हत्यारा पत्ता लगाउन माग गर्दै अल्टिमेटम

प्रकाशित समय 11:31:00 PM
कमलेश यादव
गोलबजार, ४ असोज  । सिरहाको गोलबजार नगरपालिका ३ पुरानोडिहका स्थानीयले सुतेकै ठाउँमा खुकुरी प्रहार गरी हत्या गरिएका ३८ वर्षीय हेमबहादुर ब्लोन तामाङको हत्यारा पत्ता लगाउन २४ घण्टे अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएका छन् । स्थानीयले इलाका प्रहरी कार्यालय गोलबजार, नगर पालिका र वडा कार्यालयमा २४ घण्टाभित्र हत्यारा पत्ता नलगाइए तालाबन्दीसहित आन्दोलन गर्ने चेतावनीसहित बिहीबार ज्ञापन पत्र बुझाएका हुन् ।
स्थानीयले हत्या भएको पाँच दिन बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको, सूक्ष्म र मिहीन अनुसन्धान नगरिएको, अपराधीको सुराक पत्ता लगाउन नसकेको आरोप लगाउँदै ज्ञापन पत्र बुझाएका हुन् ।
पछिल्लो भदौ ३१ गते राति श्रीमती र छोरासँगै खुल्ला घरमा सुतेको अवस्थामा हत्या भएको पाँच दिन बित्दा समेत अपराधी पक्राउ पर्न नसकेपछि गोलबजार प्रहरी ठूलो दबाबमा परेको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राम ढकालका अनुसार  घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।
प्रहरी निरीक्षक ढकाल भन्छन् ‘शंकाको आधारमा नौजनालाई नियन्त्रणमा लिएर सोधपूछ गरेका छौं । गाउँलेसँग भएको कुराकानी लाई आधार बनाएर पनि अनुसन्धान हुँदैछ ।   तामाङको हत्या भएको भोलिपल्ट असोज १ गते बिहान १ नं. संघीय इकाई प्रहरी कार्यालय विराटनगरबाट ल्याइएको कुकुर परिचालन गरिएको भए पनि त्यति प्रभावकारी नभएको प्रहरी निरीक्षक ढकाल बताउँछन् ।
प्रहरीले घटनास्थलको करिब ५० मिटर पर बारीमा हत्यामा प्रयोग गएिको खुकुरी समेत बरामद गरेको थियो । घटनाको अनुसन्धानको क्रममा प्रहरीले पछिल्लो पटक मंगलबार साँझ मृतककी श्रीमती र छोरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक ढकालको कथन छ ।
गोलबजार नगरपालिका १० की ५५ वर्षीया कारीदेवी यादवको अपहरण र हत्या भएको ११ औं दिन भदौ ५ मा चक्काजाम गर्दै मृतककी जेठाजु र र भतिजोलाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएदेखि नै अनुसन्धानमा गोलबजार प्रहरीको भूमिकाप्रति नगरबासीले औंला उठाउँदै आएका छन् । स्थानीय बासिन्दाको आन्दोलन पछि नेपाल प्रहरीको जिल्ला नेतृत्वले तत्कालीन इप्रका इञ्चार्ज भगिरथ रेग्मी र मुद्दा फाँट प्रमुख मनिष थापालाई जिल्ला तानेको थियो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »