बाढीपीडितको दैनिकी कष्टकर बन्दै

प्रकाशित समय 12:21:00 AM
सप्तरी, १८ भदौ । सप्तकोशी नदीको बाढीले प्रभावित हनुमान नगर कङ्कालनी नगर पालिका का ६०० घरपरिवारको दैनिकी कष्टकर बन्दै गएको छ । कोशी नदीको बाढीले हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाठी गाउँपालिका का घरमा पाँच दिनदेखि बाढी यथावत् रहेकाले दैनिक जन जीवन कष्टकर बनेको बाढी पीडितले गुनासो गरेका छन् । 
बस्ती नजिकैको विद्यालय डुबानमा परेपछि बाढीपीडित नजिकैको कृषि सेड तथा सडकमा त्रिपालमुनि बस्नुपर्ने बाध्यता रहेको बाढीपीडित रामकुमार सदाले बताए । घरमा रहेको खाद्यान्नसमेत नष्ट भएकाले भुजा र च्युराबाहेक अरु खानेकुरा नपाएको पीडितले गुनासो गरेका छन् ।
बाढीले चामलसमेत डुबाएका ले खानेपानीको समस्या रहेको उनीहरूले गुनासो गरे । पाइलट च्यानलमार्फत् भारतले नदीको धार परिवर्तन गराएपछि पाँच दिन अगाडि सप्तकोशी नदीमा आएको बाढीले सप्तरीका मानवबस्तीमा बाढी पसेको थियो ।
    कोशी नदीमा आएको बाढीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ६ का ५४० परिवार प्रभावित भएका छन् । प्रभावित परिवारमध्ये करीब २०० परिवार कोशी नदीको पश्चिमी बाँधमा अस्थायी शिविर बनाएर बसेका छन् । कोशीको पानी घरमा पसेपछि स्थानीय बासिन्दा पाँच दिनदेखि घरमा खानासमेत पकाउन सकिरहेका छैनन् । 
सुत्ने कोठा, भान्छा कोठा र शौचालय समेतमा पानी पसेपछि उनीहरू सुरक्षित स्थानका लागि अग्लो ठाउँमा बस्न बाध्य रहेको स्थानीय बासिन्दा चन्दन यादव बताए । बस्तीमा पानी छिरेपछि हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ की तीन दिनकी सुत्केरी आफ्नै घरमा बाढीले घेरिएपछि कष्टकर र जोखिमपूर्ण जीवन बिताउन बाध्य भएको छ । फुसको घर चारैतिर बाढीको पानीले घेरिएपछि २३ वर्षीया सहनाज खातुनको बिजोग भएको यादवले जानकारी दिए ।
सुरक्षित स्थानको अभाव र घरमा दुई फिटसम्म पानी जमेपछि उनलाई नवजात शिशुसँगै कोठामा खाट राखी हालसम्म सुरक्षित राख्ने प्रयास गरिएको छ । तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडी र वडा नं ५ को बर्साइनमा पनि ३० परिवारको घर डुबानमा परेको छ । 
बाढी प्रभावित वडामा रहेको चर्पी तथा खानेपानी ट्युबवेल पानीमा डुबेकाले त्यहाँका बासिन्दा खुला ठाउँमा दिसा बस्ने गरेका कारण फोहर बढ्दै गएको तिलाठी कोइलाडी गाउँपालिका का अध्यक्ष सतिश सिंहले बताए । बीस वर्षपछि सप्तकोशीको बाढी यस बस्तीमा पसेको स्थानीय बासिन्दाको भनाइ छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »