पुनः मौलाउ“दै लागुऔषधको कारोबार

प्रकाशित समय 8:04:00 PM
कमलेश यादब
सिरहा,२१ असार । बजारी क्षेत्रमा जतिसुकै कडाई गरे पनि सीमा नाकामा तैनाथ रहेका स्थानीय प्रहरीको मिलोमतोका कारण सिरहामा लागुऔषधको कारोबार पुनः मौलाएको छ ।
पहिले लहान–ठाडी सडकलाई लागु औषधका कारोबारीहरुले मुख्य रुट बनाए पनि लागुऔषध ओसारपोसार गर्न अहिले सिरहाको सबै रुट प्रयोग गर्न थालिएको छ । सोही कारण जिल्ला प्रहरी कार्यालयको टोलीले यदाकदा माडर र ठाडी जस्तो सुरक्षाको दृष्टिले बलियो मानिएको सीमा नाकाबाट सहजै नेपाल भिœयाइएका लागु औषध बजारी इलाकाबाट बरामद गर्ने गरेको छ ।
लागुऔषधको धन्दामा सीमा नाकामा रहेका प्रहरीकै मिलोमतो भएको देखिएपछि यो विषय सिरहा प्रहरीको लागि टाउको दुखाई भएको छ । सीमा नाकाबाट स्थानीय प्रहरीको मिलोमतोमा भन्सार छली तथा लागुऔषध भित्रिन थालेको पाइएपछि दुई महिना अगाडि सिरहाका तत्कालिन प्रमुख शेखर कोइरालाले सीमावर्ती सबै प्रहरी इकाईहरुको प्रमुखहरुको अन्तरजिल्ला सरुवा गर्नुभएको थियो । तत्कालिन प्रहरी उपरिक्षक कोइरालाको उक्त कार्यपछि सिरहामा भन्सार छली तथा लागुऔषधको कारोबारमा निकै नियन्त्रण देखिएको थियो तर उहाँको पदोन्नति भई जिल्ला बाहिर जानुभएपछि भन्सार छली र लागुऔषधको कारोबार पुनः बढेको छ । 
सिरहा प्रहरीले लागुऔषधलाई निषेध तथा नियन्त्रण गर्न बजारी क्षेत्रमा गत असार १२ गते विभिन्न सचेतना कार्यत्रस्म सञ्चालन गरेको थियो तर जतिसुकै सचेतना कार्यक्रम सञ्चालन गरे पनि सीमा नाकामा रहेका प्रहरी इकाई कार्यालयहरुले इमान्दारिता निर्वाह नगर्दा भारतबाट लागु औषधसम्बन्धि विभिन्न सामग्री सिरहाको लोकमार्गस्थित बजारी क्षेत्रमा खरीदविक्री हुने गरेको छ ।
लागु औषधका कारोबारीहरुले भारतको सीमावर्ती बजार लोकाहा, लदनिया तथा जयनगरबाट प्रतिबन्धित लागु औषधहरु झिकाई मिर्चैया, गोलबजार र लहानमा ल्याउने र यहीबाटै सिरहा र उदयपुरका विभिन्न स्थानहरुमा आपूर्ति गर्ने गरेको भेटिएको छ । लागु औषध सेवनकर्ताहरुले कोरेक्स, डाइलेक्स, फेनारगन, नाइट्रोसन, गाँजाका साथै लुपिजेसिज, डाइजिपम लगायतका इन्जेक्सन सेवन गर्ने गरेका छन् ।
सिरहा प्रहरीले गत असार १० गते एकै दिन दुई स्थानबाट बरामद भएको ठूलो सँख्याको लागु औषधको मात्राले जिल्लामा लागुऔषधको कारोबार पुनः मौलाएको ठहर गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले गत असार १० गते सिरहा नगरपालिका–१७ स्थित पटेर्बाबाट मिर्चैया नगरपालिका–६ बस्ने कृष्ण मगरातीबाट प्रतिबन्धित विभिन्न लागुऔषध ३८० थान बरामद गरेको थियो । मगरातीले हेल्मेटको कभरभित्र राखेर उक्त सँख्यामा लागुऔषध भारतबाट चोरी पैठारी गरेका थिए । त्यसैगरी सोही दिन सिरहा सदरमुकामको मुख्य चोकमा रहेको हेमनारायण चोकमा सरस्युको तेल राख्ने टिनको भाँडोभित्र प्लाष्टिकको बोरामा प्याक गरेर राखिएको अवस्थामा ८१ बोतल डाइलेक्स पस्ेला पारेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक माधव खरेलले केही दिनदेखि सिरहाको बजारमा पसट्टपस्ुट्ट रुपमा लागुऔषधका सामग्रीहरु बरामद भइरहेको उल्लेख गर्दै भन्नुभयो, हामीले सीमा नाकाबाट यस्ता सामग्रीहरु भित्रिन नदिन विभिन्न उपायहरु अवलम्वन गर्दै आइरहेका छौ तर लुकिछिपी चोरेर ल्याउने प्रवृतिले लागुऔषधजन्य सामग्रीको कारोबार पूर्ण रुपले ठप्प बनाउन मुस्किल परेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »