मलमा कार्टेलिङ्ग

प्रकाशित समय 4:04:00 AM
कमलेश यादब
सिरहा,८ साउन । सहकारीको नाममा व्यापारीहरुले कृषि सामग्री कम्पनिबाट धान खेतमा हाल्ने मल उठाउन थालेपछि सिरहामा मलको विक्रीमा कार्टेलिङ्ग प्रवृति देखिएको छ ।
किसानका लागि ल्याइएको अनुदानित मल कृषि सामग्री कम्पनिको स्थानीय शाखाबाट लिंदा भीडभाड हुने भएपछि केही वर्षदेखि कम्पनिले धान खेतमा हाल्ने मल किसानलाई सहकारीमार्फत दिने नीति बनाएको हो तर सहकारीमार्फत आपूर्ति गरिने मल समेत व्यापारीकहाँ पुग्न थालेपछि मलमा कार्टेलिङ्ग सुरु भएको हो ।
कम्पनिबाट वितरित मल किसानले लिनुपर्ने बेला सही मूल्य तिर्न पाउँदैनन् । कम्पनिबाट दुई हजार १८८ रुपियाँमा विक्री हुने ५० केजीको एक बोरा डिएपी मल किसानले खरीद गर्नुपर्दा स्थानीय व्यापारीलाई दुई हजार आठ सय रुपियाँसम्म तिर्नुपर्छ ।
कम्पनिको लहान शाखाका प्रमुख चन्द्र चौलागाई सहकारीले ढुवानी खर्च, लोड अनलोड खर्च र विक्री मूल्यको पाँच प्रतिशत मुनाफा जोडेर कम्पनिबाट लिइएको मल किसानलाई विक्री गर्नुपर्ने नीति रहेको बताउनुहुन्छ । यसबाहेक कम्पनिले लिने गरेको विक्री मूल्यमा थप १३ रुपियाँ प्रति बोरा सहकारीलाई छुट दिने गरिएको छ । कम्पनिको लहान शाखामा सिरहाका एक सय सहकारी सँस्थाहरु सूचिकृत छन् ।
किसानसँग सम्बन्धित सहकारी सँस्था कृषि सामग्री कम्पनिको लहान शाखामा पुग्दा सोझो हिसाबले मल पाउँदैनन्, लहान नगरपालिका–२ का किसान सूर्यनारायण यादवले भन्नुभयो, बजारमा बग्रेल्ती खुलेका मलखाद्यका व्यापारीसँग दुई÷तीन वटा सहकारी सँस्थाहरु छन् तिनीहरुले सहजै कम्पनिबाट मल पाउने गरेका छन् ।
व्यापारीमार्फत विक्री हुने मल दुई हजार आठ सय रुपियाँभन्दा कममा किसानलाई दिइदैन, यादवले भन्नुभयो, यो बेला व्यापारीसँग मिलोमतो गरी किसानसँग रकम असुल्न कम्पनिका कर्मचारीहरुलाई दशैं आएको जस्तो हुन्छ । व्यापारीहरुले किसानलाई बढी मूल्यमा मल विक्री गर्दा पनि कम्पनिका कर्मचारीहरु मौन रहने गरेको आरोप किसानको छ । मलमा कमिशनको जालो यहाँसम्म छ कि कृषिमा कारोबार नै नगर्ने बचत तथा ऋण सहकारी सँस्थाहरुलाई समेत बोराको बोरा मल विक्री गरिएको छ ।
कम्पनिका लहान शाखाका प्रमुख चौलागाईले मलको सवालमा बजारमा भइरहेको कार्टेलिङ्ग रोक्न आफू असमर्थ रहेको बताउनुहुन्छ । हाम्रो काम त मलको आपूर्ति हो, उहाँले भन्नुभयो, मलको खरीद विक्रीमा हुने कार्टेलिङ्ग र मूल्य वृद्धि रोक्ने काम त प्रशासनको पो हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »