डा. केसीलाई कैदी जस्तो व्यवहार गरियो ः चिकित्सक संघ

प्रकाशित समय 1:09:00 AM
कभर्ड हलमा डाक्टर केसीको उपचार असंभव, अस्पताल लैजान चिकित्सकको आग्रह
काठमाडौं, १८ असार नेपाल चिकित्सक संघ कर्णाली शाखाले डाक्टर केसीलाई स्थानीय प्रशासनले कभर्ड हलमा  कैदी  सरहको अवस्थामा राखेको आरोप लगाएको छ । सोमबार संघले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनले डाक्टर गोविन्द केसीलाई गरेको व्यवहारप्रति असन्तुष्टि जनाएको छ ।
नेपाल चिकित्सक संघ कर्णाली शाखा जुम्लाका उपाध्यक्ष डाक्टर प्रवीणकुमार गिरीले स्थानीय प्रशासनले डाक्टर केसीलाई कभर्ड हलमा  कैदी  को व्यवहार गरी राखेकोमा विरोध जनाए । जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य बिँग्रदै गएकोले अनसनस्थलमा उनको उपचार संभव नभएकोले अस्पताल लैजान चिकित्सकले आग्रह गरेका छन् । डाक्टर केसीको स्वास्थ्य परीक्षण कभर्ड हलमा संभव छैन,  डाक्टर गिरीले विज्ञप्तिमार्फत् भनेका छन,  डाक्टर केसीको जीवनरक्षा गर्न उनलाई यथाशीघ्र सुरक्षित स्थानमा सार्नुपर्छ ।
डाक्टर केसीको स्वास्थ्य अवस्था बिँग्रदै गए पनि स्थानीय प्रशासनले कुनै कदम नचालेको भन्दै चिकित्सक संघले आन्दोलन को कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश नम्वर ६ का सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले सोमबारदेखि हातमा कालो पट्टी बाँधेर बिरामीको उपचार गरेका छन् । संघले २४ घण्टाभित्र डाक्टर केसीलाई स्थानान्तरण नगरे आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ । तर, जुम्ला प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान निषेधित क्षेत्र भएकोले केसीलाई त्यहाँ लैजान नमिल्ने अडान राखेको छ ।
कभर्ड हलमै डाक्टर केसीको उपचार गर्ने गरी चिकित्सकको समूह परिचालन गरिएको छ । डाक्टर गिरीको नेतृत्वको ३ जनाको टोलीले अनसनरत केसीको स्वास्थ्य अवस्थाको निगरानी गरिरहेका छन् । कभर्ड हल फोहोर, पानी चुहिने, बत्ती नभएको अँध्यारो भएकाले बिरामी राखेर उपचार गर्न नसकिने चिकित्सक बताउँछन् । चिकित्सा क्षेत्रको सुधारका लागि विभिन्न सात बुँदे माग राखेर शनिबारदेखि केसीले आमरण अनसन जारी राखेका छन, यो उनको १५ औं अनसन हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »