बेलैमा साहुको दुईसय रुपैयाँ तिर्न नसक्दा जेल जान बाध्य

प्रकाशित समय 11:13:00 PM
शैलेन्द्र महतो 
धनुषा, ३१ भदौ । साहुसँग लिएको दुईसय रुपैयाँ तिर्न नसक्दा जनकपुरका एक दलित एवं विपन्न परिवारका व्यक्ति जेल जाने भएका छन् । जनकपुरधाम उपमहानगरपालिका–१२ कुवा बस्ने ६० वर्षका राधाकृष्ण खत्वेलाई साहुबाट लिएको ऋण नतिरेको भन्दै अदालतले जेल सजाय सुनाएको हो ।
खत्वेले २०४६ साउन १५ गते स्थानीय विक्रम यादवसँग १ हजार रुपैयाँ ऋण लिनुभएको थियो । एकहजार ऋणको विक्रमले खत्वेसँग तीनहजार रुपैयाँको कपाली तमसुक बनाएका थिए । र, तमसुकअनुसार मासिक तीनसय रुपैयाँका दरमा खत्वेले ब्याज तिर्नु पर्ने थियो ।
२०४७ जेष्ठ ८ गते खत्वेले साहु विक्रमलाई ८ सय रुपैयाँ फिर्ता गरे । १ हजार रुपैयाँको ९ महिनाको ब्याज २ सय ७० र मूलधनमा बाँकी २ सय रुपैयाँ तिर्न बाँकी थियो । 
त्यति रकम समेत खत्वेले तिर्न नसक्दा साहु यादवले २०४९ साल भदौ १५ गते श्रीमती गुलाबदेवी यादवको नाउँमा बाँकी रहेको ४ सय ७० रुपैयाँको २ हजार ९ सयको तमसुक बनाउन लगाए । रकम थपेर कागज बनाएपछि खत्वेले तिर्न सक्ने अवस्था नहुँदा यादवले फेरि वि.स. २०५८ साल असार २० गते खत्वेसँग ४० हजार रुपैयाँको तमसुक बनाए ।
‘अदालतले पक्राउ पूर्जी जारी गरेको छ । म जेल जाँदैछु  खत्वेले भने ‘तर बेलैमा दुईसय रुपैयाँ तिर्न नसकेकै कारण जेल जानु समाजबाट मानवीयता समाप्त हुँदै गएको मलाई लागिरहेको छ । 
आर्थिक अवस्था निकै कमजोर रहेको खत्वेले कृषि विकास बैंकमा धितो राखेको आफ्नो ४ कट्ठा जग्गा फुकुवा गराएर साहु यादवलाई लिन गुहार गरे । तर यादवले मानेनन् र फेरि १ लाख ६५ हजार रुपैयाँको कपाली तमसुक बनाउन बाध्य बनाए ।
पैसा तिर्न नसकेपछि विक्रमले आफूविरुद्ध वि.स. २०६३ साल पुष ९ गते जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको खत्वेले बताए । यादवले मुद्दा गरेपछि स्थानीयले ७६ हजार रुपैयाँ लिएर मिलापत्र गर्न आग्रह गर्दा आफू तयार भए पनि साहु यादवले नमानेको खत्वेको भनाई छ । 
पैसा तिर्न नसकेपछि जिल्ला अदालत धनुषाले वि.स. २०६४ साल माघ २७ गते खत्वेलाई एक वर्षको जेल सजाय सुनाएको थियो । त्यसपछि खत्वेले पुनरावेदन अदालतमा मुद्दा गरे । र अहिलेसम्म चलिआएको पुनरावेदनको मुद्दामा उच्च अदालत जनकपुरले फैसला सदर गरेको छ । र अदालतले पक्राउ पूर्जी जारी गरेको छ । 
‘अदालतले पक्राउ पूर्जी जारी गरेको छ । म जेल जाँदैछु  खत्वेले भने ‘तर बेलैमा दुईसय रुपैयाँ तिर्न नसकेकै कारण जेल जानु समाजबाट मानवीयता समाप्त हुँदै गएको मलाई लागिरहेको छ ।उनले भने ‘म दुई सय रुपैयाँ तिर्न नसक्दा जेल गएपनि समाजका कोहि व्यक्तिलाई यस्तो दिन नआओस् । 
दुईसय रुपैयाँ तिर्न नसक्दा विपन्न परिवारका खत्वेलाई जेल पठाउन बाध्य पार्ने साहु यादवले गाउँका अरु ९ जनासँग कपाली तमसुक गराएर जबर्जस्ती मनोमानी तरिकाले जथाभावी रकम असुल्ने गरेको पीडितहरुले बताएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »