रोग पाले नोकर, फाले मालिक !

प्रकाशित समय 11:21:00 PM
नन्दलाल आचार्य

शिक्षक, श्री जनता मा. वि., गोलबजार–४, सिरहा ।
मैलै अचेल विविध माध्यमबाट एउटै प्रश्न सुन्नुपर्छ–‘आचार्यजी ¤ अचेल तपार्इँ कस्तो हुन ?  जवाफ फर्काउदा फर्काउँदा हैरान छु । सकिनसकी फर्काएको जवाफ व्यक्तिपिच्छे फरक हुन्छ । फरक पार्नु मेरो वाध्यता हो । आफन्तजन र शुभचिन्तक नसुर्ताऊन् भनेर मैले होसियारी अपनाउने गरेको छु । यद्यपि यहाँ त्यस्तो बनावटी नभई यथार्थ कुरो मात्र समेट्दै छु ।
म सधैँ स्कूल जान्थेँ । विद्यार्थीहरूका बीचमा उभिन पाउँदा रमाउँथे । विद्यार्थीहरू नै आफ्नो परिचय, पहिचान र गाँस–बास–कपासका माध्यम हुन् भन्ठान्थेँ । एकाग्र मनले उनीहरूका कुरा सुन्थेँ । आवश्यक परेमा पृष्ठपोषण दिने र आफ्ना कुरा सुनाउने गर्थेँ । प्रत्येक दिन कक्षामा कुनै न कुनै नयाँ कुरा सुनाएर कक्षाशिक्षणको सुरुआत गर्थेँ । कुनै विद्यार्थी झर्किए, बटारिए म झन् नौनी बन्थेँ । पिरमार्का बुझ्थेँ र निदानको प्रयास जरैदेखि थाल्थेँ । यसो गर्दा विद्यार्थीहरू प्रशन्न थिए । मलाई पनि आनन्दै थियो ।
अचेल मलाई उच्च रक्तचाप र पक्षाघातको बिमारले सताएको छ । शरीरको आधा अङ्ग नचलेर हैरानमा परेको छु । अचेल मलाई आफ्नो दुर्दशा कसैलाई देखाउन नपरे हुन्थ्यो भन्ने लाग्छ ।कसैले लगिदियो भने यदाकदा स्कूल जान्ने गर्छु ।कसैसँग बोल्नपनि सकस पर्छ । सानातिना झमेलामा पनि धैर्यता राख्न सक्दिनँ । हर्दम मन चञ्चल भइरहन्छ । सबै कुरामा आफ्नै जित हुनुपर्छ भन्ने ठान्न पुग्छु ।अझ विद्यार्थी सामु उभिनु पर्दा तर्सन्छु । उनीहरूका स्वभाविक खालका अनगिन्ती प्रश्नले समेतहैरान हुन्छु र झर्कोफर्को गर्न थाल्छु । उनीहरू उल्टै नौनी बन्छन् र निरास मुहार लगाएर फर्कन्छन् । विमारले गर्दा म आफ्नो स्वभावको प्रतिकूल व्यवहार गर्ने भएको छु । अचेल म यस्तै छु ।
अहिले आफ्नो व्यक्तिगत कर्म पनि आफैँ गर्न सक्तिनँ । अहिले खाना खाना होस् कि चर्पी जान वा ओछ््यानमा सुत्न–उठ्नसम्म अरूकै भर पर्छु । मेरा झिनामसिना काम गर्दागर्दा वाक्क भएर मेरो सहयोगी साथी समेत हैरान हुन्छ । मबाट कहिल्यै जस पाउँदैन । अचेल मेरो मनमा अरूप्रति दया, माया, करुणा छँदैछैन जस्तो लाग्छ । खाली रिस मात्र उठ्छ । आफूले गरेको झर्कोफर्को अरूले चुपचाप सहँदा भने मलाई झन् भाउन्न हुन्छ । मेरो खिल्ली उडाएजस्तै लाग्छ । प्रतिकारको भाषा प्रयोग गर्न थाल्यो भने त्यसलाई काँचै चपाउन मन लाग्छ । लचिलो भाषा बोलेर खुरुखुरु काम गरे पनि मलाई नै जिस्काएको ठानी शङ्कालाग्छ । कसै परे पनि म अरूलाई धर दिन्न । बिमारले गर्दा ठीकलाई समेत बेठीक देख्न थालेको छु ?अचेल म यस्तै–यस्तै जीवन विताइरहेको छु ।
अचेल म आफन्तजनले कुरा बुझेर आफूलाई नम्र तुल्याउन सक्नुपर्छ भन्ने ठान्छु । सहज मनस्थितिमा छँदा त कसैलाई दुःख दिएको थिइनँ, अहिले असहज भएर पो पीडा दिनुपरेको हो । समय सधैँ एकनासको हुन्न । कुनै दिन पूर्णरूपले ठीक भए पछि कसैलाई दुःख दिन्नँ । बरू पहिले मन दुखाएकोमा क्षमा याचना गर्छु । यद्यपि अहिले मेरो मनको यस्तो गन्थन बुझ्ने मान्छे विरलै छन् । म सबैलाई शङ्कालु नजरले हेर्छु । मलाई हेर्ने उनीहरूको नजर पनि त्यस्तै भएकाले समस्यामा छु । मलाई समस्यै समस्याको पहाडमै बसेको जस्तो लागेको छ । अचेल म यस्तै मनस्थिति र परिस्थितिमा छु ।
पहिले त मेरो हरेक कुरा राम्ररी सुन्ने, मनमा गुन्ने र सही लागेका कुराहरू अपनाउने बानी थियो । यत्तिखेर म न सुन्न रुचाउँछु न सुनाउन चाहन्छु । आफू मात्र जान्ने–बुझ्ने र ज्ञानी हुँ, अरूहरू चाहिँ अबुझ हुन्भन्ने ठान्न थालेको छु । साँच्चै अहिले मैले आफूले बुझेका र मनले खाएका कुरा अरूलाई सुनाउँदा सिकाइ दिगो हुन्छ भन्ने कुरा भुलेको छु । कुनै न कुनै रूपमा अरूलाई दिशानिर्देश गरी ऋण लगाउन सके आफ्नो मन आनन्दले पुलकित हुन्छ भन्नेबिर्सेको छु । सचेत मनस्थितिले हरेक काम कुरा गर्न सके बेहोसीपन कम हुने र  होसीपन बढ्दै जाने बाटो छाड्न पुगेकोछु । के गर्नु अहिले म सबै कुरा पहिले झैँ बुझ्छु तर व्यवहार अर्कै गर्न रुचाउँछु । अचेल मेरो सोचसमझ यस्तै असामाजिक छु । तसर्थ म अन्जान मान्छेसँग भलाकुसारी गर्न डराउँछु । सानाति नाम कुरामा पनि विवादको पहाड खडा गरूँला कि भन्ने भय हुन्छ ।
उमेरले आधा शताव्दी पचाएर शिक्षण पेशामा अढाई दशक विताए पनि यत्तिखेर म पाँच वर्ष मुनिको आलोकाँचा बालक भएको छु । शरीरमा तागत नभएको र अरूको दया–मायामा रहनु परेकोमा जीवनलाई बोझकै रूपमा लिएको छु । हर्दम बेहोसीपनमा बाँच्न पाउँदा आनन्द मान्न थालेको छु ।त्यस्तै सोचले मलाई विल्कुलै फरक मान्छे बनाइरहेछ । हातपाउ नचल्दा पनि आफ्ना कुरा देब्रे हातले भए पनि सकसले लेख्ने गरेको छु ।विचार तलमाथि पलानर्् कि भनेर पटकपटक सुधार र संशोधनद्वारा लेखनलाई खार्न खोज्दै छु ।
उच्च रक्तचाप र पक्षाघातले पक्रनु अघि म श्री जनता मा. वि., गोलबजार–४, सिरहामा शिक्षणरत् थिएँ ।  त्यो दिन थियो– २०७४ कात्तिक १० गते । त्यस दिन अपरान्ह टाउको दुखेकालेडेरा मालिक सुवर्ण दाहालले गोलबजारको श्रीराम अस्पताल पु¥याए । रक्तचापउच्च रहेछ । मेरो त्यस हालतले त्यहाँका स्वास्थ्यकर्मी डराए । एक जनाले एउटा क्याप्सुल जिब्रोको फेदमा राखीदिए । विराटनगर रिफर गरियो । त्यत्तिञ्जेल मेरो दाहिने हात र ख्ट्टा लगायत आधा शरीरमै पक्षाघात समाते पनि मेरो चेतना भनेज्यँुका त्युँ थियो । म रातारात विराटनगरको विराट अस्पताल भर्ना भएँ ।
उच्च रक्तचाप कम गर्न र पक्षाघात अङ्गलाई पूर्वरूपमा फर्काउन धेरैतिर सोधखोज, अध्ययन, मनन र चिन्तन गरेँ । धेरै कुराहरू बुझ्ने मौका पाएँ । आफ्नो जीवनशैली नै परिवर्तन गर्न पुगेँ । विहान उठ्नासाथ चार केस्रा लसुन र राती भिजाएको एक चम्चा मेथी चपाईचपाई खान थालेँ । काँचो सुपाडी समेत चपाउन थालेँ । अदुवाको टुक्रो र चिराइतोको चोइटो मुखमै हर्दम राख्न थालेँ । मादक पदार्थ र धुम्रपान सेवन गर्न त सख्त मनाही रहेछ । बजारका तयारी खानेकुरा हरू घातक हुँदा रहेछन् । असन्तुलित जीवनशैली, खानपिनमा गडबड र तनावपूर्ण दिनचर्या बनाउँदा उच्च रक्तचाप रोग जन्मने रहेछ । बिमार जन्मिसकेपछि पनि त्यस्तै दिनचर्या अपनाए रोगबाट कहिल्यै छुटकारा नपाइने रहेछ । यत्तिखेर मैले धेरै कुरा बुझ्न सकेको छु यद्यपि जीवनमा लागू गर्न सकेको छैन । त्यसैले अभिशप्त जीवन विताउन वाध्य छु ।
सुरुआतका दिनमा अलमल अलमलमै एक हप्ता भातको माड मात्र पिएँ, सानो पाइपबाट पानी पिएँ । शरीर घटेर आधा भयो । रोगीले मोटापन घटाउनुपर्ने रहेछ, घट्यो, ठीकै भयो भन्ने ठान्न पुगेँ । बढी फाइबरयुक्त अर्थात् रेशादार र पोटासियम भएका खानेकुरा खान थालेँ । सोडियमयुक्त खानेकुरा खान बन्द गरेँ । कोलस्ट्रोल घटाउने खानेकुरा खान जोड दिएर उच्च रक्तचाप घटाउने काम गरे ।  गाँजर, कागती, तर निकालेको दुध–दही, प्याज नियमित सेवन गर्न थाले । यसका अतिरिक्त मह, मेवा, मरिच, करेला, पाकेको खोर्सानी, गहुँको रोटीले समेत फाइदा गर्ने ठानेर सेवन गर्न थाले ।
घरेलु औषधीको रूपमा सौंप–जिरा–सख्खरको चूर्ण, सर्पगन्धाको जराको चूर्ण, अनार, स्याउ, अङ्गुर, नास्पती समेत खान थालियो । अर्कातिर यदाकदा कमल फूलको रस, नरिवल दानाभित्रको पानी, कटहर र हिंगको सेवन समेत गर्न थालेँ । तरकारीमा  ब्रोकाउली, कोबी, टमाटर, फर्सी, लौका, हरिया सागसब्जी, मसरूम, चुकुन्दर, खरबुजा, तरबुजा, केरा, बदाम, माछा, सोयाबिनको प्रयोग गर्न थालेँ ।
भोजन कमै मात्रामा खाने, नियमित व्यायाम गर्ने र विहान नाङ्गो खुट्टाले हिँड्ने गर्नाले मलाई प्रशस्त फाइदा पुग्दै गयो । अर्कातिर पक्षाघात भएका अङ्गको मसाज गर्ने÷गराउने काम गरेँ । दिनानुदिन स्वास्थ्य अवस्थामा सुधार हुँदै गयो ।मेरी आमा समेतउच्च रक्तचापको बिरामी थियो ।यो बिमार वंशानुगत गुणका रूपमा मैले पाएको रहेछु भन्ने लाग्दै छ । अहिले शरीरमा रोग पस्न नदिने उपाय अपनाउन नसकेकोमा पछुतो भएको छ । यद्यपि नलाग्नु रोग लागिसकेपछि न्युनिकरण गर्न प्रयास जारी राखेको छु ।
अन्त्यमा, सधैँ धरतीमा बाँच्न कोही पनि आएको छैन । धरतीमा भएका हरेकले एक दिन न एक दिन विदाभएर जानैपर्छ । यद्यपि आत्मविश्वासका साथ आहार विहारमा सन्तुलन राख्न सके मृत्युलाई पनि पराजित गर्न सकिने रहेछ । आफन्तजनको प्रेमले रोगीलाईरोगसँग लड्ने तागत दिलाउने रहेछ ।  ध्यान, योग, प्रणायाम र व्यायाममा प्रत्येक दिन समय दिन सके सुखमय र स्वास्थ्य जीवन खोज्न अन्यत्र भौतारिनु नपर्ने रहेछ । मान्छेले जीवनमा जोखिम मोल्ने हिम्मत गर्नुपर्छ । दुःख भोग्ने सहास गर्नुपर्छ । सजिलामा मात्तिने र अफ्ठ्यारा बाटामा आत्तिने काम किमार्थ गर्नुहुन्न । समग्रमा मान्छेले आफ्नो स्वास्थ्यप्रति होसियार भई पहिले आफ्ना लागि बाँच्नुपर्छ अनि मात्र असल कर्मद्वारा संसार रिझाउनुपर्छ । दिमागमा यस्तै कुरा खेलाउँछु । अचेल म यस्तै जीवन विताउँछु । रोग पाले नोकर र रोग फाले मालिक बनिने रहेछ भन्ने निष्कर्ष निकाली चुप रहन्छु ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »