कृषि श्रमिकलाई ज्यालाकै समस्या

प्रकाशित समय 1:23:00 AM
कमलेश यादब
सिरहा, २० असार । समयमै भएको वर्षाले गर्दा कृषकहरुलाई असार १५ गतेदेखि धानको रोपाईं गर्न भ्याई नभ्याई छ तर कृषकको खेतमा धान रोपनी गर्ने कृषि श्रमिकहरुले आफूले श्रम अनुसार ज्याला पाउन नसकेको गुनासो गर्न थालेका छन् ।
सिरहाका कृषि श्रमिकहरुले सरकारी दररेट अनुसार प्रत्येक श्रमिकको दैनिक ज्याला न्यूनतम ५०० रुपियाँ निर्धारण गरे पनि आफूहरुले खेतमा खनजोत र रोपाई गर्दा दररेट अनुसार ज्याला पाउन नसकेको गुनासो गर्दै आएका छन् । उनीहरुका अनुसार, गाउँमा गृहथ (जग्गावाला) को खेतमा श्रम गरेवापत धान लिएमा दैनिक आठ केजी अथवा नगद लिएमा दैनिक दुई सय रुपियाँ मात्र पाउने गरेको गुनासो छ ।
हामीले बारम्बार आफूहरुको उचित ज्यालाको लागि गृहथहरु सँग माग गरिरहेका छौ तर उनहरुले सुन्नुभएको छैन, लक्ष्मीपुर पतारी गाउँपालिका–४ की बच्चियादेवी सदायले भने, ज्यालासम्बन्धमा हामी विचार गर्छौ तिमीहरु धान रोप न भनेपछि हामीले धान रोप्यौ ।
धान रोपाईपछि गृहथको बोली नै फेरिने गरेको उनले गुनासो गरे । लक्ष्मीपुर पतारीस्थित धन्छवारका हरुवाचरुवा परिवारका ६५ वर्षीय नैनी दासले आफूहरुलाई अहिले दिइदै आएको आठ केजी धान पाउन पनि निकै संघर्ष गर्नुपरेको सुनाउनुभयो । पहिले पहिले त रोजी (दैनिक) तीन केजी मात्र दिइन्थ्यो, दासले भने, ठूलो संघर्ष गर्दै चार केजी, त्यसपछि छ केजी दिइयो र १२ केजी माग गर्दा अहिले आठ केजी मात्र धान दिने गरिन्छ ।
हामीले गाउँमै कृषि श्रमिकमा काम गर्ने हरुवाचरुवा परिवारको समुह गठन गरेर संघर्ष गर्दा अघिल्लो वर्ष जग्गावालले अर्कै गाउँका कृषि श्रमिकलाई धान रोपाईका लागि बोलाएका थिए, धन्छवारका जानकी हरुवाचरुवा समुहका अध्यक्ष सुदिलाल रामले भने, उनीहरुलाई हार गुहार गरेर अनुरोध गरेपछि उनीहरुले पनि आफूहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै काम गर्न मानेनन् र हाम्रो रोजी आठ केजीमा पुग्यो तर अब यतिले हाम्रो छाक टर्दैन ।
जिल्ला दररेट निर्धारण समिति सिरहाले श्रमिकको ज्यालावापत प्रतिदिन पाँच सय रुपियाँको दररेट निर्धारण गरेको छ तर समितिले निर्धारण गरेको दररेट अनुसारको ज्याला निर्माण सम्बन्धि काम गर्ने श्रमिकहरुले मात्र पाउने गरेका छन् । दररेट पुस्तिकामा कृषि श्रमिकको छुट्टै ज्यालाको व्यवस्था नभएको भन्दै कृषिसम्बन्धि रोजगारदाताले समितिले व्यवस्था गरे अनुसारको ज्याला कृषि श्रमिकलाई दिन पञ्छिने गरेका छन् ।
कृषि श्रमिकलाई उचित ज्याला नदिने गरेको कारण रोपाईको समयमा पनि कृषकले पुरुष कामदार नपाएर महिला कामदारमै चित्त बुझाउनुपर्छ । कम ज्याला पाउने भएकोले पुरुष जति सबै कमाउन दिल्ली पञ्जाब पुगेका छन्, धन्छवारकी कौशिलादेवी रामले भने, गाउँको जग्गामा खनजोत गर्नेदेखि रोपाई गर्ने जिम्मा समेत हामी महिलाकै भागमा पर्ने गरेको छ । रोपाईको अति व्यस्त समयमा पनि ४५ घर रहेको सदाय र ३५ घर रहेको दास तत्मा समुदायका अधिकांश पुरुष दिल्ली पञ्जाबतिरै छन् ।
जबसम्म कृषि मजदुरको ज्याला सरकारी तवरबाट निर्धारण हुँदैन तबसम्म उनीहरुको आर्थिक स्तर माथि उठ्न सक्दैन, हरुवाचरुवा सशक्तिकरण अभियानमा संलग्न सामुदायिक विकास मञ्चका अध्यक्ष विनोद चौधरीले भने, कृषि श्रमिकको न्यूनतम ज्याला पाँच सयभन्दा कम भयो भने यो सरासर उनीहरुमाथि अन्याय हुन्छ त्यसैले यसबारेमा जग्गावाला र कृषि श्रमिकलाई नै राखेर दुई पक्षीय छलफल गर्नु आवश्यक छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »