बलान नदीका कारण सुकुम्बासी बन्दै बेल्हीबासी

प्रकाशित समय 7:02:00 PM
राजु विश्वकर्मा
लहान, ३ भदौ । सप्तरीको बलान बिहुल गाउँपालिका ४ का बडेलाल यादवको परिवार अहिले चिन्तामा डुबेको छ । बलान खोलामा आएको बाढीले नदी किनारामा रहेको १० का जग्गालाई क्षणभरमै निलेपछि उनको परिवार सुकुम्बासी हुने स्थितिमा पुगेको छ । त्यही १० का जग्गामा उब्जने अन्नबाट उनको परिवारको गुजारा चल्दै आएको थियो । 
“बाढी आएपछि हेर्न गएँ, त्यहाँ पुग्दानपुग्दै ३÷४ का जग्गा बाढीले निलिसकेको थियो,” बडेलालले भने – “हेर्दाहेर्दै थप जग्गा बाढीले निल्यो । जोगाउने कुनै प्रयास गर्न संभव थिएन । सबै जग्गा बाढीले स्वाहा बनायो ।” 
ऊसँग १० का जग्गाको लालपुर्जा त छ, तर जग्गा भने छैन । उनले भने – “अब कसरी परिवारको गुजारा चलाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।” त्यही गाउँका मो. हन्सुको परिवार पनि केही वर्षअघिसम्म गाउँकै धनी परिवारको रुपमा चिनिन्थ्यो । सगोलमा उनको परिवारसँग करीब ८० बिघा जमीन थियो । अहिले भने उनको अवस्था पनि बडेलालको परिवारकै जस्तै भएको छ । 
बलान बिहुल गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष समेत रहेका मो. हन्सु भन्छन् – “सबै ८० बिघाको प्लट जग्गा नै बाढीले कटान गरी नदीले ढाकेपछि सुकुम्बासी बन्ने स्थितिमा पुग्न लागेका छौं ।” एक दशकअघि सम्म पश्चिमबाट बग्दै आएको बलान नदी धार परिवर्तन गरी पूर्वतर्फ मोडिएर खेतीयोग्य जमीन निल्न थालेपछि बडेलाल र मो. हन्सु मात्रै होइन, बेल्हीका अधिकांश किसानहरु चिन्तित बनेका छन् । 
घना बस्ती रहेको यी गाउँका किसानहरुका लागि बरदान मानिने बलान नदी पछिल्लो समय काल बनेर कहर मच्चाउन थालेकाले स्थानीय बासिन्दामा त्रास बढेको हो । “विगतमा धान र गहँुको बाला झुल्ने खेत अहिले बलान नदीमा मिसिएको छ,”  बलान बिहुल गाउँपालिका वडा नम्बर ४ का मो. जिब्रिल भन्छन् – “बलान नदीले हामीलाई सुकुम्बासी बनाइदियो ।”
गाउँको पश्चिमबाट बग्ने बलान नदीले धार परिवर्तन गरी विगत एक दशकयता उत्पात मच्चाउँदै आएको छ । विसं २०६४ मा बलान नदीमा आएको बाढीले कटान गरेपछि सडकको पश्चिम भागमा रहेको बस्तीलाई सडकको पूर्वतर्फ सारिएको थियो । अझै बाढी गाउँतिरै मोडिएपछि पुनः विस्थापित हुने त्रासमा आफूहरु रहेको स्थानीयवासी कृष्णदेव यादव बताउँछन् ।
उनी भन्छन्, “धार परिवर्तन गर्नुअघिसम्म घना बस्ती थियो । धार परिवर्तन भएपछि बस्तीलाई करीब १०० मिटर पर सारियो तर पनि अझै पूर्ण रुपले सुरक्षित महसुस गर्न पाएका छैनौं ।” हेर्दाहेर्दै सयौं बिघा खेत डुबेको र बाढी गाउँमा पसेको देखेका बडेलाल बालबच्चालाई च्यापेर लिएर सुरक्षित स्थानमा पुगेका थिए । बडेलाल भन्छन् – “अहिले पनि डुबान र कटानबाट खेतलाई जोगाउन हामीसँग कुनै उपाय छैन । प्रशासनदेखि नेता सबैलाई गुहार्दा पनि रोकथाम र नियन्त्रणको कार्य हुन नसक्दा वर्षैपिच्छे यहाँको खेत नदीले निल्दैछ ।”
उनका अनुसार झन्डै सात फिट गहिराइबाटै नदीले खेतलाई काटेर लगेको छ । बडेलाल भन्छन् – “बलान नदीको कटान र डुबानका कारण गाउँको नामबाहेक सबैथोक मेटिँदैछ ।” गाउँको छेउमै बग्ने बलान नदीको पानीले सयौं बिघा खेतमा सिँचाइ हुन्थ्यो, नदीले धार परिवर्तन गरेसँगै ती खेत सबै बगर बन्यो ।
बलान नदीमा झिझिर खोला मिसिएर थुप्रै धार बनाएको छ । पछिल्लोपटक आएको बाढीले नदीको पश्चिमी किनारको कटान शुरु गरेको छ । चुरे मूल भएको बलान नदी त्यत्तिकै विनाशकारी बनेको होइन, चुरेको अनियन्त्रित दोहनका कारण नदीले धार परिवर्तन गरेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।
बलान नदीले पछिल्लो समय धार परिवर्तन गरी  कटान गर्न थालेपछि स्थानीय बासिन्दा जोखिममा परेका हुन् । केही दिनअघि बलान नदीमा आएको बाढीले करीब ३०० बिघा खेतीयोग्य जमिन कटान गरेको अनुमान छ ।
बलान नदी धार परिवर्तन गर्दै गाउँतर्फ हानिएपछि रोकथामका लागि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय जनकपुरले उपभोक्ता समितिमार्फत तीन वर्षअघि तटबन्ध बनाए पनि दुई वर्षअघिको बाढीले बाँध भत्काइदिएको थियो । बाँध भत्काए यता पुनः बाँध निर्माणको काम हुन सकेको छैन । विभिन्न ठाउँमा सञ्चालित क्रसर उद्योगहरुले चुरे क्षेत्रको ढुंगा खोसे्रपछि बलान नदी बस्तीतर्फ सोझिएको जानकारहरु बताउँछन् । 

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »