लोकमार्गको फोहोर उठाउन नगरपालिकाद्वारा आनाकानी

प्रकाशित समय 12:52:00 AM
राम बाबु यादब
सिरहा, १६ साउन । राष्ट्रिय लोकमार्गमा पर्ने लहानको मुख्य सडकमा जम्मा भएका फोहोर उठाउन नगरपालिकाले आनाकानी गर्न थालेपछि लहान को मुख्य सडकमा फोहोरको डङ्गुर थुप्रिन थालेको छ ।
राष्ट्रिय लोकमार्ग सडक डिभिजन कार्यालय अन्तर्गत पर्ने भएकोले सडकमा थुप्रिएको फोहोर पनि सडक डिभिजन कार्यालयले नै उठाउनु पर्ने भन्दै लहान नगरपालिकाले पाँच दिनदेखि फोहोर उठाउन छोडेको हो । फोहोर उठाउन छोडेपछि मुख्य सडकको दुवै किनारामा १०÷१० मिटरको दुरीमा फोहोर थुप्रेर चोक नै दुर्गन्धित हुन थालेको छ ।
राष्ट्रिय लोकमार्गभित्र भौतिक संरचनाबारे केही निर्णय गर्न खोज्यो भने हामीमाथि क्षेत्रा धिकारको प्रश्न तेर्साइन्छ, नगर कार्यपालिकाका सदस्य तथा सरसफाई संयोजक नथुनी पासमानले भने, सडकभित्र केही गर्नै पाइदैन भने त्यहाँको फोहोर पनि सडक डिभिजनले नै उठाउनुपर्छ भनेर हामीले फोहोर उठाउन बन्द गरेका हौं ।
सडक डिभिजन कार्यालय लहानका डिभिजन प्रमुख रामकुमार देव राष्ट्रिय लोकमार्गमा रहेको फोहोर नगरबासीद्वारा नै थुपारिएकोले त्यस्ता फोहोर उठाउने दायित्व पनि नगरपालिकाको नै रहेको बताउछ । ‘नगरपालिकाले लोकमार्गसँग जोडिएका घरधुरीबाट एकीकृत सम्पति कर, व्यवसायिक कर, सरसफाई कर लगायतका विभिन्न कर लिने गरेको छ, डिइ देवले भने, अनि नगरबासीले फ्याँकेको फोहोर हामीले उठाउने हो ?
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार, गाउँ वा नगर सरसफाईसम्बन्धी मापदण्डको कार्यान्वयन, सरसफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैलाको व्यवस्थापन र स्थानीयस्तरमा सरसफाई तथा फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकारको सूचिभित्र पर्दछ ।
लहान नगरपालिकाको मुख्य सडकमा पर्ने पुर्व बलान नदीदेखि पश्चिम सरस्वती खोलासम्मको विभिन्न स्वास्थ्य सँस्था, होटल, मासु पसल, तरकारी बजार तथा निजी घरबाट निष्कासन हुने फोहोर नगरबासीले राष्ट्रिय लोकमार्गमै थुपार्ने गरेका छन् । यसरी थुपारिएका फोहोरहरु नगर पालिकाले आफ्नो सरसफाई कर्मचारीबाट उठाई लहान नगरपालिका–४ मा रहेको ल्याण्ड फिल साइटमा हाल्ने गरेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »