कांग्रेसले आफ्नो पाप पखाल्यो, नेकपाले के गर्छ?

प्रकाशित समय 12:17:00 AM
अमित ढकाल

त्यो डा. गोविन्द केसीको चौधौं अनसन थियो । शेरबहादुर देउवा प्रधानमन्त्री थिए । पुष्पकमल दाहाल सत्ता साझेदार । देउवालाई तनाव थियो– ‘यो डाक्टर विनाकाम सधैं अनसन बसेर दुःख दिन्छ । डा. केसीको अनसन गाँठो कसरी फुकाउने भनेर उनले छलफलका लागि दाहाल र केपी ओलीलाई सिंहदरबार डाके । केदारभक्त माथेमा कार्यदलका सदस्यलाई डाके । दाहाल प्रधानमन्त्री हुँदाका स्वास्थ्यमन्त्री गगन थापालाई पनि डाके । त्यो साँझ राजनीतिज्ञ र माथेमा कार्यदलका सदस्यबीच चिकित्सा शिक्षाबारे जमेर छलफल भयो ।
देशमा मेडिकल कलेज अभाव भएर नेपालीहरू मेडिसिन पढ्न बाहिर गइरहेको कुरा उठ्यो । छलफलबीच कार्यदल सदस्य डा. भगवान कोइरालाले उठेर भने– डाक्टर बन्न चाहनेहरू नेपालमा पढ्न नपाएर विदेश जान्छन, अर्बौं रुपैयाँ बाहिरिन्छ भन्ने धेरैलाई लाग्छ, त्यो साँचो हैन । भ्रम हो । यसबारे म केही भन्न चाहन्छु । त्यसपछि उनले नेपालमा मेडिकल कलेजको संख्या, नेपाललाई चाहिने डाक्टर संख्या, विदेश जानेको संख्या किन घटिरहेको छ, किन केही विद्यार्थी अझै विदेश गइरहेका छन् लगायत चिकित्सा क्षेत्रका विकृति र सुधारबारे लामो व्याख्या गरे । कोइरालाको कुरा सुनिसकेपछि प्रधानमन्त्री देउवाले भने– ल ¤ मैले त यी कुरा बुझेकै थिइनँ । मलाई त विद्यार्थी बाहिर लैजानेको पक्षमा डाक्टरले काम गरिरा छ भनेका थिए । मलाई पनि हो जस्तो लाग्थ्यो ।
डा. केसीले १४ पटक अनसन बसिसकेपछि र राज्यले १४ पटक नै उनीसँग सम्झौता गरिसकेपछि पनि कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाको केसीबारे बुझाइ त्यति सतही र गलत थियो । त्यसमा अचम्म मान्नुपर्ने केही छैन । मेडिकल शिक्षाबारे देउवाले जसको कुरा सुन्थे, जोसँग उनको संगत थियो, त्यसले उनको बुझाइ निर्धारण गरेको थियो । कसको कुरा सुन्थे देउवा? २०७० सालको संविधानसभा चुनावमा कांग्रेसले पाँच जना व्यापारीको नाम समानुपातिकतर्फ सांसद बन्नेमा राखेको थियो ।
ती पाँचै सिट व्यापारीलाई बेचिएका थिए । पाँच सिटमा पनि भागबन्डा थियो । तीन सिट सुशील कोइराला पक्षले राखेको थियो, दुई सिट देउवा पक्षले । एमालेले पनि त्यति नै संख्यामा व्यापारीलाई सिट बेचेको थियो । एमालेभित्र राज्यलक्ष्मी गोल्छा प्रकरण त्यही बेला चलेको हो । व्यापक विरोधपछि कांग्रेसले समानुपातिक सूची संशोधन गर्यो । सबै व्यापारीका नाम काट्यो । यसरी सूचीबाट नाम काटिनेमध्ये एक थिए, खुमा अर्याल । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका सञ्चालक ।
देउवाले पाएका दुई सिटमध्ये एकमा अर्याल सिफारिस भएका थिए । अर्यालले चुनावका लागि दिएको पैसा पनि गयो, सांसद सिट पनि गयो भन्दै साथीभाइसँग पछि गुनासो गरे । चिकित्सा शिक्षाबारे नेताहरुका धारणा बेडरुमसम्म पहुँच भएका तिनै मेडिकल व्यवसायीले बनाउने हुन् । नेताहरूलाई अरुका कुरा धेरै सुन्ने फुर्सद पनि हुन्न । धन्न देउवाले त्यस दिन माथेमा कार्यदलका सदस्यलाई बोलाए र यथार्थ बुझ्न पाए । सिंहदरबार छलफलको अन्त्यमा देउवाले  डा. केसीको अनसन कसरी समाधान गर्ने, समान धारणा बनाऔं  भने । दाहालले भने– मिलाएर समाधान गरौं, लगानी गरिसकेकालाई खोल्न दिऊँ । अरु डा. केसीको मागअनुसार गरौं ।
बोल्ने पालो आएपछि ओलीले त्यहाँ छलफल भएका विषयमा आफ्नो कुनै राय राखेनन् । चिकित्सा शिक्षा विधेयकबारे कुनै तर्क–वितर्क गरेनन, जसरी आज पनि गरिराखेका छैनन् । यति भने,  कोही अनसन बस्दैमा म उसका सबै कुरा मान्ने पक्षमा छैन । त्यसपछि देउवातिर फर्केर प्रश्न गरे– म अनसन बसेँ भने तपाईं मलाई प्रधानमन्त्री बनाउनु हुन्छ? त्यो बैठक त्यतिकै टुंगियो ।
देउवाले छलफल जारी राखे । सायद त्यस दिन उनमा मैले त बुझेकै रहेनछु भन्ने पर्यो । सायद डा. केसीको अनसन सम्बोधन गर्ने जिम्मेवारीले पनि थिच्यो । त्यसपछि केदारभक्त माथेमासँग छलफल गरे । डा. केसी र उनका टिम बोलाएर छलफल गरे । त्यो समय चिकित्सा क्षेत्रका लगभग सबै छलफलमा उनले गगन थापालाई सँगै राख्थे । गगनले कांग्रेसको निजीकरण नीतिमा कहाँ के गल्ती भयो, अब यसलाई कसरी सुधार्नुपर्छ भनेर तर्क गर्ने र बुझाउने मौका पाए । उनले देउवालाई भने– राज्यले चुरोट, जुत्ता लगायत कारखाना चलाउने र घाटामा गएका ती उद्योगका कर्मचारी पोस्ने काम गलत थियो । त्यसैले त्योबेला त्यस्ता उद्योग निजीकरण गर्ने कांग्रेस नीति ठीक थियो । तर शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यको भूमिका खुम्च्याउनु र नियमन बलियो पार्न नसक्नु कांग्रेसको कमजोरी थियो । उनले देउवालाई सम्झाए– अब सार्वजनिक शिक्षा र स्वास्थ्यमा राज्यको भूमिका बढाउँदै जाने नीति लिएर अगाडि जाउँ । त्यसले मुलुकलाई राम्रो हुन्छ, हामीलाई पनि राजनीतिक फाइदा हुन्छ ।
सत्ताको दाउपेचमा यस्ता ‘नीति  ले पार्ने प्रभाव देउवालाई थाहा नहुने कुरै भएन । उनले दाहालसँग कुरा गरे । डा. केसीका सबै माग समेटेर चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउनुपर्यो भनेर सम्झाए । दाहाल पछि सरे, नारायणकाजी र गिरिराजमणिलाई जिम्मा लगाइदिए । दाहाललाई माओवादी ‘जनयुद्ध  समयका आफ्ना कार्यकर्ता तथा बिएन्डसी अस्पतालका मालिक दुर्गा प्रसाईंको ‘गुन  तिर्नुपर्ने बाध्यता थियो । संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गर्न माओवादीले साथ नदिने देखेपछि कांग्रेसले अध्यादेशको बाटो समात्यो । डा. केसीका लगभग सबै माग समेटेर चिकित्सा शिक्षा अध्यादेश जारी गर्यो ।
गगन थापा र स्वर्णिम वाग्ले भएर कांग्रेसको चुनाव घोषणापत्रमा लेखे– स्वास्थ्य र शिक्षामा मान्छेको निजी पुँजी हावी हुने तर नवीन सोच र गतिशीलता चाहिने उत्पादनमूलक उद्योगहरू राज्यले चलाउनुपर्छ भन्ने उल्टो समाजवाद हामीलाई स्वीकार्य छैन । नेपाली कांग्रेस सुल्टो समाजवादको पक्षमा छ । अर्थात, उद्योगधन्दा, कलकारखाना निजी क्षेत्रलाई छोडिदिने, शिक्षा र स्वास्थ्यमा राज्यको भूमिका बढाउने । सार्वजनिक स्वास्थ्य र शिक्षामा राज्यको लगानी बढाउँदै लैजाने । अहिले डा. केसीको अनसन जारी रहँदा नेकपाका ठूला नेता–कार्यकर्ताले मुलुकमा निजीकरण लाद्ने ‘पाप  कांग्रेसले गरेको भन्दै आलोचना गरेका छन् । कांग्रेस सत्तामा रहँदा, गगन मन्त्री हुँदा डा. केसीका माग सम्बोधन गर्न के गर्यो? भनेर प्रश्न गरेका छन् ।
यो त बक्सिङ रिङमा प्रतिद्वन्द्वीका अगाडि  ल, आइज¤  भनेर मुख थापेजस्तो भयो ।
संसदमा उभिएर गगन थापाले  पहिले पापै गरेको भए पनि सही । हामीले त्यो पाप अहिले फाल्यौं । त्यही पापको पोको बोकेर हिँड्न नेपाल कम्युनिष्ट पार्टी किन लालयित छ  भनेर सोधे भने नेकपाले के उत्तर दिन्छ? मिनेन्द्र रिजालले संसदमा  अध्यादेशमार्फत कानुन जारी गरेर हामीले डा. केसीका सबै माग सम्बोधन गर्यौं । हामीले सरकारमा हुँदा उनका माग पूरा गर्यौं । त्यसलाई अहिले उल्ट्याउने काम कसले गर्दैछ  भनेर सोधे भने? नेकपा यहाँनेर एउटा कुरा बुझ्न चुकिरहेको छ । लामो समय शिक्षा, स्वास्थ्य, निजीकरण तथा बजार नियमन विषयमा कांग्रेस रक्षात्मक अवस्थामा थियो । उसले कतिपय विषयमा गल्ती महशुस गरेर, कतिपय सवालमा कूटनीतिक रुपमा प्रतिद्वन्द्वी नेकपालाई पछार्न आफ्ना नीतिमा  रणनीतिक परिवर्तन  गर्ने प्रकिया सुरु गरिसकेको छ । देउवा सरकारले चिकित्सा शिक्षा अध्यादेश सोचविचार गरिकन त्यही रणनीतिअन्तर्गत जारी गरेको हो । संसदमा अहिले दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा चलिरहेको रस्साकस्सी पनि त्यसैका हिस्सा हुन् । कांग्रेसले यो विधेयक बहस सकेसम्म लम्ब्याउने छ । नेकपालाई यो विवादमा सकेजति घिसार्नेछ । नेकपा आममानिसका पक्षमा हैन, धनी व्यापारीका पक्षमा काम गर्दैछ भनेर देखाउन भरमग्दुर प्रयत्न गर्नेछ ।
लोकतान्त्रिक व्यवस्थामा सत्तापक्ष र विपक्षीबीच शक्ति सन्तुलनको एउटा प्राकृतिक विधि छ– आममानिसले सत्तामा बसेका नेताभन्दा प्रतिपक्षीको कुरा धेरै सुन्छन, पत्याउँछन् । किनभने सत्तापक्षले परिणाम देखाउनुपर्छ, प्रतिपक्षीले प्रश्न गरे पुग्छ । कांग्रेस–नेकपाबीच अहिले चलिरहेको राजनीतिक घम्साघम्सीमा वाम नेता–कार्यकर्ता चौबाटोमा मुख पछाडि फर्काएर ठि· उभिएका मानिसजस्ता देखिएका छन् । चिकित्सा शिक्षा अध्यादेश र विधेयक मुलुकभर चर्चामा छ । बहस र विवाद छ । मिडियामा हरेक दिन नयाँ तर्क, नयाँ तथ्य बाहिर आएका छन् । नेकपाका नेता–कार्यकर्ता तर्कसाथ सरकारको बचाउ गर्दै बोल्न र लेख्न सकिरहेका छैनन् । उनीहरूले बाहिर सरकारको बचाउ गर्दै बोल्ने तर्क भेटिरहेका छैनन् । पार्टी्भित्र बोल्ने ठाउँ पाइरहेका छैनन्¤ दुई वाम एकीकरणपछि नेकपा ठूलो पार्टी भयो कि सानो? बलियो भयो कि कमजोर?
यसमा एउटा कारण नेता–कार्यकर्ताको व्यक्तिगत इमान पनि हो । सत्तामा हुँदा होस् विपक्षमा, एउटै इमानमा अड्ने नेता–कार्यकर्ताको विवेक, आत्मविश्वास, तर्क गर्ने क्षमता, पार्टी भित्र–बाहिर लड्न सक्ने शक्ति बलियो हुन्छ । सत्ता र सडकको चक्रसँगै जसको ‘इमान  ले पिङ खेल्छ, उसँग बोल्ने मौलिक कुरा हुन्न । धेरै आँट हुन्न । सरोकार पनि हुन्न । किनभने उसको ध्याउन्न अरु नै हुन्छ । आज डा. केसीको विरोध गर्ने धेरै वाम नेता–कार्यकर्ताले हिजो आफूहरू सडकमा हुँदा उनको पक्षमा बोलेका थिए । आज पार्टी सत्तामा भएका बेला कुरा फेरिएका छन् । त्यो बेला उनीहरूले बोलेका, लेखेका कुरा अहिले मानिसहरुले खोजेर समाजिक सञ्जालमा छ्यापछ्याप्ती पारेका छन् ।
डा. केसी भने हिजो जहाँ थिए, आज त्यहीँ छन् । हिजो जे बोलिरहेका थिए आज पनि त्यही बोलिरहेका छन् । कांग्रेस, एमाले, माओवादी जोसुकै सत्तामा होस्, चिकित्सा शिक्षा सुधारका लागि हिजो पनि उनी अनसन बसेका थिए । आज पनि बसेका छन् । कांग्रेसनिकट चिकित्सा व्यवसायी, वाम निकट व्यवसायी सबैको स्वार्थ्विरुद्ध सधैं बोलेका छन् । गरिबका लागि राजनीति गर्दागर्दै आफू कहिले धनी भएछु भन्ने पत्तै नपाएका कांग्रेस–कम्युनिष्ट नेता–कार्यकर्ता हैनन् डा. केसी । न त एक काँधमा समाजवाद–साम्यवादको सपना, अर्को काँधमा धनी व्यापारीको एजेन्डा बोकेर हिँडेका नेता हुन् उनी । डा. केसीका कमजोरी पक्कै छन, उनी भगवान हैनन् । इमान र साहस भएका मानिस भने पक्कै हुन् ।
डा. केसीको आलोचनामा समय खेर फालेर नेकपाका नेता–कार्यकर्ता जानी–नजानी कांग्रेसको हितमा काम गरिरहेका छन् । कांग्रेसलाई लागेको होला, नेकपालाई चिकित्सा शिक्षा मुद्दामा यसपालि झुकाउन सके आफ्नो जित हुन्छ । सँगसँगै यो पनि लाग्दो हो, केही गरी नेकपाले यो मुद्दा सल्टाएन भने दीर्घकालसम्म कांग्रेसले बलियो राजनीतिक मुद्दा पाउनेछ । आजसम्म आफूले बोकेको  पापको पोको  नेकपाका काँधमा सर्नेछ । नेकपा नेता–कार्यकर्ताले ठन्डा दिमागले सोचून– डा. केसी अनसनको उचित हल खोजेर पछिका लागि आफूलाई सजिलो पार्ने, वा अहिलेलाई  आफ्नो हठको जित खोजेर दीर्घकालमा पार्टी र मुलुकलाई नोक्सान पार्ने?
डा. केसी अनसनको उचित सम्बोधन भएन भने चिकित्सा शिक्षा मुद्दा जीवितै रहनेछ । न त्यो डा. केसीले छाड्नेछन्, न मिडियाले छाड्नेछ, न कांग्रेसले । नेकपाका लागि यो सधैं काउसो बनेर रहनेछ । उसलाई राजनीतिक क्षति हुनेछ । मुलुकको हित अर्कै कुरामा छ– यो विषय नेकपाले सदाका लागि नउठ्ने गरी सम्बोधन गर्ने । कांग्रेसलाई अर्को मुद्दा खोज्न दुखेसो गर्न बाध्य बनाउने । आफू विकास र समृद्धिका लागि प्रोपोगाण्डाभन्दा परिणाममूलक काममा लागिरहने । ताकि अर्को चुनाव पनि कांग्रेसका लागि फलामको च्यूरा बनोस् । बलियो र लोकप्रीय नेकपासँग लड्न बलियो कांग्रेस बनाउन ऊ बाध्य होस् । तब पो लोकतन्त्रको जित हुन्छ । तब पो मुलुक अगाडि बढ्छ । सेतोपाटीबाट सभार

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »