वर्षाको पानीले सिरहाको विभिन्न भाग जलमग्न

प्रकाशित समय 1:04:00 AM
राम बाबु यादब
सिरहा, १८ असार । सोमबार विहानदेखि परेको वर्षाको पानीले सिरहाको विभिन्न भाग डुबानमा परेको छ । वर्षासँगै आएको विभिन्न खोलानदीको बाढीले सिरहाको दुई गाउँ भगवानपुर र भेडियामा खोलानजिकको जग्गाहरु कटान गर्न सुरु गरिसकेको छ ।
सिरहाको पुर्वी दक्षिण भागमा पर्ने भगवानपुरको १० विगाहा जग्गा बलानमा आएको बाढीले कटान गरिसकेको भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादवले जानकारी दिए । त्यसबारेमा लहानस्थित जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालयलाई जानकारी गराउँदा त्यहाँबाट दिउसो १ः०० बजेसम्म प्रकोप सम्बन्धि कुनै सामग्री नै नआइपुगेको अध्यक्ष यादवले गुनासो गरे ।
यसैगरी कमला नदीको बाढी सिरहाको पश्चिम भागमा पर्ने भेडिया गाउँमा पस्ने खतरा बढेको स्थानीय उत्तिमलाल मुखियाले जानकारी दिए । लगातार वर्षा भइरहने हो भने सोमबार साँझसम्म कमलामा बढ्ने बाढीको वहावले भेडियालाई जलमग्न बनाउन सक्ने मुखियाले बताए ।
सोमबार विहान २ बजेदेखि परेको अविरल मुसलधारे वर्षाले सिरहाको अधिकांश गाउँ प्रभावित भएको छ । लोकमार्गदेखि दक्षिणतर्फको होचो भुभागमा अवस्थित गाउँहरुमा रहेको वस्तीमा पानीको निकास नहुँदा वर्षाको पानी घरघरमा पुगेको छ । वर्षाको पानीले लोकमार्गमा रहेको चोक वस्तीलाई समेत प्रभावित पारेको छ ।
वर्षाको पानीको निकास नहुँदा मिचैयाको मुख्य सडकमा पर्ने थाना चौक, बजार क्षेत्र र कटारी चौक लगायतका स्थानहरुमा पानी जमेकाले आवतजावतमा समस्या भईरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा मिर्चैयामा पानीको निकास नहुँदा लोकमार्गमा सवारीसाधन आवागमनमा समस्या भइरहेको छ । मिर्चैयामा नाला निर्माणका लागि खनिएका खाल्डोहरु अधुरै रहेकोले स्थानिय व्यवसायीहरुको पसलको अगाडी पानी जमेकोले थप सकस भएको छ भने मिर्चैयाको थाना चौक र बजार क्षेत्रको अधिकांश घरमा पानी पसेको छ । वर्षाले मिर्चैयाका सडक तथा बाटोहरु जलमग्न र हिलाम्य भएको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले वर्षा र बाढीबाट सिर्जित समस्याको समाधानका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय तह सबैलाई प्रकोप व्यवस्थापन तथा उद्धारका लागि सजग रहन पत्राचार गरिसकेको जानकारी दिए । 
जिल्लाको सबैभन्दा जोखिम युक्त क्षेत्र मानिएको कमला नदीको किनारमा पुर्व प्रकोप सम्बन्धि अभ्यास समेत गराइसकेको हुनाले सम्भावित क्षति न्यूनिकरण गर्न हामी तयारी अवस्थामा छौ, प्रजिअ पण्डितले भने, अहिले कमलाको वहाव ३ दशमलव ५ भन्दा माथि पुगे खतराको अवस्था उत्पन्न हुन्छ तर अहिले २ दशमलव ४ मा छ । उनले वर्षा र बाढीले प्रभावित हुने जिल्लाको सबै स्थानहरुको पहिचान गरिसकेको हुनाले विपद व्यवस्थापनको लागि आफूहरु सजग रहेको बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »