मुसहर विद्यार्थीलाई झोला वितरण

प्रकाशित समय 11:27:00 PM
कमलेश यादब
सिरहा,१७ साउन । आर्थिक अभावले विद्यालय जान नसकेका धनगढीमाई नगरपालिकाका दलित समुदायका २२० जना विद्यार्थीलाई झोला वितरण गरिएको छ ।
धनगढीमाई नगरपालिकाको वडा नं. ३ स्थित कुर्बा हनुमाननगर र बनौली, वडा नं. ९ स्थित मुसहर्निया तथा वडा नं. ११ स्थित नैनपुरका मुसहर बस्तीका २२० जना विद्यार्थीलाई सामुदायिक विकास मञ्चले झोला, पुस्तिका तथा पेन्सिल वितरण गरेको हो । झोलासहित पाठ्यसामग्री पाउनेहरु सबै हरुवाचरुवा परिवारका हुन् ।
विद्यार्थी भर्ना भए पनि पाठ्य सामग्रीको अभावमा विद्यालय जान नसकेका हरुवाचरुवा परिवारका सबै विद्यार्थीलाई एक वर्षसम्म पुग्ने गरी झोलासहित पाठ्यसामग्री दिइएको हो, मञ्चका अध्यक्ष विनोद चौधरीले भने, जनबुतो र कृषि मजदुरी नगरी खान नपाउने हरुवाचरुवा परिवारका कोही पनि अभिभावकहरुले अब आफ्ना विद्यार्थीहरुलाई पाठ्यसामग्रीको अभावमा विद्यालय पठाउन सक्दिन भनेर भन्न सक्ने अवस्था छैन ।
पहिले विद्यालयका शिक्षकहरु आएर तिम्रो छोराछोरीलाई विद्यालय पठाओ हामी भर्ना गरिदिन्छौ भनेर भर्ना पनि गरिदिएका थिए तर विद्यालयमा पढ्न चाहिने झोला, पुस्तिका तथा पेन्सिलको जोहो गर्न नसकेर हाम्रा विद्यार्थीलाई पढाउन गा¥हो थियो, धनगढीमाई नगरपालिका–३ का लिलियावती सदाले भने, अब एक वर्षसम्म हाम्रा वालवालिका हरुलाई विद्यालयमा पढाउन कुनै आफ्ठ्यारो छैन ।
आउदो भदौ २५ गतेभित्र धनगढीमाई नगरपालिकालाई शतप्रतिशत विद्यार्थी भर्ना भएको नगरपालिका घोषणा गर्ने अभियानमा हरुवाचरुवा मुसहर समुदायका वालवालिकालाई एक वर्षसम्म अध्ययन गर्ने वातावरण मिलाइदिने सामुदायिक विकास मञ्चको यो प्रयास सराहनीय रहेको उल्लेख गर्दै नगर प्रमुख हरिनारायण चौधरीले अब बाँकी रहेका विपन्न समुहका वालवालिकाको खोजी गर्दै उनीहरुलाई पढ्ने वातावरण मिलाइदिन नगरपालिकाले सहयोग गर्ने बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »