उपभोक्ताले योजनाको भुक्तानी नपाउ“दा अन्योल

प्रकाशित समय 8:50:00 PM
कमलेश यादब
सिरहा, २२ साउन । सिरहाको कर्जन्हा नगरपालिका उपभोक्ता समितिले सम्पन्न गरेको योजनाको भुक्तानी नपाएपछि अन्योल बढेको छ ।
नगर सभाबाट छनौट भएका वडा स्तरीय विकास निर्माण तथा लक्षित वर्गको कार्यक्रमको भुक्तानी नयाँ आर्थिक वर्ष लागिसक्दा पनि नपाएपछि समस्यामा परेको उपभोक्ता र वडाध्यक्षहरु बताउँछन् । नगर सभाको निर्णय अनुरुप उपभोक्ता समिति मार्फत् गर्ने गरी हरेक वडालाई छुट्याइएको ३० लाख रुपैयाँको काम सम्पन्न भएपनि भुक्तानी नपाएको वडाध्यक्षहरुको गुनासो छ ।
पछिल्लो वैशाखमै कर्जन्हा १ स्थित आधारभूत विद्यालयका विद्यार्थीलाई नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा पोशाक, झोला र जुत्तासहितको सामग्री वितरण गरेपनि अझै भुक्तानी नपाएको वडाध्यक्ष मोहनबहादुर खत्री गुनासो गर्छन् । ‘विद्यार्थीलाई गरेको सहयोगसहित उपभोक्ता समिति मार्फत् गरिएको अन्य वडा स्तरीय योजनाको करिब पाँच लाख रुपैयाँ भुक्तानी बाँकी छ  वडाध्यक्ष खत्रीले भने ‘उपभोक्ता समितिले काम सम्पन्न गरेपछि बिल भपाई, अनुगमन तथा मूल्याङ्कन, सामाजिक लेखा परीक्षणसहित सबै कागजात बुझाइएको छ तर कहिले नगर प्रमुख, कहिले लेखापाल र कहिले प्रशासकीय अधिकृत छैन भन्दै आलटाल गरिएको छ । 
वडा नं. २ का वडाध्यक्ष गणेश कुमार अधिकारीले पनि आफ्नो वडाले पाएको ३० लाख रुपैयाँ बजेटको काम उपभोक्ता समितिमार्फत् पछिल्लो वैशाखमै सम्पन्न भएपनि साढे १७ लाख रुपैयाँ भुक्तानी बाँकी रहेको सुनाए । ‘योजना सम्पन्न भएपछि धाउँदा धाउँदा समितिको नाममा १२ लाख ५० हजार रुपैयाँ निकासा भयो  वडाध्यक्ष अधिकारीले भने ‘योजना सम्पन्न भएको बिलभर्पाइ सहितका कागजात नै नबुझी बाँकी रकम भुक्तानी नहुँदा समितिको खप्की खानु परेको छ । 
पछिल्लो असार १५ देखि नगर पालिकामा प्रमुख प्रशासकीय अधिकृत नआए पनि नगर प्रमुखले आफ्नो नजिकका उपभोक्ता समितिलाई अन्यत्र लगेर योजनाको बाँकी रकम फछ्र्यौट गरिरहेको दावी गर्दै वडाध्यक्ष अधिकारीले आफूहरु लाई भने समस्यामा पारेको बताए ।
त्यस्तै, वडा नं. ३ का वडाध्यक्ष कपलेश्वर यादवले आफ्नो वडामा गरिएको ३० लाख रुपैयाँ लागतको योजना सम्पन्न गरी आवश्यक कागजात बुझाएको सुनाउँदै भने ‘पटक पटक ताकेता गरेर २२ लाख रुपैयाँ भुक्तानी भयो, आठ लाख रुपैयाँ अझै रोकिएको छ ।  ‘पछिल्लो आर्थिक वर्षको असार मसान्तमै निकासा हुनुपर्ने योजनाको बाँकी रकम नयाँ आर्थिक वर्षको तेस्रो हप्ता सकिन लाग्दा समेत भुक्तानी भएन । 
कर्जन्हाको वडा नं. ४ का वडाध्यक्ष टेकबहादुर सिंगार तामाङ्रले वडा क्षेत्रमा सम्पन्न गरिएको योजनाको १६ लाख रुपैयाँ भुक्तानी रोकिएको गुनासो गरे भने वडा नं. ६ का वडाध्यक्ष जगदिश महतोले उपभोक्ता समितिमार्फत् सम्पन्न गरिएको योजनाको २२ लाख रुपैयाँ भुक्तानी रोकिएको बताए । वडाध्यक्षहरुले आफ्ना नजिकका उपभोक्ता समितिलाई नगर प्रमुखले भुक्तानी गरिसकेको र आफूले भनेको नमान्ने वडाध्यक्ष तथा उपभोक्ता समितिहरुलाई रोकेको आरोप लगाए ।
नगर प्रमुख गंगा पासवानले केही वडाध्यक्षले पुरानो काम देखाएर भुक्तानी लिन खोजेकोले आफूले रोकेको दावी गर्दै भने ‘ ६ नं. का वडाध्यक्षको मिलेमतोमा उपभोक्ता समितिले स्थानीय तहको चुनाव अघिनै भएका कामहरुको बिल भर्पाइ पेश गरी भुक्तानी मागेकाले रोकिएको हो । ‘मेयर पासमानले भने, ‘अन्य उपभोक्ता समितिको हकमा भने समयमै बिलभर्पाइ नआएकाले भुक्तानीमा समस्या भएको हुन सक्छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »