सिरहामा २५ हजार लिटर अवैद्य मदिरा नष्ट

प्रकाशित समय 9:15:00 PM
राम बाबु यादब
सिरहा, १२ साउन । पछिल्लो एक हप्तामा सिरहा प्रहरीले विभिन्न स्थानबाट २५ हजार अवैद्य मदिरा नष्ट गरेको छ ।
अवैद्य मदिराको कारण न्यून आम्दानी भएकाहरुको जीउधनमै क्षति हुन थालेपछि जिल्ला प्रहरी कार्यालयले सिरहामा गत जेठ १५ देखि अवैद्य मदिरा उत्पादन गर्ने मदिरा भट्टीहरुमा छापा मार्ने अभियान सुरु गरेको थियो । अभियान सुरु गरेपछि सिरहा प्रहरीले लहान, मिर्चैया, गोलबजार, धनगढी, सुखीपुर नगरपालिकाको विभिन्न स्थानबाट २४ हजार ९६७ लिटर अवैद्य मदिरा नष्ट गरिसकेको छ । सहज रुपले पुग्न सकिने बजारी क्षेत्रमा हुने मदिरा उत्पादनको यो परिणामले सिरहा प्रहरीलाई गाउँ गाउँमा समेत अवैद्य मदिराको खोजी गर्ने विषयतर्फ केन्द्रित बनाएको छ ।
सिरहाको विभिन्न स्थानमा उत्पादन हुने अवैद्य मदिरा खास गरी लहान, गोलबजार र मिर्चैयाका लोकमार्गस्थित होटलहरुमा विक्री हुने गरेको छ । यसबाहेक जिल्लाको प्रायः सबै हाट बजारमा खुल्ला रुपमा राखिने अवैद्य मदिराका पसल र भारतीय सीमा नजिक रहेका नेपाली बजारमा रहेका मदिरा पसल अवैद्य मदिराको प्रमुख विक्री केन्द्र हुन् । अवैद्य घरेलु मदिराले समाजमा सुरक्षा लगायत अन्य सामाजिक वातावरणमा खलल पु¥याउने देखिएकोेले बरामद गरी नष्ट गर्ने अभियान नै सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरिक्षक जीवन श्रेष्ठले बताए ।
घरेलु मदिराले महिला हिंसा र समाजमा अवाञ्छित क्रियाकलाप बढाउने भएकोले अपराध नियन्त्रण गर्न घरेलु मदिराको उत्पादनमा रोक लगाउनु आवश्यक छ, प्रउ श्रेष्ठले भने, कतिपयले हाम्रो पेशा यही नै हो भनेर हारगुहार गर्न आइरहेका छन् तर हामीले अवैद्य मदिरा उत्पादन भन्दा पनि अन्य वैकल्पिक आय आर्जनको बाटो रोज्न सल्लाह दिंदै आएका छौ । अवैद्य मदिरा उत्पादन भएका भट्टीहरु पुनः सञ्चालन गरिए त्यसका सञ्चालकसहित घरधनीहरुलाई कानूनी दायरामा ल्याउने चेतावनी दिइसकेको प्रउ श्रेष्ठले बताए ।
सीमावर्ती भारतको विहार राज्यमा त्यहाँको सरकारले मदिरा किनबेच र सेवनमा प्रतिबन्ध लगाएपछि भारतीय ग्राहकलाई लक्षित गरी यहाँ घरेलु मदिरा उत्पादनमा बृद्धि भएको बताइएको छ । सस्तो र बढी नशा लाग्ने भएका कारण स्थानीयदेखि भारतीय ग्राहकहरु समेत घरेलु मदिराप्रति आकर्षित हुने हुनाले चुरेको डाँडादेखि सीमावर्ती क्षेत्रसम्म घरेलु मदिरा उत्पादन भइरहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »