सिरहामा साठी प्रतिशत मुद्दा फछ्र्यौट

प्रकाशित समय 1:46:00 AM
राम बाबु यादब
सिरहा, १ साउन । सिरहा जिल्ला अदालतले आर्थिक वर्ष २०७४÷७५ मा अदालतमा रहेको कुल मुद्दामध्ये ६० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।
सिरहा जिल्ला अदालतद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्ला न्यायाधिश माननीय सुदर्शनराज पाण्डेले मुद्दा फछ्र्यौटको सन्दर्भमा यो अहिलेसम्मकै बढी रहेको जानकारी दिए । अदालतमा उक्त आर्थिक वर्षमा दर्ता रहेको र अघिल्ला वर्षहरुबाट मौज्दात रहेका गरी चार हजार ८५१ मुद्दाहरुमध्ये दुई हजार ९२८ मुद्दा फछ्र्यौट गरिएको बताए । बाँकी रहेको एक हजार ९२३ मुद्दाहरु यसै आर्थिक वर्षमा फछ्र्यौट गर्न प्राथमिकतामा राखिने बताइएको छ ।
कैद सजायतर्फ तीन हजार ३५१ वर्ष आठ महिना १० दिनमध्ये ३१७ वर्ष १० महिना २६ दिनको कैद फछ्र्यौट भई तीन हजार ३३ वर्ष नौ महिना चार दिन बाँकी रहेको छ । उक्त आवमा फछ्र्यौट भएका कैद सजायमध्ये २३ वर्ष आठ महिना ६ दिन विशेष अभियानबाट तथा चार वर्ष पाँच महिना १३ दिन कैद लगत फछ्र्यौट समितिबाट फछ्र्यौट भएको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी, जरिवानातर्फ चार करोड ८३ लाख १५ हजार ३९७ मध्ये ७६ लाख १० हजार ४८० रुपियाँ मात्र असुल भएको बताइएको छ । जरिवानातर्फ फछ्र्यौट गर्नुपर्ने कुल जरिवानामध्ये चार करोड सात लाख चार हजार ४८० रुपियाँ फछ्र्यौट हुन बाँकी रहेको बताइएको छ ।
जिल्ला न्यायाधिश पाण्डेले फछ्र्यौट गर्नुपर्ने ठूलो सँख्याको कैद र जरिवाना कसुरदारहरु फरार हुने र अदालतको फैसला नमान्ने प्रवृतिका कारण बढ्दै गएको बताए । फरारी कसुरदारहरुलाई पक्रन हामीले नेपाल प्रहरीलाई खटाएका थियौ तर कसुरदारहरुले नेपाल प्रहरीलाई समेत टेर्न छोडेका छन्, उनले भन्नुभयो, यस आर्थिक वर्षदेखि फरारीहरुलाई पक्रन सशस्त्र प्रहरीलाई समेत परिचालन गर्ने तयारी भइरहेको छ ।
सिरहामा न्यायिक क्षेत्रलाई सेवाग्राहीमैत्री बनाउन न्यायाधीशहरुको अध्यक्षतामा विभिन्न समिति गठन गरिएको, हरेक महिना ‘मिट द जज  कार्यक्रम सञ्चालन गरिएको, सदरमुकाम बाहिरका ग्रामीण भेगमा न्यायाधीश र सर्वसाधारणबीच न्यायिक गतिविधिको विकृतिबारे छलफल गर्न ‘न्यायमा बाह्य पहुँच  कार्यक्रम सञ्चालन गरिएको र आवश्यकता अनुसार पटक पटक बार र बेञ्चबीच अन्तरक्रिया हुँदै आएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »