किशोरी बलात्कार गर्नेलाई छ वर्ष कैद

प्रकाशित समय 11:27:00 PM
सिरहा, ३ असोज । सिरहा जिल्ला अदालतले १५ वर्षीया किशोरी लाई बलात्कार गरेको कसुर ठहर गर्दै अभियुक्तलाई छ वर्षको कैद फैसला सुनाएको छ ।  जिल्ला अदालतले सिरहाको लहान नगरपालिका–१९ का १८ वर्षीय सुमन भनिने सुमन्तकुमार मण्डल लाई मंगलबार बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै ६ वर्ष कैदको फैसला सुनाएको हो । जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको एकल इजलासले अभियुक्त मण्डललाई कैद फैसलासहित पीडितलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने समेत निर्णय सुनाएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
अभियुक्त मण्डलले २०७३ माघ ३ गते बलात्कार गरेको आरोपसहित माघ ४ गते लहानस्थित इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी परेको थियो । घटनापछि फरार रहँदै आएका मण्डललाई प्रहरीले असार २ गते पक्राउ गरी जबरजस्ती करणी अन्तर्गतको मुद्दामा सिरहा जिल्ला अदालतले असार २९ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । 
किशोरलाई साढे पाँच वर्ष कैद सुस्त मनस्थितिकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको कसूर ठहर गर्दै सप्तरी जिल्ला अदालतले १५ वर्षीय किशोरलाई पाँच वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।
जबरजस्ती करणीअन्तर्गतको मुद्दामा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले अभियुक्तको उमेर १९ वर्ष रहेको दाबीसहित अभियोजन पत्र दर्ता गरेको थियो । चिकित्सकको प्रतिवेदनका आधारमा १६ वर्ष ननाघेको पुष्टि भएपछि आधा कैद सजायको फैसला गरिएको न्यायाधीश हरिश्चन्द्र ढुंगानाले बताए ।
पीडित बालिका भएकीले ६ वर्ष कैद र अपांगता समेत भएकीले थप पाँच वर्ष गरी ११ वर्ष कैद सजाय हुने भए पनि अभियुक्त समेत बालक भएकाले आधा कैद सजाय गरिएको जनाइएको छ । अभियुक्तले क्षतिपूर्ति दिन सक्ने अवस्था नभएकाले नेपाल सरकारबाट भराउने गरी पीडितलाई १५ हजार रुपियाँ क्षतिपूर्ति दिलाउने समेत फैसला भएको छ । साधारण तारेखमा रिहा भएका अर्का अभियुक्त १४ वर्षीय किशोरलाई जिल्ला अदालतले २५ दिनको कैद सजाय तोकेको छ ।
पीडित बालिकालाई दुई जनाले २०७३ वैशाख १ गते बलात्कार गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा वैशाख २ गते किटानी जाहेरी दिएका थिए । किटानी जाहेरी दर्तापछि प्रहरीले दुवै आरोपीलाई वैशाख २ गते पक्राउ गरी वैशाख ५ गते जबरजस्ती करणीको उजुरी दर्ता गरेको थियो । आरोपी १४ वर्षीय बालकका अभिभावकले स्थानीय तहबाट जन्मदर्ताको प्रमाण पत्र ल्याएपछि अभिभावकको जमानतमा वैशाख २१ गते रिहा गरिएको थियो । अदालतको आदेशमा १५ वर्षीय किशोर पुर्पक्षका लागि २०७३ वैशाख २९ गतेदेखि राजविराज कारागारमा थुनामा थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »