको भनाइ छ । ‘स्पर निर्माणको काम ७५ प्रतिशत सम्पन्न भइसकेको छ , उनले भने, ‘वर्षाले काममा ढिलाइ भएको छ ।  उपभोक्ता समितिमा सम्बन्धित वडाभन्दा बाहिरका व्यक्ति रहेको उनले स्वीकार गरे ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »